बारेकोट पहिरोमा थप दुई जनाको शव फेला

सुर्खेत, २७ असार ।

जाजरकोटको बारेकोट गाँउपालिका–४ जिरीको सार्की टोलमामा बिहिबार राती गएको पहिरोमा हराई रहेका थप दुई जनाको शव फेला परेको छ । सनिबार दुई शव फेला परेपछि मृत्यु हुनेको संख्या ९ पुगेको छ भने, अझै तीन जना हराई रहेका छन् ।

पहिरामा पुरिएका सार्कीटोलका दुई वटा घरबाट बेपत्ता भएका १२ मध्ये ५२ बषिय गोपाल सार्की, ११ बर्षका अर्जुन सार्की, १४ बर्षिय तिर्खा सार्की, कुशे गाउँपालिका–९ चौराँटाका २० बर्षिया डिल्ली सार्की, १८ बर्षका विरेन्द्र सार्की, १४ बर्षिय गौरी सार्की र १६ बर्षिय कविता सार्कीको शव सुक्रबार नै फेला परिसकेको थियो भने, सनिबार ३५ बर्षिय कलु सार्की र ६ बर्षिय सुभाष सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त पहिरोमा परेकी ५० बर्षिय पुष्षा सार्की, १३ बर्षिय लक्ष्मी सार्की र ११ बर्षिय कमला सार्की अझै बेपत्ता छन् । पहिरोमा बेपत्ता भएकाहरुको खोजीकार्यमा गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेनाको टोली र स्थानीयहरु लागि परेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन् ।

त्यसैगरी बारेकोट गाउँपालिका–६ धुमामा शुक्रबार बिहान माथिबाट आएको बाढीले २० बर्षिय शान्तबहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउनेलाई बगाएर बेपत्ता बनाएको छ । बेपत्ता शान्तबहादुर र पचण्डको खोजीकार्यमा नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेको तर, फेला पार्न नसकेको प्रहरी प्रमुख ९डिएसपी० श्रेष्ठको भनाई रहेको छ । उक्त बाढीले बगाएका ४ जना मध्ये रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानियले उद्धार गरेका थिए ।

घर भन्दा माथिबाट आएको पहिरोले भत्काएको घरको भित्ताले चेपिएर गम्भिर घाईते भएका बारेकोट–४ गोठगाउँका लालबहादुर नेपाली र बाढीले बगाउदा बगाउदै स्थानीयद्धारा उद्धार गरिएका तर, गम्भिर घाईते बारेकोट–६ धुमका रामचन्द्र चलाउनेलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरले सनिबार सुर्खेत पुर्याएको छ ।

बारेकोटको पहिरो र बाढी पिडितहरुका लागि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराईएका २५ वटा त्रिपाल, २५ वटा ब्लाङकेट, २ बोरा चामल, ३ बोरा चिउरा, १ सय ६० प्याकेट चाउँचाउँ गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बुझेको भरपाई गरेका छन् ।

बारेकोटमा अझै पनि निरन्तर पानी परिरहेको छ । पानी परिरहेको हुदा बेपत्ताहरुको खोजी, विस्थापितहरुको उद्धारकार्य गर्न कठिनाई भई रहेको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिएका छन् । अविरल बर्षाले बारेकोटमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।

बारेकोट–४ को मैना, ठाकुर जिरी, सार्की टोल, बोहरागाउँ, तल्गाउँ र गोठगाउँका झण्डै पौने २ सय घरधुरीका नागरिकहरु भिषण बर्षाले पहिरो जाने डरले घर छोडेका छन् ।

घर छोडेका नागरिकहरुलाई हिमाल आधारभुत बिद्यालय गोठगाउँ र भगवति आधारभुत विद्यालय जिरीको भवनमा राखिएको अध्यक्ष शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया