रोपाइँ गर्न गोलाप्रथा !

मुगु, १६ असार ।

रोपाइँका लागि पनि गोलाप्रथा । सुन्दा अनौठो लाग्न सक्छ । तर मुगुमा विगत चार वर्षदेखि यस्तै भइरहेको छ । रोपाइँका लागि गाउँमा बर्सेनी गोलाप्रथा गरिन्छ । गोलाप्रथाबाट छनौट भएको दिनमा मात्र स्थानीयले आफ्नो रोपाइँ गर्न पाउँछन् ।

अर्कोको पालो परेको दिनमा रोपाइँ गर्न निषेध नै गरिएको छ । रोपाइँका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्न यो उपाय अपनाइएको हो । जिल्लाको छायाँनाथ रारा नगरपालिका—३ निगाले गाँउमा असार १५ गतेबाट रोपाइँ सुरु हुन्छ ।

तर सबैले एकैदिन रोपाइँ सुरु गर्दा रोपार, बाउसे, गोरु र हलीको अभाव हुने र गाउँलेबीच झगडा नै हुने भएपछि गोलाप्रथा गर्न थालिएको हो । गोलाप्रथाबाट पालो अनुसार रोपाइँ गर्दा जनशक्ति र पानी पनि पर्याप्त हुने भएपछि अचेल सहज भएको स्थानीयको भनाइ छ ।चार बर्षदेखि गोलाप्रथा गरी प्रत्येक किसानको पालो अनुसार गाउँमा रोपाइँ हुन्छ ।

सबै गाँउलेको सहमतिमा पालोअनुसार खेतमा रोपाइँ गर्नका लागी यसपाली पनि एकहप्ता अगाढी गोलाप्रथा गरिएको छ । पालो अनुसार खेतमा पानी लगाउने र रोपाइँका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न थालिएको हो ।

स्थानीय गोकर्ण रोकायाले गोलाप्रथाले गर्दा गाउँमा सहजै रोपाइँ हुन थालेको र झगडा राकिएको बताए । उनका अनुसार एकदिन सबैले रोपाइँ गर्न खोज्दा पानीको अभाव हुने र जनशक्ति पनि नहुँदा विगतमा गाउँलेबिच झगडा हुने गर्दथ्यो ।

तपाईको प्रतिक्रिया