चौकुनेमा पेश्की लिएको २ बर्षपछि एम्बुलेन्स

सुर्खेत, २६ असार ।

चौकुने गाउँपालिकामा नयाँ एम्बुलेन्स खरिद गरिएको छ । चौकुने गाउँपालिका वडा नं. २ मा रहेको बाँसपानी स्वास्थ्य चौकीबाट सञ्चालन हुनेगरी गाउँपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा १२ लाख बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भएको २ बर्षपछि आ.व. २०७६÷०७७ मा गाउँपालिकामा एम्बुलेन्स आइपुगेको छ ।

एम्बुलेन्स खरिदको जिम्मेवारी पाएका चौकुने गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष लछिराम आलेमगरले एम्बुलेन्स खरिद गर्न दुई बर्ष लगाएका छन् । गाउँपालिकाबाट प्राप्त गरेको रकम व्यक्तिगत प्रयोजन गरेको स्थानीयको गुनासोसंगै गाउँपालिकादेखि अख्तियारसम्म मुद्धा मामिला गरेपछि दुई बर्षपछि एम्बुलेन्स खरिद गरिएको हो । वडा अध्यक्षले एम्बुलेन्स खरिददेखि विकास निर्माणको बजेट अनियमितता गरी व्यक्तिगत लाभ उठाउने काम गरेको स्थानीयले आरोप लगाएका छन् । केही दिन अघि विरोध स्वरुप स्थानीयले वडा कार्यालयमा तालबन्दी समेत गरेका थिए ।

राजश्व छुट प्राप्त एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर राख्न र एम्बुलेन्स सवारी दर्ता, विमा गर्ने समेत बाँकी रहेको छ । गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले एम्बुलेन्स संचालन कार्य बिधि निर्माण गरी दिगो रूपमा आफ्नै आम्दानीले धान्न सक्ने गरी व्यवस्थित तरिकाले सञ्चालन गर्ने बताए । ग्रामीण क्षेत्रको कच्ची सडकमा सुरक्षित रूपमा एम्बुलेन्स चलाउन आवश्यक रहेको उनको भनाई थियो ।

गाउँपालिकाका उपाध्यक्ष निर्मला मगरले एम्बुलेन्सलाई एम्बुलेन्सकै रुपमा संचालन गराई आम नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच बढाउन सहयोग गर्ने बताए । एम्बुलेन्स खरिद गर्न करिब दुई लागेको वडा अध्यक्ष लछिराम आलेमगरले स्वीकार गरेका छन् । टाटा स्वरुमसंग सम्झौता गरी ५ जेठ २०७५ सालमा नै टोटल रकम पठाइसकेको पछि उक्त टाटा स्वरुमले एम्बुलेन्स खरिद प्रक्रिया ढिलाई गरेपछि बासपानी स्वास्थ्य चौकीको खातामा रकम फिर्ता गरेको वडा अध्यक्ष आले मगरको भनाई छ ।

उनले अब सुर्खेत पश्चिमका जनताको सेवाको लागि एम्बुलेन्स २४ सैं घण्टा तयार हुने बिश्वास दिलाए । अध्यक्ष आलेले एम्बुलेन्स खरिद गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए । त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हित प्रसाद पौडेलले समग्र चौकुनेका नागरिकहरुलाई सेवा पुग्ने गरी एम्बुलेन्स खरिद गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया