संसदीय समिति

नवनिवार्चित अध्यक्षहरुद्धारा सपथ ग्रहण

सुर्खेत, २८ असार ।

कर्णाली प्रदेशको संसदीय समितिमा नवनिवार्चित अध्यक्षहरुले आइतवार सपथ ग्रहण गरेका छन् । सार्वजनिक लेखा समितिको अध्यक्षमा नेपाली कांग्रेसका सांसद दीनबन्धु श्रेष्ठ, अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा नेकपाका सांसद गणेशप्रसाद सिंह, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षमा नेकपाकै दानसिंह परियार र सामाजिक विकास समितिको अध्यक्षमा पनि नेकपाकै देवी ओली निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभा सचिवालयले अध्यक्ष पदका लागि शनिबार साँझ पाँच बजेसम्म मनोनय दर्ताका लागि समय तोकेको थियो । निर्धारित समयभित्र एक÷एक जनाको मात्रै मनोनयन दर्ता भएपछि अध्यक्षहरु स्वतः निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सपथ ग्रहण गर्दै सामाजिक विकास समितिको नवनिर्वाचित अध्यक्ष देवी ओलीले समितिले अब शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक क्षेत्रका गतिविधिलाई सरकारसंग मिलेर अगाडि बढाउने बताए ।

त्यस्तै, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्ष दानसिंह परियारले अबको समितिले कर्णालीबासीका पक्षमा कानुन निमार्ण गर्ने बताए । समितिले सरकारले गरेको काम कारवाहीका बारेमा अनुगमन गर्ने र काम प्रभावकारी बनाउने उनको भनाई छ ।

प्रदेशको संसदमा रहेका विभिन्न चार वटा संसदीय समितिले गठन भएको साढे दुई वर्षपछि नेतृत्व पाएका छन् । दलहरुबीच सहमति नजुट्दा हालसम्म संसदका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समिति र सामाजिक विकास समितिमा निर्वाचित नेतृत्व चयन हुन सकेको थिएन ।

पार्टी एकीकरणपछि नेकपाले समितिको नेतृत्व टुङ्गाउन नसकेपछि जेष्ठ सदस्यले समितिको नेतृत्व गर्दै आएका थिए । यसअघि जेष्ठ सदस्यताका आधारमा अर्थ तथा प्राकृतिक समितिमा अमरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिमा पदमबहादुर रोकाया, सामाजिक विकास समितिमा राजु नेपाली र सार्वजनिक लेखा समितिमा दीनबन्धु श्रेष्ठले नेतृत्व गर्दै आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया