आन्दोलनमा सहभागी हुन स्थायी जागिर छोडिदिएँ

हरेक व्यक्तिको जीवन संघर्षका क्रममा आआफ्नै भोगाइ र अनुभव हुन्छन् । त्यस्ता जीवन संघर्षभित्र प्रेरणा, पीडा र अवसरका कथा लुकेका हुन्छन् । समाजमा पढेर सरकारी जागिर खानैपर्छ भन्ने मान्यता अहिले पनि कायमै छ । तर सरकारी जागिर छाडेर कृषि कर्मदेखि राजनीतिमा होमीनेहरुको पनि संख्या कम छैन । त्यसै मध्येका एक उदाहरण पात्र हुन्, कमलराज रेग्मी । हाल नेपाली कांग्रेस सुर्खेतका सभापतीसमेत रहेका रेग्मीले आजको जम्काभेटमा आफ्नो जीवन संघर्षको अनुभव साँटेका छन् । प्रस्तुत छ, उनकै शब्दमा :-

कमलराज रेग्मी
सभापती, नेपाली काँग्रेस, सुर्खेत

बाल्यकाल रमाइलो :
२०२४ चैत्र १० गतेका दिन सुर्खेतको लेलबेशी नगरपालिकामा मेरो जन्म भएको हो । जसरी म हुर्किदै गएँ, त्यसरी नै घरपरिवारको पनि धेरै माया पाएको थिएँ । मध्यम बर्गिय परिवारमा मेरो जन्म भएकाले बाल्यकालमा पनि खासै दुख र सुखको अनुभुती गर्न पाइएन । बाल्यकालमा जे पायो, त्यो नै खुसी र जे सोच्या,े त्यो नै महत्वकांक्षी कुरा हुन्थ्यो ।

मैले मेरो गाउँ नजिकैको जीवनज्योति माध्यामिक विद्यालयमा कक्षा ४ सम्म पढेँ । पछि परिवारको वीरेन्द्रनगर बसाइसराइँका कारण जनउच्च माध्यामिक विद्यालयमा कक्षा ५ भर्ना भएँ । मैले त्यही विद्यालयबाटै एसएलसी पनि पास गरेँ । डिप्लोमासम्मको अध्ययन पुरा गरेको छु । तर बाल्यकालको क्षणहरु रमाइलो नै महशुस हुन्छ ।  त्यतीबेला साथीहरुसँग रमाएकोदेखि खेलेका पलहरु अहिले पनि ताजै लाग्छ । बाल्यकालका घरायासी कामले बनपाखा, मेलापात गरेको क्षण मेरा लागि अविस्मरणीय र प्रेरणाको स्रोत हुन् । बाल्यकालमै जिन्दगी जिउने कलादेखि भविष्यका सपनाहरु देख्न सिकियो ।

रेडक्रसबाट समाज सेवामा :
मेरो बाल्यकालको सोच भनेकै समाज सेवामा लाग्नुपर्छ भन्ने थियो । आफ्नो व्यक्तिगत स्वार्थभन्दा समाजको हितका लागि काम गर्नुपर्छ भन्ने मेरो सोचाइ थियो । गाउँका सामाजिक काम लाग्ने भनेपछि म सानैदेखि हुरुक्कै हुन्थ्येँ । भविष्यमा समाज सेवाका लागि केही गर्छु भन्ने मेरो सानैदेखिको लक्ष्य हो । समाज सेवाप्रतिको भावना विकास हुदै भएपछि सोहीअनुसार काम पनि गर्न थालेँ । विद्यालयमा पढ्दा पनि कक्षाको ग्रुप लिडर हुन्थ्येँ । ग्रुप लिडर बनेर एउटा कक्षाको भए पनि नेतृत्व गर्दै माध्यामिक शिक्षा हाँसिल गरेँ । म कक्षा ४ मै पढ्दा नेपाल जुनियर रेडक्रस सर्कलको सदस्य भएको थिँए । त्यसछि सचिवमा पनि निर्वाचित भएँ । बाल्यबालदेखिद नै सामाजिक सेवामा लागेर समाजको दुख, सुखमा रमाउने मेरो रुची थियो ।

