सलह किराबाट बाली जोगाउन कर्णालीमा उच्च सतर्कता

बीउ छोप्न र ड्रम बजाउन सरकारको आग्रह

सुर्खेत, १५ असार ।

नेपालमा बाली नष्ट गर्न सलह किरा प्रवेश गरैसँगै यसको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै जिल्लाका कृषि ज्ञान केन्द्रलाई उच्च सतर्कतामा राखेको छ ।

सलहलाई धपाउने उपायको खोजी गर्दै दश वटै जिल्लामा ज्ञान केन्द्र, कृषिसँग सम्बन्धित गैरसरकारी संघसंस्था र किसानलाई हाइअर्लटमा राखिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । ‘सलह किरा नियन्त्रणका लागि प्रदेशसँग छुट्टै उपायहरु छैनन्, तर यसलाई धपाउने र नियन्त्रण गर्नका लागि कृषिसँग काम गर्ने सबैसँग समन्वयको प्रयास भइरहेको छ’ मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डितले भने, ‘दश वटै जिल्लाका कृषि ज्ञान केन्द्रलाई हाइअर्लमा राखेका छौँ, सलह आउने वित्तिकै धपाउने र नियन्त्रणमा लिने प्रयास गरिनेछ ।’

सलहले किसानले लगाएको खेतबालीमा ठूलो क्षति पु¥याउन सक्ने भन्दै मन्त्रालयले धानको बीउ छोप्न र ड्रम बजाउन किसानलाई सुझाव दिएको छ । ठूलो आवाज निकाल्दा सलह भाग्ने विज्ञको भनाइ छ । विषादी छर्किनु नै सलह रोक्ने उत्तम उपाय हो । तर कर्णालीमा विषादी छर्किन असम्भव भएपछि धानको बीउ छोप्न र ठूलो आवाजमा ड्रम, म्युजिक वा थाली बजाउन सुझाव मन्त्रालयले दिएको छ । ‘सलहको बथानलाई नष्ट गर्न ड्रोनबाट विषादी छर्कनुपर्छ, कर्णालीमा तत्काल त्यो सम्भव छैन’ उनले भने, ‘अब किसानले धानको बीउ छोप्नु र ठूलो आवाजमा ड्रम ठोक्नुको विकल्प छैन ।’

सहलको बथान देख्ने वित्तिकै जतिसक्यो ठूलो आवाजमा थाली, म्युजिक, ड्रम बजाएर धपानउ सकिने उनको भनाइ छ । हावाको गतिसँगै केही दिनमा सलह कर्णालीमा प्रवेश गर्ने मन्त्रालयको अनुमान छ । ‘यो दस दिनमा पाँच हजार किलोमिटरसम्म यात्रा गर्छ, नेपालमै प्रवेश गरिसकेको सलह केही दिनमै कर्णालीमा आउनसक्छ’ पण्डितले भने, ‘प्रदेश र स्थानीय सरकारले सलह मार्ने र धपाउने उपाय खोज्ने बेला भइसकेको छ ।’

सलहले एक पटकमा दुइसय किलोमिटर यात्रा गर्ने उनको भनाइ छ । चारदेखि पाँच महिनासम्म आयु हुने सलह कर्णालीमा प्रवेश गरेमा करिव एक महिनासम्म रहन सक्ने अनुमान गरिएको छ । सयौंको समूहमा उड्ने फट्याङ्ग्रा प्रजातिको किरा भए पनि यसले लगाएको बालीनै नष्ट गरिदिने पण्डित बताउँछन् ।

सुर्खेतमा विशेष तयारी

सलह किरा नियन्त्रणका लागि सुर्खेतमा विशेष तयारी अपनाइने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेतमा पावर स्प्रेदेखि विषादी तथा गाडीसम्म तयारी अवस्थामा राखिने भएको छ ।

किरा नियन्त्रणका लागि एग्रोभेट व्यवसायी संघ सुर्खेतले विषादी तयारी अवस्थामा राख्नेछ । कृषि विकास निर्देशनालयसँगको सम्वन्यमा कृषिसँग सम्बन्धित विभिन्न संघसंस्था, सहकारी, कृषि फर्मलाई पावरस्प्रे र गाडी तयारी गर्ने भएका छन् । किरा नियन्त्रणका लागि सबै स्थानीय तहमा सक्रिय संघ÷संस्थालाई प्रचार–प्रसार र जनचेतनामूकल कार्यक्रम गर्नेछन् ।

एकिकृत कृषि प्रयोगशालाको समन्वयमा सबै स्थानीय तहसँग समन्वय गरिनेछ भने उपत्यकाभित्र किरा व्यवस्थापन सम्बन्धि माइकिङ गरिनेछ । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बराहताल, पञ्चपुरी र चौकेन गाउँपालिकामा प्रचार–प्रसार र जनचेतनामूलक कार्यक्रम गर्नेछ । किसान टुले लेकवेशी, गुर्भाकोट, वीरेन्द्रनगर र पञ्चपुरीका किसानलाई सलह धपाउन जनचेतना फैलाउने छ ।

कृषि अनुसन्धान केन्द्र दशरथपुरले लेकबेशी र गुर्भाकोट नगरपालिकाले संचार माध्यममा प्राविधिक सूचना तयारी उपलब्ध गराउने छ । अएसडीपीले सुर्खेतमा सलह किरा व्यवस्थापन सम्बन्धी जनचेतनामूकल सूचना प्रवाहमा आवश्यक सहजिकरण गर्ने भएको छ ।

कसरी नियन्त्रण गर्ने ?

सलह नियन्त्रणको पहिलो उपाय विषादीको प्रयोग नै हो । नीमको पात, गुँड, धुर, गुइँठा, जडिबुटी बालेर धुवाँ पारिदिँदा पनि सलह भाग्ने विज्ञ बताउँछन् । रुख र बारीमा बसेका बेला राती ठूलाठूला जाली बनाएर संकलन गरेर पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

सलहको अथाह संख्या नै तनावको कुरा हो । थोरै हुन्थे भने जसरी पनि व्यवस्थापन गर्न सकिन्थ्यो । तर धेरै हुने भएकाले विषादी बाहेकको उपायबाट व्यवस्थापन गर्न सकिन्न । विदेशमा हवाईजहाजबाट विषादी छर्छन् भने भारतमा ठूला ट्याक्टरमा विषादी हालेर नियन्त्रण गर्ने प्रयास गरिएको थियो । अन्य देशमा सलह नियन्त्रणका लागि मालाथिएन, फेनिट्रोथिएन लगायत विषादी प्रयोग गरिएको छ ।

तर कर्णालीको हकमा भने ठूलो आवाजमा थाली, म्युजिक, ड्रम बजाएर सलह धपाउन सकिन्छ । त्यस्तै ठूला टेन्ट तथा त्रिपालले धानको बीउ छोपेर पनि क्षति कम गर्न सकिने कृषि विज्ञहरु बताउँछन् ।

फौजी किरा नियन्त्रणमा पाँच लाख रकम सकियो

केही महिनादेखि कर्णालीका सबै जिल्लामा फौजी किराको आतंक छ । फौजी किराबाट सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जाजरकोटका किसानहरु बढी पीडित बनेका छन् । जसको नियन्त्रणका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले टाक्सफोर्स ग्रुप बनायो ।

केही जिल्लामा फौजी किरालाई नियन्त्रणमा पनि लियो । ‘राहत तथा विपद्का लागि मन्त्रालयसँगै भएको पाँच लाख रुपैयाँ फौजी किरा नियन्त्रणमा सकियो, सलह नियन्त्रण र किसानलाई राहत दिन बजेट छैन’ मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डितले भने, ‘रकम अभावकै कारण सलहबाट पीडित किसानलाई मन्त्रालयले राहत उपलब्ध गराउन सक्दैन, सरकारले चाहेको खण्डमा आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मा दिन सक्छ ।’ बेलाबखत आउने असिना पानी र विभिन्न रोगले बालीनाली नष्ट हुँदा पनि किसानले सरकारसँग राहतको आश गर्छन् ।

के हो सलह किरा ?

सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । यसको सिङ छोटो हुन्छ । यसको पछाडिका खुट्टा दह्रा र मोटा हुन्छन् । यो किरा समूहमा बस्न मन पराउँछ । यो सलहको वैज्ञानिक नाम क्अजष्कतयअभचअब न्चभनबचष्ब हो ।

यसले जमिनको तल बालुवामा ६०– ८० वटाको समूहमा अण्डा पार्दछ र यसले जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ । १० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ । यी बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन् ।

वयस्क ४ देखि ५ महिनासम्म बाँच्छ । वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछ भन्ने गरिएको छ । यो सलह किराले न्यानो हावापानी मन पराउँछ । जहाँ बालुवा छ त्यस्तो जमिनमा यसले बढी अण्डा पार्न रुचाउँछ । साथै जहाँ समुद्री आँधी बढी हुन्छ, त्यस्ता ठाउँमा यसलाई टाढाटाढासम्म उडाउँछ ।

तपाईको प्रतिक्रिया