डल्लो बजेटले नेकपा संसदीय दलमा लफडा

सुर्खेत, १५ असार ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको बजेटले सरकारलाई नै संकटमा पारेको छ । सत्ता पक्षकै सांसदका कारण सरकारलाई संसदबाट बजेट पास गराउन हम्मेहम्मे देखिएको हो । सरकारले ल्याएको एकमुष्ठ बजेटलाई योजनागत रुपमा टुक्राउन सांसदहरुले दबाव दिएका छन् । डल्लो बजेटलाई नटुक्राएको खण्डमा संसदबाट बजेट पास हुन नदिने र मन्त्रीकै राजीनामा माग्ने तयारीमा सत्तापक्षकै सांसदहरु लागेका छन् ।


सरकारले आगामी वर्षका लागि ल्याएको ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमध्ये योजना विनै रोजगारी, भोकमरी र कोरोना महामारीमा छुट्याएको एकमुष्ठ बजेट योजनागत रुपमा टुक्राउनु पर्ने सांसदहरुले बताउँदै आएका छन् । यही डल्लो बजेटकै कारण शनिबार र आइतबार बसेको सत्तारुढ दल नेकपा संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । ‘डल्लो बजेटलाई योजनागत रुपमा छुट्याउने र बजेट पास गराउने भन्ने विषयमा बैठक केन्द्रित छ, तर दुई दिनसम्म केही निर्णय गर्न सकेको छैन’ बैठकमा सहभागी एक सांसदले भने, ‘ योजना विनै छुट्याइएको डल्लो बजेट नटुक्राए मन्त्रीको राजीनामा माग्ने तयारी छ ।’

विशेषगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ६ अर्ब १८ करोड ४६ लाख ६८ हजारलाई टुक्राउनुपर्ने र वडा तहसम्मका योजना छनौट गरेर बजेट छुट्याउनुपर्ने सांसदहरुले माग राखेका छन् । ‘गतवर्ष डल्लो बजेट राखेर मन्त्रीका आफन्तलाई बाँडियो, वडाका योजनामा बजेट गएन । सुशासन हरायो’ ति सांसदले भने, ‘बजेटमा सधै सरकार चुक्दै आएको छ, अब सहेर बस्ने समय छैन । कि सरकारले डल्लो बजेट टुक्राउँछ, नभए मन्त्रीको राजीनामा मागिन्छ, संसदबाट बजेट पास हुँदैन ।’ डल्लो बजेट पास गर्दा दुरुपयोग हुने, विकास निर्माणले गति नलिने र सत्तारुढ दलको लोकप्रियता घट्ने भन्दै जसरी पनि डल्लो बजेट टुक्राउनुपर्ने सांसदहरुले अडान कसेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार