वर्षासंगै पहिरोको वितण्डा

सुर्खेत, २७ असार ।

कर्णालीमा बिहीबारदेखि अविरल बर्षात भएको छ । वर्षात्का कारण प्रदेशका विभिन्न जिल्लामा पहिरो र बाढीले नोक्सान गरेको छ । वर्षापछि आएको पहिरोले जाजरकोट र रुकुमपश्चिममा जनधनको नोक्सान भएको हो । जाजरकोटमा सात जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन् । यस्तै रुकुमपश्चिममा पनि पहिरोले दुई जनाको ज्यान लिएको छ ।

यस्तै विभिन्न जिल्लामा सयौं परिवार विस्थतापित भएका छन् । पहिरोका कारण बस्तीहरु जोखिममा छन् भने कतिपय सडक नै अवरुद्ध भएका छन् । बाढीले जाजरकोटको बारेकोट गाउँपालिका दुई सय घरपरिवार विस्थापित भएका छन् । बारेकोटको वडा नं. ४ का ठाकुरजिरी, गोठगाउँ, बोहोराटोली, टलीगाउँ, सार्कीगाउँ मैनाटोलका झण्डै दुइ सय घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मैनाटोलका मात्रै ९० घरधुरीले गाउँ छोडेका छन् । बाढीले गाउँ नै बगाउन सक्ने भन्दै स्थानीयले गाउँ छोडेका हुन् ।

विस्थापित भएका परिवारहरु विद्यालय, ओडार र जंगलमा पाल टाँगेर बसेको प्रहरीले जनाएको छ । वडा नं. ४ का रावलगीरी, ठाकुरगिरी र पातलगिरीका स्थानीय मात्रै घरमा बसेका छन् । पहिरो गएको वडा बारेकोट गाउँपालिकाको सबै भन्दा ठूलो वडा हो । घटनास्थल पुग्न सदरमुकामबाट झण्डै दुइदिन लाग्छ । बिहीबार पहिरो गएको स्थान जुम्ला र डोल्पाको सिमानामा पर्दछ । घटनापछि उद्दारका लागि रामीडाँडा इलाका प्रहरी कार्यालय, लिम्सा प्रहरी चौकी, सिलिङ्गी प्रहरी चौकी र सेपुखोला प्रहरीचौकीबाट प्रहरी खटिएको थियो ।

दल्ली इलाका प्रहरी कार्यालय र जिल्लाबाट खटिएको नेपाली सेना टोली २० घण्टासम्म घटनास्थल पुग्न सकेको छैन । शुक्रबार साँझसम्म वर्षा भइरहेका कारण उद्दारमा कठिनाइ भएको छ ।

सात जनाको मृत्यु सात जना बेपत्ता

जाजरकोटको बारेकोट–४ बोहोरा गाउँमा बिहीबार राती गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार पहिरोमा परेर ५२ वर्षीया गोपाल सार्की र उनका ११ वर्षीया छोरा अर्जुन सार्की, १४ वर्षीया तिर्सा, कुशे गाउँपालिका वडा नं. ९ चौताराका २० वर्षीया डिल्ली सार्की र १८ वर्षीया वीरेन्द्र सार्कीको मृत्यु भएको छ ।

त्यस्तै घटनामा दुईजना महिलाको पनि मृत्यु भएको छ । उनीहरुको शव भेटिए पनि पहिचान हुन सकेको छैन । सोही पहिरोमा परेका पाँच जना अझै वेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । यस्तै बारेकोट–६ धुमामा आएको बाढीमा परी २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि बेपत्ता भएका छन् ।

रुकुममा आमाछोराको मृत्य

रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–३ खदीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । शुक्रवार विहान घर माथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय २८ वर्षीया सीता दमाई र उनका छोराको मृत्यु भएको हो । उनीहरु सुतिरहेका बेला पहिरोले घर बगाएको प्रहरीको भनाइ छ । पहिरोमा पुरिएर सीता र उनका ६ वर्षीय छोरा हाविलको मृत्यु भएको हो । यस्तै आठ वर्षीया छोरी हिरा घाइते भएकी छन् । घटना बिहानै भएकाले तत्काल उद्धार गर्न नसकिएको स्थानीयले बताए । समयमै उद्दार नहुँदा आमाछोराको मृत्यु भएको स्थानीयको भनाइ छ ।

घटना भएको केही समयपछि मात्रै छिमेकीले सीताको घर पहिरोले बगाएको देखेका थिए । ‘हामीले अलि ढिला थाहा पायौं, त्यो ठाउँमा पुग्दा माथिबाट आएको पहिरोले घर पुरेको थियो,’ वडाध्यक्ष केशरमान विकले भने, ‘उनीहरुको खोजी गर्दा सीता र हाविलको शव फेला प¥यो, हिरा च्यापीएकी थिइन् । उनलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाएका छौं ।’ घाइते हिराको उपचार नगर अस्पताल राडीमा भइरहेको छ । सीताका पती तुलबहादुर दमाई भने वै देशीक रोजगारीमा छन् ।

लिमीका तीन गाउँमा पहिरा

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको लिमिका तीन वटा गाउँमा पहिरो गएको छ । लिमीका तिल, जाङ र हल्जी गाउँका विभिन्न ठाउँमा पहिरो गएको हो ।

अविरल वर्षाका कारण आएको बाढीले आवतजावत नै रोकिएको नाम्खा गाउँपालिका–६ हल्जीका स्थानीय कन्जोक फुरुबु तामाङले जानकारी दिए । खोलाको बहाव बढेपछि आफूहरूलाई गाउँपालिका कार्यालय र सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या भएको तामाङले जनाए ।

मध्यपहाडी राजमार्ग अवरुद्ध

लगातारको वषासँगै आएको पहिरोले मध्यपहाडी (पुष्पलाल राजमार्ग) अन्तर्गत दैलेख खण्ड अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत पर्ने नारायण नगरपालिका ११ मा सडक नै भत्किएको छ । नारायण नगरपालिका ११ मा पर्ने नाउलेमा सडसक खण्ड अवरुद्ध भएकाले खुलाउने काम भइरहेको राजमार्गमा दैलेख कार्यालयका इन्जिनियर तुलाराम शर्माले बताए ।

उनकाअनुसार पहिला पहिरो गएको ठाउँमा पुनः सडकको ग्याबिन वाल भत्किएको छ । यस्तै पहिरोका कारण करिब दुई वर्षअघि नगरपालिकाले कालोपत्रे सडक भत्किएको छ ।

तपाईको प्रतिक्रिया