करार कर्मचारीको भरमा अस्पताल

जाजरकोट, १६ असार ।

जिल्ला अस्पताल जाजरकोटमा नवौं तहको स्वास्थ्य सेवा व्यवस्थापकको दरबन्दी तोकिएको पाँच वर्ष विति सक्यो । सोही तहको कन्सल्टेन्ट पेडियाट्रीसियन, कल्सल्टेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट, कन्सल्टेण्ट सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट र कन्सल्टेन्ट जनरल फिजिसियन पदको दरबन्दी तोकिएको पाँच वर्ष वितिसक्यो ।

तर, उक्त पदका विशेषज्ञ चिकित्सक को पदपूर्ति भने हुन सकेको छैन । त्यति मात्र होइन आयुर्वेद चिकित्सक, नवौं तहका पाँचजना मेडिकल अधिकृत, डेण्टल सर्जन, फिजियोथेरापी सहायक, मेडिकल ल्याव टेक्नोलोजिष्ट, तीन जना स्वास्थ्य सहायक, सात जना स्टाफ नर्स, एक जना पब्लिक नर्स, ल्याव टेक्निसियन, फार्मेसी सहायक, ल्याव असिष्टेन्ट, तीन जना अहेव लगायतका ५० पद स्थापना कालदेखि नै रिक्त छन् । जम्मा ६५ दरबन्दी रहेको अस्पतालमा १५ पदको मात्र पदपूर्ति भएको छ । त्यसमध्येका मेडिकल अधिकृत डाक्टर कृष्णजंग शाह, मेडिकल अधिकृत डाक्टर धर्मराज रेग्मी र स्टाफ नर्स विष्णु शाह तलबी अध्ययन विदामा बसेका छन् ।

स्वास्थ्य सहायक दीपबहादुर वली वेतलबी अध्ययन विदामा छन् । धेरै पदहरु रिक्त रहेको र काममा खटिएकाहरु पनि काज तथा विदामा बसेपछि करार सेवामा नियुक्त स्वास्थ्यकर्मीको भरमा लामो समय देखि ५० शैयाको जिल्ला अस्पताल जेनतेन चलिरहेको छ ।

कार्यालय सहयोगीसहित ४३ जना स्वास्थ्यकर्मी करार सेवामा नियुक्त गरिएका छन् । अस्पताल विकास समिति, कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वास्थ्य मन्त्रालयले करारमा नियुक्त गरी पठाएका स्वास्थ्यकर्मीले अस्पताल धानिरहेका छन् । १५ शैयाको जिल्ला अस्पताललाई २०७२ सालमा स्तरोन्नती गरी ५० शैयाको बनाउने निर्णयसँगै विशेषज्ञ सेवाका लागि ती पदका चिकित्सकको दरबन्दी सिर्जना गरिएको हो । तर, उक्त निर्णय र स्तरोन्नती कागजमै सिमित हुन पुगेको छ ।

हामीले अस्पतालको पूर्वाधार विकास गरी दरबन्दी अनुसारका चिकित्सकको पदपूर्ति गर्न बारम्बार माग ग¥यौ तर सुनुवाई हुँदैन अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले भनिन्, ‘पूर्वाधार अभाव, आवश्यक उपकरण र स्वास्थ्यकर्मी अभावले आएका चिकित्सक पनि बस्नै मान्दैनन् । पूर्वाधार विकासका लागि पहल भइरहेको भएपनि खासै काम हुन सकेको छैन ।’ अस्पतालमा उपचार छैन । यो अस्पताल रेफर सेन्टर र शवको पोष्र्टमार्टम गर्ने ठाउँ मात्र भएको भेरी नगरपालिका ४ का बलबहादुर विकले बताए । सामान्य रोगको पनि उपचार हुँदैन । जटिल खालको प्रसूति सेवा र सामान्य सर्जरी समेत हुँदैन उनले भने, ‘अस्पताल नाम मात्रको छ । वषौंदेखि यसरी नै चलिरहेको छ । सामान्य रोगको उपचारका लागी पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।’

अस्पतालमा छात्रवृत्ति करारमा नियुक्त भएका केही मेडिकल अधिकृत कार्यरत छन् तर आवश्यक उपकरण र पूर्वाधार अभावमा काम गर्न सकिरहेका छैनन् । भिडियो एक्सरे मेसिन बिग्रिएको लामो समय भइसक्यो अझै मर्मत हुन सकेको छैन । एक्सरे मेसिन बिग्रिएको हप्ता दिन भइसक्यो । बन्न सकेको छैन । एक्सरे नहुँदा बिरामी रुकुमको चौरजहारी जान बाध्य छन् । खुट्टामा चोट लागेर एक्सरेका लागि जिल्ला अस्पताल पुगेकी भेरी नगरपालिका २ कि कमला वली एक्सरे मेसिन बिग्रिएको जानकारी पाएपछि चौरजहारी जानु परेको बताइन् । ‘अस्पताल आफै बिरामी जस्तो छ खास बिरामीको उपचार कसरी गरोस्,’ उनले भनिन ।

६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनामा चिकित्सकले पोष्टमार्टम रिपोर्टमा झालझेल गरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र पीडित परिवारले गत असार १ मा गरेको तोडफोडबाट एक्सरे मेसिन बिग्रिएपछि यतिबेला सेवाग्राही मर्कामा परेका छन् । आक्रमणको त्रासले डाक्टर सुरक्षा घेरामा बसिरहेका छन् । अस्पतालमा सुरक्षा पहरा दिइएको छ । ‘डाक्टर उपचार गर्ने मुडमा पनि छैनन् एक स्वास्थ्यकर्मीले भने, ‘न आवश्यक पूर्वाधार र उपकरण छन् न विशेषज्ञ चिकित्सक नै । न काम गर्ने वातावरण छ यस्तो अवस्थामा प्रभावकारी उपचार कसरी संभव होला ।

तपाईको प्रतिक्रिया