एसईईको नतिजा असार ३० गते सम्म बुझाउन बोर्डको निर्देशन

काठमाडौं, १६ असार ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार ३० गते सम्म परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउनु पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३० असार सम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन निर्देशन दिएको हो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एसईई हुन नसकेपछि आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा तयार पारेर पठाउन निर्देशन दिइएको हो ।

‘शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाइएको प्राप्ताङ्क तालिका भिडाई, प्रयोगात्मक र सैद्धान्तिक अंक भरे नभरेको, पूर्णाङ्कअनुसार मिले नमिलेको तथा विवरण प्राप्त भएका विद्यार्थीहरूको राजस्व दस्तुर बुझाए नबुझाएको यकिन गरी तीनैप्रति प्रमाणित गरी सफ्टकपि अपलोड गर्ने र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाएको प्राप्ताङ्क तालिकाको एक प्रति विद्यालय कोडको क्रम मिलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा छिटो साधनद्वारा पठाउनु पर्नेछ’ बोर्डले भनेको छ ।

विद्यालयहरूले भने असार २० गतेभित्रै शिक्षा विकास तथा समन्वय इकाईमा पठाइसक्नुपर्नेछ । विद्यालयहरूले ‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ को आधारमा नतिजा तयार पार्नुपर्नेछ ।

जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि एसईई सञ्चालन नगर्ने निर्णय गरेपछि विद्यालयका प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक र सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्याङ्कन समितिलाई मूल्याङ्कनको अधिकार दिइएको हो ।

मूल्याङ्कन समितिले तयार पारेको नतिजाको आधारमा राष्ट्रिय परीक्षा बोर्डले नै विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । कोभिड–१९ का कारण सरकारले यो वर्ष एसईई नगर्ने भएपछि देशभरि ४ लाख ८२ हजार २१९ विद्यार्थी परीक्षाबाट बञ्चित भएका हुन् । २०७६ चैत्र ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो ।
(अनलाइन खबरबाट साभार)

तपाईको प्रतिक्रिया