४३ लाखको स्वास्थ्य तथा खाद्यान्न सहयोग

दैलेख, १४ असार ।  कोरोना भाइरसको महामारीका क्रममा दैलेखका संघसंस्थाले सहयोगी हात अघि बढाएका छन् । कोरोनासँग जुध्न दैलेखका दश र अछामको एक स्थानीय तहमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले लाखौँ रुपैयाँ बराबरको स्वास्थ्य तथा खाद्यान्न सहयोग गरेको छ ।

डीसीए नेपालको आर्थिक सहयोगमा संस्थाले दैलेखका दुल्लु, आठबिस, नारायण, चामुण्डाविन्द्रासैनी नगरपालिका र नौमुले, महाबु, गुराँस, भगवतिमाई, ठाटिकाँध र भैरबी गाउँपालिका तथा अछामको पञ्चदेवल विनायक नगरपालिकामा सहयोग गरेको हो । ४३ लाख १२ हजार पाँच सय ३३ रुपैयाँ बराबरको स्वास्थ्य तथा खाद्यान्न सामग्री सहयोग गरिएको हो ।

स्थानीय तह, स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र क्वारेन्टाइन व्यवस्थापनका लागि सामग्री सहयोग गरिएको हो । स्वास्थ्य सामग्रीहरु पीपीई, गम बुट, सर्जिकल मास्क, के एन ९५ मास्क, सेनिटाइजर, हात धुने साबुन, थर्मामिटर लगायतका सामग्री रहेको संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । स्थानीय तहको आवश्यकताका आधारमा सहयोग गरिएको श्रेष्ठको भनाइ छ । त्यस्तै स्थानीय तहमार्फत दैनिक ज्यालादारी गर्ने मजदुर, अति विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई खाद्यान्न वितरण  गरिएको छ । वादी समुदाय, एकल
महिला, एचआईभी संक्रमित, अपांगता भएका व्यक्ति तथा अतिविपन्न परिवारलाई लक्षित गरेर खाद्य सामग्री स्थानीय तहमार्फत वितरण गरिएको श्रेष्ठले जनाए ।


कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेपछि दैनिक जीवन कष्टकर बनेका परिवारलाई चामल, तेल, नुन, दाल,
चिनी, चियापत्ती लगायतका खाद्यान्न सहयोग गरिएको हो । ती नागरिकलाई खाद्यान्नसहित स्वास्थ्य सामग्रीहरु साबुन, सरफ, मञ्जन, ब्रस, सेनेटरी प्याड समेत प्रदान गरिएको छ । संस्थाद्वारा सहयोग सामग्री आवश्यकता अनुसार विभिन्न समुदाय,क्वारेन्टाइन स्थल, स्वास्थ्य स्थाहरुमा
वितरण गरिसकेको स्थानीय तहले जनाएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाका मेयर देवराज देवकोटाले महामारीसँग लड्न स्थानीय तहको एक्लो प्रयासले मात्रै नपुग्ने भएकाले गैरसरकारी संस्थाहरुले सहयोग गरेको बताए ।

‘स्वास्थ्य सामग्रीको अभाव भइरहेका बेला विभिन्न निकायबाट यसरी सहयोग पाउँदा खुसी लागेको छ,’ मेयर देवकोटा भन्छन्, ‘दैनिकी कष्टकरबनेका ज्यालामजदुरी गरेर गुजारा गर्ने अतिविपन्न परिवारको खाद्यान्न सहयोग पाएका छन् ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार