कर्णालीमा ३९ प्रतिशत रोपाइँ सम्पन्न

डोल्पा र जुम्लामा शतप्रतिशत रोपाइँ सकियो

सुर्खेत, १५ असार । असारको महिना किसानलाई रोपाइँको चटारो परेको छ । यसवर्ष असार लागेसँगै मनसुन शुरु भएकाले कृषकलाई असार १५ चटारोका रुपमा देखिएको हो । डोल्पा र जुम्लामा भने शतप्रतिशत रोपाइँ सकिएको छ । जुम्लामा जेठ महिना लगाएको मार्सी धान अहिले गोड्ने बेला भएको छ । चिसोका कारण असारमा रोपेको धान कात्तिकमा नपाक्ने भएकाले जुम्लामा वैशाख अन्तिम सातादेखि जेठसम्म धान रोप्ने गरिन्छ ।

डोल्पा र जुम्लाका अधिकांश स्थानमा मार्सी धान रोप्ने गरिन्छ । असिनापानी र तुसारोबाट बचाउन कर्णालीका हिमाली जिल्लामा जेठमै रोपाइँ गर्ने गरिन्छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार असार १४ गते आइतवारसम्म डोल्पामा शतप्रतिशत रोपाइँ सकिसकेको छ भने जुम्लामा ९७ प्रतिशत धान रोपाइँ भएको छ । जुम्लामा २ हजार ८ सय हेक्टर मध्ये २ हजार ७ सय १६ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको छ ।
त्यस्तै, डोल्पामा २ सय ७६ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिन्छ । आइतवारसम्म सतप्रतिशत रोपाइँ सकिएको छ । उता हुम्लामा ७५ प्रतिशत रोपाइँ सकिएको छ । ५ सय ७४ हेक्टर जमिनमा धान उत्पादन हुने हुम्लामा ४ सय ३१ हेक्टर जमिनमा रोपाइँ सकिएको हो । सल्यानमा ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सल्यानमा ७ हजार ७८ हेक्टर जमिन मध्ये ४ हजार ६ सय १ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । ६५ प्रतिशत रोपाइँ सकिएको जाजरकोटमा ३ हजार ७० हेक्टर जमिनमा धान उत्पादन हुन्छ । जस मध्ये हालसम्म १ हजार ९ सय ९६ हेक्टरमा रोपाइँ भइसकेको छ ।

निर्देशनालयका अनुसार मुगुमा ६२ प्रतिशत रोपाई सम्पन्न भइसकेको छ । ४ हजार १ सय ६७ हेक्टर जमिनमा धान उत्पादन हुन्छ भने हालसम्म २ हजार ५ सय ८४ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

त्यस्तै, पश्चिम रुकुममा ३६ प्रतिशत रोपाई सम्पन्न भएको छ । ७ हजार ८० हेक्टर जमिन रहेको रुकुम पश्चिममा २ हजार ५ सय ४९ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ । २ हजार ५ सय ७७ हेक्टर जमिनमा धान उत्पादन हुन्छ । जसमध्ये ६ सय ९६ हेक्टर जमिनको रोपाइँ सकिएको छ । जसको रोपाइँ सकिएको २७ प्रतिशत हो ।


निर्देशनालयका बाली विकास अधिकृत रानाले प्रदेशको सबैभन्दा कम सुर्खेत र दैलेखमा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । १३ हजार ५ सय २ हेक्टर जमिनमा धान उत्पादन हुने सुर्खेतमा २ हजार २५ हेक्टर जमिनमा मात्र रोपाई भएको छ । दैलेखको कुल धान उत्पादन हुने ८ हजार ३ सय १ हेक्टर जमिन मध्ये एक हजार दुई सय ४५ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको छ ।

कर्णालीमा ३९ प्रतिशत रोपाइँ

कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ३९ प्रतिशत रोपाइँ सकिएको छ । यस वर्ष मनसुन छिटो सुरु भएका कारण गत वर्षको तुलनामा यस वर्ष धेरै क्षेत्रमा समयमै धान रोपाइँ भइसकेको छ । कृषि विकास निर्देशनालय सुर्खेतका बाली विकास अधिकृत यामबहादुर रानाका अनुसार हालसम्म कर्णालीका ३९ प्रतिशत भन्दा धेरै भूभागमा धान रोपाइँ सम्पनन भइसकेको जानकारी दिए ।

उनले कुल ४९ हजार ४ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपिने कर्णालीमा हालसम्म १९ हजार १ सय १७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको बताए । उनले समयमै मनसुन सुरु भएकाले रोपाइँ छिटो सुरु भएको बताए । यस वर्ष मनसुन सक्रिय भएका कारण असार महिनासम्म शतप्रतिशत रोपाइँ सकिने अधिकृत यामबहादुर रानाको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार