कर्णालीमा विषयगत समिति अध्यक्षको निर्वाचन हुँदै

सुर्खेत, २५ असार ।

कर्णाली प्रदेश सभाको विषयगत समितिको अध्यक्ष पदको लागि असार २८ गते निर्वाचन हुने भएको छ । कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम १४८ बमोजिम विषयगत समितिको अध्यक्षको लागि सभामुखले निर्वाचन मिति तोकेका हुन् ।

समितिको अध्यक्ष पदका लागि उम्मेदवारी दिन असार २७ गते (शनिबार) मिति तोकिएको छ । प्रदेश सभा नियमावली २०७४ को नियम १४८ ९३० सँग सम्बन्धित अनुसूची ४ अनुसार एक जना प्रस्तावक र एक जना समर्थकसहित समितिको अध्यक्ष पदको लागि मनोनयन दर्ता गर्न सूचना जारी गरिएको छ ।

मनोनयनका लागि २७ गते बेलुका ५ बजेसम्मको समय दिइएको छ । कर्णाली प्रदेश सभामा ४ वटा विषयगत समिति छन् । जसमा अहिले ज्येष्ठताका आधारमा समितिको अध्यक्ष तोकिएको छ । अर्थ तथा प्राकृतिक समितिमा अमर बहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिमा पदमबहादुर रोकाया, सामाजिक विकास समितिमा राजु नेपाली र सार्वजनिक लेखा समितिमा दीनबन्धु श्रेष्ठले अध्यक्षता गरिरहेका छन् ।

सार्वजनिक लेखा समितिका अध्यक्ष श्रेष्ठ प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद हुने भने अन्य ३ वटा समितिका सभापति सत्तारूढ दलकै सांसद हुन् । हाल लेखा समितिमा अध्यक्षबाहेक ६ जना, सामाजिक विकास समितिमा ७ जना, विधायन समितिमा ६ जना, अर्थ समितिमा ८ जना सदस्यहरू छन् ।

प्रदेश सभा नियमावलीको नियम १४५ अनुसार अर्थ तथा प्राकृतिक स्रोत समितिको कार्यक्षेत्र आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्छन् ।

विधायन तथा प्रदेश मामिला समितिको कार्यक्षेत्रमा प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश लोकसेवा आयोग र सरकारका कामकाजहरूको अनुगमन पर्दछ ।

त्यस्तै, सामाजिक विकास समितिको कार्यक्षेत्रभित्र सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, श्रम, सामाजिक न्याय र मानव अधिकार पर्छन ।

प्रदेश लोकसेवा आयोग र प्रदेश मानव अधिकार आयोगबाहेक प्रादेशिक संवैधानिक आयोगका प्रतिवेदन, सार्वजनिक लेखा तथा प्रदेश लेखा परीक्षक कार्यालयको प्रतिवेदन र बेरुजु फछ्र्याैटसम्बन्धी काम सार्वजनिक लेखा समतिको कार्य क्षेत्रभित्र पर्छन ।

तपाईको प्रतिक्रिया