बहुदलका लागि राजनीतिमा होमिएँ :
सानैदेखि समाज सेवाप्रतिको मेरो भावना अनुसार मैले समाज सेवा गरेर सन्तुष्टी कमाएको छु । समाज सेवाकै भावनाले मलाई राजनीतिको बाटोमा डो¥र्याएको हो । म एसएसली पास गरेर क्याम्पस पढ्दै थिएँ । त्योबेला खानेपानीमा पनि काम गर्थेँ । २०४५ मा मैले सरकारी जागिर खाने अवसर पाएँ । साविक कुनाथरी २ स्थित प्रावि रक्सेनीमा म स्थायी शिक्षक नियुक्त भएको थिएँ । त्योबेला म नेविसंघ सुर्खेतमा पनि आवद्ध थिएँ । त्यहीबेला देशमा बहुदलिय व्यवस्थाका लागि देशभर आन्दोलनका कार्यक्रम भए । मैले पनि त्यहीबेला विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुपर्ने भयो ।


जनताको मुक्तिका लागि आन्दोलनमा होमिनुपर्ने भएपछि शिक्षकको स्थायी जागिर नै छोडिदिएँ । २०४८ मा नेविसंघको सचिव भएँ । २०४९ देखि ५३ सम्म नेविसँघकै दुई कार्यकाल जिल्ला अध्यक्षको नेतृत्व गरेँ । ०५३ देखि दुई कार्यकाल केन्द्रिय सदस्य भएँ । त्यसपछि नेपाली कांग्रेस वडा, नगर सभापती हुदै तीन कार्यकाल क्षेत्रिय सभापती भएर नेतृत्व गरेँ । यसरी अघि बढ्दै गएको मेरो राजनीतिक यात्राले अहिले जिल्ला सभापती भएर पाटीको नेतृत्व गर्ने अवसर पाएको छु । राजनीतिक यात्राले मैले सरकारी जागिर ल्यागे पनि मलाई कुनै पछुतो छैन । मैले त्योभन्दा बढी राजनीतिबाटै समाज सेवा गर्ने मौका पाएको छु । राजनीतिक यात्रामा पाटी र व्यक्ति प्रतिको मेरो त्याग, इमान्दारीता र लगावका कारण अहिले सबैले मलाइ विश्वास गरेका छन् । म पनि यसैमा सन्तुष्ट छु । यस यात्रामा मलाइ मेरो घर परिवारको ठुलो साथ सहयोग छ ।

बाबा बिरामी हुँदा म जेलमा :
राजनीतिक यात्रामा मैले धेरै अनुभव लिएको छु । चाहे त्यो कुटाइ खाएर जेल परेकोदेखि समाजका दुखिहरुलाई सेवा गर्दाको होस् । राजाले राज्यसत्ता हातमा लिएपछि २०६२/०६३ मा ठुलो आन्दोलन भयो । त्योबेला मैले पनि सुर्खेतमा हुने आन्दोलनको नेतृत्व गरिरहेको थिएँ ।
आन्दोलनको नेतृत्व गरेकै कारण मलाइ जेल हालियो । सडकमा आन्दोलन चर्किरहेको थियो । मनमा आक्रोश दन्किरहेको थियो । घरमा बाबा सिकिस्त विरामी हुनुहुन्थ्यो । छोरो सानै थिए । श्रीमती साना बच्चा सम्हाल्दै आफ्नो जागिर धानी रहेकी थिईन् । उनको जागिर पनि टाढा भएकाले निकै दुख पाइन् । म जेलमै थिएँ । घरमा बाबा सिकिस्त बिरामी भएको खबर आफन्तहरुले जेलमै पु¥याए । बिरामी बाबालाई गाहे भएकाले अन्तिम पल्ट भेट्न बोलाएपछि मैले पनि बाबालाई भेट्ने निधो गरे । मेरो आग्रहपछि शसस्त्रको गाडीमा राखेर मलाई घर लगियो ।

घर वरिपरी शसस्त्रको घेराबन्दी गरेर मलाई बाबा भेट्न लगाईयो । त्यो दृष्य देखेर गाउँलेदेखि आफन्तहरुको रुवावासी चल्यो । मैले पनि मेरो मन थाम्न सकिन । उफ…अहिले पनि त्यो क्षण सम्झिदा मन दुख्छ । त्यो बेला बाबाको उपचार गर्न नपाएकोमा मलाई साहै पछुतो लागेको छ । पछि म जेलबाट चैत्र २३ गते रिहा भएँ । बाबा अन्तिम अवस्थामा पुग्नु भएछ । म जेलमुक्त भएको तीन दिनमै बाबा पनि रहनु भएन । राजनीतिक यात्राले जेल रहदाँ बाबाको उपचार गर्न नपाएकोमा मलाइ ठुलो पछुतो लागेको छ ।

ठुलै महत्वकांक्षा छैन :
राजनीतिमा मैले समय र परिस्थीति अनुसार चल्न सिकेको छु । जीवन बुझेको छु । अबको बाँकी जिन्दगी पनि राजनीतिमै बिताउँछु । यसैबाट देश र जनताको सेवा गर्छु । मलाइ जहाँ प्रोत्साहन हुन्छ, जहाँ साथ सहयोग मिल्छ ।  म त्यही काम गर्नेछु । मसँग राजनीतिमा ठुलै महत्वकांक्षा छैन । समय र संस्थाको माग अनुसार म काम गर्नेछु । पाटीको नेतृत्व गर्नेछु । तर यो हुनैपर्छ र दिनुपर्छ भन्ने मेरो सोच छैन । कुनै ठुलै पद र ठाउँ चाहिन्छ भन्ने महत्वकांक्षा पनि छैन । पाटीले आवश्यक ठानेर मलाइ जुन जिम्मेवारी दिन्छ, म त्यही काम गर्नेछु । मेरो बाबा र आमा एक सामान्य कृषक भएकाले मैले उहाँहरुबाट सिकेको प्रेरणा र सत्कर्मको बाटो कहिले छोड्ने छैन । जिन्दगीमा धेरै प्रगती गर्न नसकिए पनि परिवार, समाज र देशमा कहिल्यै अशान्ती नहोस् ।

मेरो अनुरोध :
यतीखेर कोरोना माहामारीले विश्व आक्रान्त छ । कोरोनाका कारण कर्णालीका नागरिकले पनि सास्ती खेपेका छन् । हुने खानेलाई त यो बेला सकस छ भने हुँदा खानेलाइ कति समस्या होला ? तर यहाँका स्थानीय तथा प्रदेश सरकारले जनताका दुख बुझेका छैनन् । महामारी व्यवस्थापनमा सक्दो काम गरे पनि सक्ने काम अँझै गर्न सकेका छैनन् । हामीले दिएका सकरात्मक सुझाव, सल्लाह पनि प्रतिपक्ष पाटी न हो भनेर हेरिन्छ । प्रदेश सरकारले सकरात्मक सुझाव ग्रहण गरी जनताका दुख अत्त्य गर्न भुमिका खेल्न पनि सकेको छैन । कोरोना महामारी रोकथामका नाममा भ्रष्टचार बढेको छ । क्वारेन्टाइन बस्न लायक छैनन् । प्रदेश तथा स्थानीय सरकार सँधै एक्लै चल्न खोज्छन् । यसरी हुँदैन, अब सबैको सुझाव ग्रहण गरेर जानुपर्छ । (२०७७ असार १२ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार