दशौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधारमा केन्द्रित

सुर्खेत, १४ असार ।

कर्णालीमा प्रदेश सरकारले खेलकुद क्षेत्रका लागि अघिल्लो वर्षभन्दा धेरै बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशको बजेटमा खेलकुदको पूर्वाधार विकासमा केन्द्रित रहेर बजेट विनियोजन गरिएको छ । यद्यपी यो बजेट पर्याप्त नभएको खेलकर्मीको गुनासो छ । प्रदेश सरकारले दुई वर्षपछि कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।

खेल पूर्वाधारको अभावमा हालसम्म कर्णालीमा यो प्रतियोगिता हुन सकेको छैन । तर आवश्यक पूर्वाधार तयार गरेर कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारले लविङ्ग गरिरहेको छ । यसैको पूर्वतयारी स्वरुप यसपाली खेलकुदको पूर्वाधार निर्माणमा मात्र १५ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । विनियोजन भएको बजेटबाट सुर्खेतमा प्रदेश स्तरीय रंगशाला निर्माण गरिनेछ । यो रंगशाला निर्माणमा केन्द्र सरकारको पनि बजेट परेको छ ।

यसैमा प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णालीमा हाल एउटा पनि गतिलो रंगशाला छैन । प्रदेश र जिल्ला स्तरका प्रतियोगिताहरु पनि धुलोमै हुने गरेका छन् । अर्कोतर्फ खेलाडीलाई खुलाचौर र धुलोमै अभ्यास गर्नुपर्ने बाध्यता छ । यही समस्या समाधान गर्न र दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधार निर्माणमा बजेट केन्द्रीत रहेको प्रदेश सरकारले जनाएको छ ।विनियोजन भएको सामाजिक विकास मन्त्री दल राववले बताए । ‘हामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारीमा छौं’ मन्त्री रावलले भने, ‘त्यसका लागि धेरै पूर्वाधार चाहिन्छ, बजेट यसैमा खर्च हुनेछ । ’कोरोना महामारीका कारण खेलकुदमा बजेट अनुसार आवश्यक पूर्वाधार निर्माण गरिने मन्त्री रावलको भनाइ छ ।

‘खेल पहिचान हो, राष्ट्रिय प्रतियोगिता हामीले आयोजना गर्नु गौरव नै हुनेछ’ मन्त्री रावलले भने,‘उक्त प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण गर्नेछौं ।’ साथै उनले यसपालीको बजेटमा खेलकुदका अन्य संरचना गठन गर्न र नियमित प्रतियोगिता संचालनका लागि पनि बजेट दुई करोड बजेट छुट्याएको बताए । आगामी आर्थिक वर्षभित्रै प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद परिषद् गठन गरिने
उनले जानकारी दिए ।

चार जिल्लामा गौरवका आयोजना

आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न कर्णालीका चार जिल्लामा गौरवका आयोजनाहरु निर्माण गरिने भएको छ । प्रतियोगिताका लागि सुर्खेत, कालिकोट, हुम्ला र जुम्लामा ती आयोजना सञ्चालन गरिने छन् । सामाजिका विकास मन्त्रालयका अनुसार सुर्खेतमा प्रदेशस्तरीय रंगशाला, हुम्लामा हाइअल्चिच्यूड रंगशाला, जुम्लामा हाइअल्चिच्यूड तालिम केन्द्र र कालिकोटको रास्कोटमा रंगशाला
निर्माण गरिने भएको हो ।

त्यस्तै हुम्लाको सिमकोटस्थित रंगशालाको स्तरोन्नती गरेर प्रदेशको हाइअल्चिच्यूड रंगशालाका रुपमा विकास गरिनेछ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उद्देश्यका साथ कालिकोटको रास्कोटमा तीन वर्षदेखि रंगशाला निर्माण भइरहेको छ । सुर्खेतमा भने वीरेन्द्रनगरकै रंगशालालाई स्तरोन्नती गर्ने वा नयाँ ठाउँ खोज्ने भन्ने विषयमा टुङ्गो लागेको छैन । दशैं प्रतियोगिताका लागि रुकुपश्चिमको चौरजहारी नगरपालिकामा रहेको रंगशाला र अन्य जिल्लाको हकमा सदरमुकामका रंगशालाको स्तरोन्नती गरिने सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखाका उपसचिव जवाहरलाल हमालले जानकारी दिए ।


बजेट पर्याप्त छैन

राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा गर्न कर्णाली प्रदेश सरकारले यसपाली १५ करोड ४० लाख बजेट छुट्याएको छ । तर पूर्वाधार निर्माणका लागि प्रदेशले छुट्याएको बजेट भने कनिका छरेजस्तो भएको खेलाडीहरुले बताएका छन् । बजेट प्रर्याप्त नभएको भन्दै प्रदेशका खेलाडी, प्रशिक्षक र खेलप्रेमी सन्तुष्ट छैनन् ।

सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले भने, ‘प्रदेश सरकारले विनियोजन गरेको बजेट पर्याप्त छैन, त्यो बजेटले एउटा रंगशाला पनि निर्माण हुँदैन । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि हामीले सबै पूर्वाधार बनाउनु छ, तर यसपालीको बजेट कनिका छरेजस्तो दखियो ।’खेल पूर्वाधार कर्णालीमा शुन्य रहेको भन्दै उनले धुलोमै खेलाएर राष्ट्रियप्रतियोगिता आयोजना गर्न सम्भव नभएको बताए ।

यस्तै उसु खेलका प्रशिक्षक प्रदिप राईले पनि अघिल्ला वर्षको तुलनामा बजेट धेरै विनियोजन भए पनि पूर्वाधार निर्माणमा कम हुने बताए । उनले भने,‘आजको दिनमा पनि हामीले धुलोमा खेल्नुपर्ने अवस्था छ, राष्ट्रिय प्रतियोगिताका लागि त पूर्वाधार चाहिन्छ । त्यसैले अहिलेबाटै पर्याप्त बजेट छुट्याउनुपर्छ, अब स्थानीय तहले पनि खेल पूर्वाधारमा बजेट विनियोजन गर्नुप¥यो ।’

खेलकुदले मानिस स्वस्थ हुने भन्दै उनले खेलकुदमा लगानी भए अस्पतालहरुमा खर्च गर्नुपर्ने अवस्था नआउने दाबी गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार