इन्सेकद्वारा स्वास्थ्य सामग्री सहयोग

दैलेख, २७ असार ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कोरोना संक्रमण रोकथामका लागि दैलेखका दुई वटा स्थानीय तहलाई ७५ हजार रुपैंयाँ भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको ।  कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले इन्सेकको इएलपी कार्यक्रम सञ्चालन भएको नारायण नगरपालिका र डुङ्गेश्वर गाउँपालिकालाई ती सामग्री शनिवार हस्तान्तरण गरे ।

दैलेख सदरमुकामको कोरोना परीक्षण प्रयोगशालाका लागि प्राप्त सामग्री ग्रहण गरेपछि नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले विपद्को बेला पाएको सहयोग र इन्सेकको मानव अधिकार प्रवद्र्धन अभियान प्रशंसनीय रहेको बताए ।

त्यसबखत दैलेख प्रयोगशालाका इञ्चार्ज शंकर शाहीले जिल्लास्तरमा सञ्चालन भएको प्रयोगशाला साधन श्रोतको अभाव भइरहेको बेला इन्सेकले आवश्यकता पहिचान गरी गरेको सहयोग निम्ति धन्यवाद दिए ।

त्यसैगरी डुङ्गेश्वर गाउँपालिकाका वडा नं. ६ का वडासदस्य तुलसीप्रसाद आचार्य र स्वास्थ्य शाखाका उपसंयोजक दिपेन्द्र शाहीले गाउँपालिकाको आवश्यकता अनुसारको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकोमा इन्सेकलाई धन्यवाद दिए ।

दुई वटै स्थानीय तहमा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले साझेदार संस्थाको हैसियत सहयोग गर्न पाएको खुशी व्यक्त गर्दै कोरोना संक्रमण रोकथामका लागि स्थानीय तहहरुले गरेको अथक परिश्रमको उच्च मूल्यांकन भएको बताए ।

कार्यक्रममा मानव अधिकार समूहका नारायण नगरपालिका संयोजक रेखा थापा, इन्सेक दैलेख प्रतिनिधि अमर सुनार, सुर्खेत प्रतिनिधि दुर्गा थापा र इएलपी कार्यक्रमका दैलेख सहजकर्ता सीता बुढा पनि उपस्थित थिए ।

इएलपी परियोजना कार्यक्षेत्रका स्थानीय तहहरुका आवश्यकता संकलन गरी त्यसका आधारमा दिइएको स्वास्थ्य सामग्री सहयोगमा नारायण नगरपालिकामा कोरोना परीक्षण प्रयोगशालाका लागि रसायन तथा सामग्री र डुङ्गेश्वर गाउँपालिकाकामा सेनिटाइजर, मास्क तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने फेसकभर, ग्लोब्स, गाउन बुट लगायतका सामग्री उपलब्ध गराइएको हो ।

तपाईको प्रतिक्रिया