सुर्खेतमा ‘अनलाइन होम डेलिभरी’ सेवा सुरु

सुर्खेत, १६ असार । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले अनलाइन होम डेलिभरी सेवा शुरु गरेको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले मंगलबार वीरेन्द्रनगरमा ‘नेपालफुड डट जिओभी डट एनपी’ पोर्टलको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा मन्त्री बुढाले अनलाइन होम डेलिभरीका पहिलो ग्राहक सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कंडेललाई विल हस्तान्तरण गरेका थिए । मन्त्री बुढाले कोभिड १९ को जोखिमबाट सुरक्षित रहन अनलाइन कारोबार प्रभावकारी माध्यम भएको बताए । उनले कर्णाली सरकारले आगामी आर्थिक वर्ष ४० हजार मेट्रिक्टन खाद्यान्न खरिद गर्ने योजना रहेको जानकारी दिए ।

खाद्य व्यापार कम्पनी लिमिटेड कम्पनीका नायब महाप्रबन्धक श्रीमणि राज खनालले उपभोक्ता सूचना प्रविधिमैत्री हुन जरुरी रहेको बताए । कम्पनीले काठमाडौं उपत्यकाबाहिर पहिलोपटक कर्णालीमा अनलाइन होम डेलिभरी सेवा शुरु गरेको जानकारी दिए । आम उपभोक्तालाई घरघरमा सेवा दिनका लागी अनलाइन होम डेलिभरी शुरु गरिएको बताए ।

सरकारले अनलाइन होम डेलिभरी सेवा काठमाण्डौ उपत्यकाबाट शुरु गरेको हो । गत चैत २६ गतेदेखि शुरु गरिएको होम डेलिभरी सेवा सातै प्रदेशमा पुर्याउने सरकारको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया