दैलेखमा कृषकलाई बोका वितरण

सुर्खेत, १५ असार । दैलेखमा बाख्रा पालन गरिरहेका कृषकलाई उन्नत जातको बोका वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ दुल्लूले आइतबार बोयर जातको उन्नत बोका वितरण गरिएको हो ।

दैलेख जिल्लाका चार वटा स्थानीय तह लाई बाख्रा जोन छनौट गरिएको छ । जसमध्ये नारायण नगरपलिकाको नम्बर वडा ४ र १०, महाबु गाउँपालिकाको नम्बर वडा ३, ४, ५ र ६, भैरवी गाउँपालिकाको ६ र ७ छनौट गरिएको छ भने चामुण्डा विन्द्रासैनी नगरपालिकाको नम्बर वडा १ र ३ छनौट गरिएको छ ।

जिल्लामा छनौट भएका स्थानहरुबाट माग भए अनुसारका समुह, सहकारी र फर्महरुलाई बोका वितरण गरिएको इकाईका कृषि विकास अधिकृत राजु भुजले जानकारी दिए । आइतबार दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीद्वारा १५ वटा बोका कृषकलाई हस्तान्तरण गरिएको हो ।

भैरवी गाउँपालिकामा १० वटा, चामुण्डा विन्द्रासैनी नगरपालिकामा ४ वटा र महाबु गाउँपालिकामा १ वटा बोका वितरण गरिएको छ । अधिकृत भुजका अनुसार महाबु गाउँपालिका वडा नम्बर ३ बाट १० वटा र भैरवी गाउँपालिका वडा नम्बर ६ बाट ५ वटा बोका खरिद गरिएको थियो । सोही बोका कृषकलाई ५० प्रतिसत अनुदानमा वितरण गरिएको हो ।’

उनका अनुसार ८ सय रुपैयाँ प्रति केजिमा खरिद गरिएको बोकाको मुल्यमा ४ सय रुपैयाँ कृषकले तिरेका हुन् । बाख्रा उत्पादन भैरहेको क्षेत्रमा बजारीकरण र उत्पादनमा बृद्धि गर्ने उद्देश्यले उन्नत जातको बोका वितरण गरिएको अधिकृत भुजले बताए ।

त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दुल्लूले हालसम्म दैलेखमा तीन वटा जोन स्थापना गरेको छ । इकाईले सुन्तला जोन, आलु जोन र बाख्रा जोन सञ्चालनमा ल्याएको हो ।

जिल्लामा सुन्तला जोन अन्र्तगत दुल्लू नगरपालिका र भैरवी गाउँपालिका रहेका छन् भने आलु जोन अन्र्तगत गुराँस गाउँपालिकाका ३, ४, ५, ६, ७ र ८ नम्बर वडा र डुंगेश्वर गाउँपालिकाका २, ३ र ५ नम्बर वडा रहेका छन् ।

त्यस्तै बाख्रा जोन कार्यक्रम अन्र्तगत नारायण नगरपलिकाको ४ र १० नम्बर वडा, महाबु गाउँपालिकाको ३, ४, ५ र ६ नम्बर वडा, भैरवी गाउँपालिकाको ६ र ७ नम्बर वडा रहेको कृषि विकास अधिकृत राजु भुजले जानकारी दिए ।

उनका अनुसार आलु जोन कार्यक्रम अन्र्तगत ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको छ भने ६ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

तपाईको प्रतिक्रिया