महामारीमा स्थानीय निकायको लापरवाही

समुदायस्तरमा फैलियो कोरोना

दैलेख, ९ असार ।

कर्णाली प्रदेशमा जेठको पहिलो हप्ता दैलेखको आठबीस नगरपालिकाका एक ३५ वर्षीय युवामा कोरोना पुष्टि भयो । भारतमा मजदुरी गर्न गएर जिल्ला आएका उनमा पहिलो पटक कोरोना पुष्टि भएसँगै दैलेखमा मात्र नभई कर्णालीमा एक प्रकारको कोरोना सन्त्रास फैलियो । प्रदेशका १० जिल्ला मध्ये दैलेखमा जेठ पहिलो हप्ता पहिलो पटक देखिएको कोरोनाले व्यवस्थापनमा लाग्न स्थानीय सरकारलाई झस्काएको भए पनि भारत बाट जिल्ला आउनेहरुलाई कहाँ कसरी राख्ने भन्ने तर्फभन्दा पनि जिल्लाका सरोकारवालाहरुले त्यता खासै ध्यान नदिई कोरोनालाई ख्यालख्याल सम्झिएपछि दैलेख कोरोनाको इपिसेन्टर बनेको छ । भारतमा रोजगारीमा गएकाहरु जिल्ला फर्किनु नै कोरोना भित्रिनुको प्रमुख कारण भएको सरोकारबालाको दाबी छ ।

तर स्थानीय भने सरोकारवाला गम्भीर लापवाहीले दैलेख कोरोनाको केन्द्र बनेको आरोप लगाउँछन् । भारतबाट आएका नागरिकको समयमै कोरोना परीक्षण नहुनु, क्वारेन्टाइन व्यवस्थित नहुनु, क्वारेन्टाइनमा मानिसलाई हुलेर राखिनु, सरसफाइमा ध्यान नदिनु, आइसोलेसनको नाममा स्वास्थ्यकर्मीविहीन मापदण्ड विपरीत क्वारेन्टाइनमा बिरामी राखिनु दैलेखमा कोरोना फैलिनु मुख्य कारण देखिएका छन् । व्यवस्थापनमा कमजोरी कर्णालीमा कोरोनाले पहिलो दैलेखलाई छोएको भए पनि जिल्लामा कोरोना व्यावस्थापन कमजोरीका कारण अहिले प्रदेश नै कोरोनामय बन्ने खतरामा छ ।

भारतमा दैलेखबाट रोजगारीमा जिल्लाका ३० देखि ४० प्रतिसतसम्म नागरिक जाने गरेका छन् । भारतबाट आएका दुई सयभन्दा बढी नागरिकलाई नारायण क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । उक्त क्वारेन्टाइमा राखिएका केहीमा कोरोना पोजेटिभ देखियो । कोरोना भएका र नभएका सबैलाई एकै ठाउँमा राखेपछि स्थिति झनै नाजुक बन्दै गयो । केही दिनपछि मात्र पोजेटिभ देखिएकालाई अन्तै सारिएको थियो ।

भारतबाट दैनिक दुई हजारसम्म नागरिक जिल्ला भित्रिए । स्थानीय तहले उनीहरुलाई उचित व्यवस्थापन नगरिँदा संक्रमणको जोखिम बढ्दैगयो। तर स्थानीय सरकार भने कोरोना व्यवस्थापनमा आफूले सकेको जति गरेको बताउँदै आएका छन् । जिल्ला समन्वय समिति दैलेखका सदस्य बालकृष्ण केसीका अनुसार जिल्लामा कोरोनाले महामारी लिनुमा व्यवस्थापन नै मुख्य कमजोरी रहेको बताए । उनले भने, ‘क्वारेन्टाइनमा बसालिएकाको समयमा परीक्षण नगरिनु, कोरोना पुष्टि भएकालाई होम क्वारेन्टाइनका नाममा घर पठाउनुले पनि दैलेखमा समुदायमा कोरोना पुगेको उनको तर्क छ ।

कोरोना पुष्टिपछि घर, नहुँदा क्वारेन्टाइन जिल्लाका स्थानीय सरकारले पछिल्लो समय भारतलगायत अन्य मुलुकबाट आएकालाई कोरोना संक्रमण पुष्टि भएपछि उल्टो बाटो अपनाउँदै घर पठाउने गरेका छन् । नारायण नगरपालिकामा दुई सयभन्दा बढी कोरोना संक्रमित रहे पनिसबैलाई आइसोलेसनमा राखिएको छैन । कोरोना पुष्टि भएकालाई सुरक्षित आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने ुन्छ। तर नगरपालिकाले दुई सय दुई जनामध्ये एकसय ८८ जनालाई घर पठाएको छ । तीमध्ये केही मात्र कोरोनामुक्त हुन् । क्वारेन्टाइनको नाममा पालमुनि जनतालाई राख्दै आएका स्थानीय सरकारले कोरोना देखिएकालाई समुदायमा पठाउने गरेको छ । नारायण नगरपाकिाल स्वास्थ्य शाखा प्रमुख नगेन्द्रबहादुर हमालका अनुसार कोरोना संक्रमितलाई क्वारेन्टाइन बसाइ अवधि काटेकालाई घर पठाइएको जिकिर गरे ।

जिल्ला स्तरको कोभिड १९ रोकथाम समितिले माथिको निर्णयअनुसार नै लक्षण नभएकालाई घर पठाएको उनले तर्क गरे । यता कोरोना विपत् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले पनि स्वास्थ्य मन्त्रालयको गाइडलाइनअनुसार संक्रमितलाई घर पठाइएको बताए । दैलेखमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसके स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मी पनि स्विकार्छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तहका कर्मचारीमा कोरोना संक्रमण देखिनुले यसको पुष्टि गरेको उनको भनाइ छ । (थाहाखबर)

तपाईको प्रतिक्रिया