सम्पादकीय : जातीय विभेदको अन्त्य

जातकै कारण विभेद र छुवाछुत अहिले पनि कायमै छ । समाजमा मानिसले मानिसलाई नै विभेद गर्ने कारणहरु धेरै छन् । यसको शिकार दलितहरु भइरहेका छन् । समाजमा रहेका कथित माथिल्लो जातले दलितमाथि विभिन्न बहानामा छुवाछुत गर्ने र विभेद गर्ने गरेको पाइन्छ । यद्यपी यो आजको समस्या होइन । पहिलेबाटै समाजमा जातकै आधारमा दलितहरु विभिन्न हिंसा भोग्न बाध्य छन् । कतिपय अवस्थामा दलितहरुले ज्यान नै गुमाएका धेरै घटना छन् । आर्थिक र सामाजिक रुपमा पछाडि पारिएको कर्णालीमा छुवाछुतको अवस्था कहालीलाग्दो नै छ । अहिले पनि दलितहरु धारामा पानी छाएकै नाममा, घरभित्र भान्सा छाएको निहुँमा र कथित माथिल्लो भनिएका जातसँग प्रेम तथा विहे गरेको आरोपमा ज्यान गुमाउन बाध्य छन् । समाजमा शिक्षित भनिएकाहरु नै छुवाछुत गर्छन् । जातकै आधारमा विभेद गर्छन् । जातीय विभेद अन्त्यका लागि देशमा धेरै कानुनहरु पनि बने । तर तिनको कार्यान्वयन दयनीय छ । यसैको प्रभाव र हाम्रो समाजमा भएका अन्धविश्वासका कारण पनि जातको आधारमा विभेदहरु भइरहेका छन् ।

जन्मको आधारमा सबै मानिस समान छन् । सबैको रगत रातौ नै हुन्छ । तर पनि जातको आधारमा हेपाह व्यवहार भइरहनु राम्रो होइन । विश्व सूचना र प्रविधिसँग प्रतिस्पर्धा गरिरहँदा हामी भने त्यही जातमा जेलिएका छौं । अर्थात आज पनि दलित र गैरदलित भएकै कारण समाजमा हिंसा भोग्नुपर्ने अवस्था छ । यसको मुल कारण अशिक्षा हो । शिक्षाको कमीले पनि मानवीय व्यवहारहरु परिवर्तन हुन सकेका छैनन् । कतिपय परम्परागत मान्यता र धार्मिक अन्धविश्वासका कारण पनि जातीय विभेद कायमै छ । दलितले बनाएको सीप चल्छ । यहाँ दलितसँग यौन चल्छ । दलितसँग खाना पनि चल्छ । तर दलितसँग विहे किन चल्दैन ? यही प्रश्न आजको मुख्य समस्या हो । औपचारिक रुपमा विहे गर्न बञ्चित गर्ने तर उनै दलितसँग लुकीछिपी यौन सम्वन्ध राख्दा बहादुरी ठान्छन् कथित माथिल्लो जात भनिनेहरु । विगतमा पानी नै नचल्ने अवस्था थियो । तर पछिल्लो समय त्यसमा केही परिवर्तन आएको छ ।

तर पछिल्लो समय मुख्य समस्याको रुपमा दलित र गैरदलितबिचको प्रेम सम्वन्ध र विवाहमा देखिएको छ । अहिले पनि दलितसँगको प्रेमलाई अपराध ठान्ने र विहेलाई स्वीकार नगर्ने प्रवृति कायमै छ । गैरदलितसँग प्रेम गरेकै कारण र विहे गर्न खोजेकै कारण आज धेरै दलितहरु मारिएका छन् । पछिल्लो समय रुकुमको घटना ताजै छ । यसकारण समाजमा जरा गाढेर रहेको जातीय विभेदको अन्त्य गर्न कानुन बनाएर मात्र पुग्दैन । यसको अन्त्यका लागि मानिसमा रहेको परम्परागत सोच र व्यवहार हरुमा परिवर्तन आउनु पर्दछ । यसका लागि चेतना जरुरी छ । दलितहरुको आर्थिक सवलीकरणमा पनि ध्यान दिनुपर्ने देखिन्छ । यसले केही हदसम्म विभेद र छुवाछुतलाई न्यूनिकरण गर्न सहज हुनेछ । (२०७७ असार १५ गते युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)
यो पनि पढ्नुहोस :-

दैलेखमा सेते दमाईको सालिक बनाइने

यहाँ सबै चल्छ, तर विहे चल्दैन !

 

तपाईको प्रतिक्रिया