सम्पादकीय : गाउँ फर्किएकाको व्यवस्थापन

कोरोना महामारीपछि विदेश र सहरबाट गाउँ पस्नेहरुको संख्या बढेको छ । मजदुरीका लागि भारत लगायतका मुलुकमा गएकाहरु पनि अहिले गाउँ पसेका छन् । यस्तै देशभित्रै पनि रोजगारी गुमाएकाहरु कर्णाली फर्किएका छन् । कुनैबेला गाउँमा महिला, बालबालिका र बृद्धहरु मात्र भेटिन्थे । युवा र पुरुषहरु रोजगारीका लागि शहर र विदेश पस्थे । यसले गाउँमा जन्ती र मलामी पाउन पनि समस्या हुन्थ्यो । अर्कोतिर खेती गर्ने र काम गर्ने जनशक्ति नहुँदा गाउँमा बारी बाँझै हुन्थे । तर यतिबेला गाउँमा मान्छेहरु भरिएका छन् । वर्षौसम्म सहर बसेकाहरु पनि कोरोना महामारीका कारण गाउँ छिरेका छन् । कोरोना महामारी आफैमा राम्रो होइन । तर पनि कर्णालीका कारण कोरोनाले केही सकारात्मक सन्देश र अवसरहरु पनि सिर्जना गरेको छ । त्यो भनेको युवा जनशक्ति गाउँ आएको छ । यसलाई सही व्यवस्थापन र परिचालन गर्न सकेमा गाउँमा विकास निर्माणले गति लिनुको साथै मुहार पनि बदलिने सम्भावना छ ।

गाउँ फर्किएकाहरुको कारण केही चिन्ता पनि बढेको छ । मुख्यगरी भोकभरी बढ्ने आशंका गरिएको छ । धेरैलृे रोजगारी गुमाएकाले आर्थिक संकट आउने आंकलन पनि गरिएको छ । त्यतिमात्र होइन, समयमै गाउँ फिर्ता भएको जनशक्तिलाई व्यवस्थापन नगरेमा समाजमा अपराधका घटनाहरु पनि बढ्ने विज्ञहरुले चेतावनी दिएका छन् । रोजगारी गुमाएका कारण धेरैलाई छाक टार्न समस्या हुने र छाक टार्ने उपाय नभएमा अपराधमा संलग्न हुने आंशका गरिएको छ । हालसम्म भारतबाट मात्र कर्णालीमा ६० हजार नागरिक भित्रिएका छन् । अझ पनि विदेशबाट एकलाख कर्णालीबासी आउने अनुमान प्रदेश सरकारको छ । देशभित्रै पनि ठूलो संख्यामा रोजगारी गुमाएकाहरु कर्णाली भित्रिएको निजी क्षेत्रको भनाइ छ । यसकारण पनि गाउँमा वेरोजगार जनशक्ति भरिएको छ । यसको समयमै व्यवस्थापन नभए अवस्था भयावह हुने देखिन्छ । यसका लागि प्रदेश र स्थानीय सरकारले आवश्यक योजना र कार्यक्रम ल्याउनुपर्ने हुन्छ । यस्तै निजी क्षेत्रले पनि रोजगारी सिर्जना गर्ने कार्यमा लगानी गर्नु पर्दछ ।


आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले केही राम्रा कार्यक्रम ल्याएको छ । विशेषगरी कर्णालीमा कृषि उत्पादनसँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्दा धेरैले रोजगारी पाउने अवस्था छ । यस्तै अन्य विकास निर्माणका कामहरु संचालन गरेर स्थानीयलाई सहभागि गराउनु आवश्यक छ । वडा तहमै बजेट लैजाने र आवश्यकताका आधारमा स्थानीयलाई काम दिने हो भने रोजगारी मिल्न सक्छ । यस्तै निजी क्षेत्रले पनि धेरैलाई रोजगारी मिल्नेगरी व्यवसाय र उद्योग संचालन गर्न सक्छन् । स्थानीय तहले पनि अब गाउँ आएको जनशक्तिलाई रोग र भोकसँग जुध्नेगरी बजेट र कार्यक्रम ल्याउन जरुरी छ । यसो भएमा वेरोजगारीको अवस्था रहेको जनशक्तिलाई यो कोरोना महामारीमा पनि रोजगारीका अवसरहरु दिएर आत्मनिर्भर बनाउन सम्भव हुनेछ । यसले रोजगारी गुमाएर गाउँ फिर्ता भएकाहरुलाई व्यवस्थापन गर्न पनि सहज हुनेछ । (युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार