भेरीगंगाको बजेट : कृषिलाई प्राथमिकता

सुर्खेत, ११ असार । सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कृषि, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष जोड दिएको छ । बजेटले कृषि, पशुपालन तथा फलफूलमा देखिएको परम्परागत र निर्वाहमुखि प्रणालीमा परिवर्तन गरी आधुनिकीकरण, विविधिकरण, बजारीकरण र प्रांगारिक खेतीमा जोड दिएको छ ।

कृषि पूर्वाधारको आवश्यक व्यवस्था, कृषि विमा, कृषि तथ्यांकलाई अध्यावधिक गरिने, मौरीपालन तथा च्याउ खेती प्रवद्र्धन, साविकका लेखपराजुल, रामघाट र मैनतडामा कृषि सेवा केन्द्र स्थापना गरिने नगरपालिकाको आगामी नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि पेशालाई गौरबको पेशाको रुपमा विकास गर्न उत्कृष्ट कृषक पुरस्कार जस्ता कार्यक्रम सञ्चालन गरिने छ । विदेशबाट स्वदेश फर्किएका युवाको पहिचान गरी अनुदान मार्फत कृषि (च्याउ, मौरी, अदुवा, बेसार, टिमुर, बदाम, तरकारी, फलफुल) व्यवसाय संचालन गर्न प्रोत्साहीत गरिने भएको छ ।

त्यस्तै, प्रत्येक स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन, वडा नं. १२ मा २५ शैयाको अस्पताल स्थापना गर्नका लागि आवश्यक जग्गा खरिदको प्रक्रिया अघि बढाईने, जन्म तथा मृत्युको तथ्यांकलाई अध्यावधिक गरिने, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई आवश्यक प्रोत्साहन, रेडक्रस छिन्चुसँग समन्वय गरी प्राथमिक आँखा उपचार केन्द्र स्थापना तथा संचालन गर्न पहल गरिने छ ।


यस्तै, नगरपालिकाको भवन तथा वडा कार्यालयहरुको भवन निर्माण, भेरीगंगा नगरमा चक्रपथ निर्माण, नगरभित्र निर्माण गरीने भौतिक पुर्वाधारहरु ज्येष्ठ नागरीक मैत्री, फरक क्षमताभएका व्यक्तिमैत्री, वातावरण मैत्री र लैगिंकमैत्री बनाउन आवश्यक पहल गरिने भएको छ । यीनै कार्यक्रमलाई समेटेर भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि साढे ६२ करोडको बजेट ल्याएको छ । भेरीगंगा नगरपालिका, सुर्खेतका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले बुधवार भएको सातौं नगरसभाको पहिलो बैठकमा ६२ करोड ८८ लाख ६५ हजार सात सय दुई रुपैयाँ बराबरको प्रस्तावित बजेट पेश गरेका हुन् ।

नगरपालिका तलब भत्ता र प्रशासनिक खर्च तर्फ एघार करोड २२ लाख १८ हजार सात सय दुई, नगर तर्फ पुंजिगत आठ करोड ४४ लाख ४७ हजार, वडा समिति तर्फ चार करोड पचास लाख, बिषयगत क्षेत्र तर्फ चार करोड ५० लाख, बिशेष अनुदानमा ५० लाख, सशर्त अनुदानमा २४ करोड १२ लाख, सामाजिक सुरक्षा भत्तामा दश करोड गरी ६२ करोड ८८ लाख ६५ हजार सात सय दुई रूपैयाँ बजेट विनयोजन गरिएको छ ।

चालुतर्फ ४८ करोड ६४ लाख १८ हजार सात सय एक रुपैयाँ तथा पूँजीगततर्फ १४ करोड २४ लाख ४७ हजार बराबरको बजेट प्रस्ताव गरिएको हो । बुधवारको बैठकले नगरपालिकाको आगामी नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार