रुकुम पश्चिम, १६ असार ।
रुकुम पश्चिममा मारिएका जाजरकोटका नवराज विकलाई सरकारले मरणपरान्त पुरस्कृत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन तथा नागरिक उड्यन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यो पुरस्कारको राहि एक लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।
यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सिप, कला, शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो ।
मन्त्रालयले यस वर्ष प्रदान गर्ने अन्य विधामा समेत पुरस्कृत हुनेको नाम टुङ्गो लगाएको छ । मन्त्रालयले २०५१ सालदेखि विधिन्न विधामा राट्रियस्तरका पुरस्कार प्रदान गर्दै आएको छ ।
जसमा एक लाख रुपैयाँ राशिको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ काठमाडौंका प्रा.डा. दयाराम श्रेष्ठले पाउनेछन् भने संगीत तथा नाट्य विधातर्फ सिहाराका सत्यनारायण चौधरीले राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेछन् ।
ललितकलातर्फ भने काठमाडौंका श्यामलाल श्रेष्ठलाई पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ । यस विधामा हरेक विधातर्फ ५० हजार पुरस्कार राशिको प्रादेशिक प्रतिभा पुरस्कारसमेत प्रदान गरिन्छ । सरकारले सोमवार नै महाकवि देवकोटा, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कार पाउने व्यक्तिको नाम समेत छनोट गरेको छ ।
युग संवाददाता । । १६ असार २०७७, मंगलवार ०८:४५