कर्मचारीकाे बेथिति

सरकारी स्कुटी तरुनीलाई उपहार

बिल भेटियो, स्कुटी भेटिएन

सुर्खेत, १६ असार ।
भेरीगंगा नगरपालिकाको नाममा खरिद गरिएको स्कुटी तरुनीलाई उपहार दिएको भेटिएको छ । वीरेन्द्रनगर–१२ नेवारे निवासी भेरीगंगा नगरपालिकाका लेखा अधिकृत मान बहादुर ठाडाले नगरपालिकाको नाममा खरिद गरिएको स्कुटी तरुनीलाई चलाउन दिएको रहस्य खुलासा भएको हो ।

आर्थिक २०७५/०७६ मा भेरीगंगा नगरपालिकाको बार्षिक बजेट तथा कार्यक्रमबाट जनप्रतिनीधि र कर्मचारीहरुका लागि खरिद गरिएको स्कुटी लामो समयसम्म निजी नम्बर प्लेट राखी प्रयोग गरिएको पाइएको छ । सन् २०१८ मा उत्पादन भएको सिल्भर कलरको पिजिओ स्कुटी निजी नम्बर प्लेट राखी लामो समयदेखि एक युवतीले व्यक्तिगत रुपमा प्रयोग गरेको भेटिएको थियो ।

२०७५/७/३० मा भैरहवा भन्सार कार्यालयमा दर्ता भएको लु ४६ प ९०३१ नम्बरको स्कुटी एक बर्षपछि २०७६ भदौं ५ गते कर्णाली प्रदेश ०२००१ प २२४० नम्बरमा प्राइभेट दर्ता गरी प्रयोग गरिँदै आएको थियो । प्राइभेट रुपमा दर्ता गरिएकाे स्कुटी लेखा अधिकृत ठाडाले छिन्चुकै एक तरुनीलाइ व्यक्तिगत रुपमा प्रयाेग गर्न दिएका थिए । नगरपालिकाको आन्तरिक लेखापरिक्षण र बाह्रय लेखा परिक्षणमा स्कुटीका बिषयमा पटक/पटक कुरा उठ्दै आएको थियो । स्कुटिका विषयमा दुई बर्षदेखि लेखामा कुरा उठेपनि उनले हिसाव मिलाएरै लेखापरिक्षणमा आउने कर्मचारीहरुलाई खुशी बनाएर पठाउने गरेका थिए ।

स्कुटी अफिसमा नआउँदै बिल पेस भएर भुक्तानी दिई स्टोरमा दाखिला गर्न लेखा अधिकृत ठाडाले दवाव दिएपछि गान्नगुन्न कुरा बाहिर आएको थियो । कुरा उठेपनि सप्रमाण नभेटिएपछि सबै चुपचाप लागेका थिए । नगरपालिकाको नाममा खरिद गरिएको स्कुटी दुई बर्षदेखि रातो प्लेटमा सेतो अक्षरले लेखिएको निजी सवारी साधान सरह प्रयोग गरिँदै आएको छ ।

नगरपालिकाको नाममा खरिद गरिएको सरकारी सम्पत्ती स्टोर दाखिलासमेत नगरी तरुनीलाई चलाउन दिएपछि लेखा अधिकृत ठाडाको व्यक्तिगत आचारण र चरित्रमाथी गम्भिर प्रश्न चिन्ह खडा भएको छ । तरुनी र कारका शौखिन लेखा अधिकृत ठाडाले भेरीगंगा नगरपालिकामा सरुवा भएर गएपछि दुई पटक महंगा कारसमेत परिवर्तन गरेका छन् । सुजुकी कम्पनीको बोलेनो कार प्रयोग गर्दै आएका लेखा अधिकृत ठाडाले छ महिनायता अहिले हुण्डाई कम्पनीको ४० लाखबढीको कार प्रयोग गर्दै आएका छन् । बा २१ च १७३१ नम्बरको निजी कार प्रयोग गर्दै आएका छन् । नगरपालिकाबाट कारको मर्मतदेखि तेल सुविधा उपयोग गर्दै आएका छन् ।

लेखाको बिल, भरपाई, कागजात मिलाउन सिपालु लेखा अधिकृत ठाडाको भेरीगंगा गएदेखि दर्जनौं काण्डै काण्ड छन् । वीरेन्द्रनगर–१२ मा आलिसान महल खडा गरेका लेखा अधिकृत ठाडाको आम्दानीको स्रोतमाथी आशंका उत्पन्न भएको छ । स्रोतले दिएको जानकारी अनुसार लेखा अधिकृत भएर भेरीगंगा नगरपालिकामा पुगेपछि गैरकानूनि रुपमा अवैध तरिकाले अकुत सम्पत्ति आर्जन गरी कारदेखि तरुनीसम्म व्यवस्थामा खर्च गरेको दावी छ ।

नगरपालिकाले खरिद गरेका र प्रयोग गरिरहेका सवारी साधानहरुको विवरण माग गर्दै निवेदन नगरपालिकामा पेश भएपछि कर्मचारीहरुमा हल्लाखल्ला भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखराम ओलीले स्कुटीका विषयमा लेखा अधिकृतलाई सोध्दा उनले आफ्नो घरमा रहेको भन्दै टार्दै आएका थिए । तीन दिन यता एकाएक उक्त स्कुटी नं. ००१ ब ०१६३ नम्बर सरकारी नम्बर प्लेट लेखी एक स्थानमा बेवारिसे अवस्थामा लेखा अधिकृतले लुकाएर राखेको भेटिएको छ । लेखा अधिकृत ठाडाले भने ‘नगरपालिकामा विभिन्न स्कुटी र मोटरसाइकल गरी १६ वटा खरिद गरिएको हो । मेरो नाममा स्कुटी बुझेर मैले घरायसी रुपमा प्रयोग गर्दै आएको थिए । अहिले अफिसमै बुझाइदिएको छु ।’

खरिद गरिएका सवारी साधन र प्रयोग गर्ने जनप्रतिनीधि तथा कर्मचारीहरुको विवरण स्पष्टसंग राखिएको उनले जानकारी दिए । लेखा अधिकृत ठाडाले भने ‘मैले नै प्रयोग गरेको हुँ । स्टोरबाट मैले बुझेर लिएको हुँ, तर किनेदेखि मैले नै प्रयोग गरिरहेको छु । तपाइले मागेको सूचना अनुसार रिपोर्ट दिएको छु । रातो नम्बर प्लेटमा ३/४ वटा चलिरहेका छन् । सरकारी नम्बर प्लेट राख्ने प्रक्रियामा लागिएको छ ।’

जनप्रतिनिधकाे बेथिति याे पनि पढ्नुहाेस :-

भेरीगंगामा जनप्रतिनिधिको ‘कमिसन’ खेल

तपाईको प्रतिक्रिया