जुनिचाँदेमा छोरी जन्मिए रु. १० हजार !

हेमन्त केसी (रासस)
जाजरकोट, ९ असार ।
जुनिचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नवित्दै गाउँपालिकाका कार्यबहाक अध्यक्ष शिवा आचार्य उहाँको घर दैलोमा पुग्नुभयो । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवहाक अध्यक्ष आचार्य घरमै पुगेर सन्चो, विसन्चो सोध्दै परिवारका सवैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चाँसो, चिन्ता लिदादंग भएको शाही बताउनुभयो ।

सुत्केरी भएपछि आफन्तहरु भेटन त आउनुभएको थियो भन्दै उहाँले भन्नुभयो, “यसपाला गाउँपालिकाकी कार्यवहाक अध्यक्ष आएर सवै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने , बच्चाको स्याहार ,शुसारका विषयमा कुरा गर्नुभयो । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यालाई जानकारी दिनुभयो । ”

सवैलाई सम्झाई, बुझाई गरेर कुखुरा किनेर खानु भनि रु. १ हजार ५००, स्थानीय तोरीको तेलका लागि रु.५०० र बच्चाको कपडा किन्नका लागि रु.५०० दिनुभयो, शाहीले भन्नुभयो । हामी जस्ता निम्न अवस्था भएका परिवारका लागि यो सहयोग असाध्य राम्रो भएको भन्दै शाहीले थप्नुभयो, “मैले छोरीको जन्म दिएकै कारण थप रु. १० हजार समेत पाएको छु ।”

उहाँ जस्तै गाउँपालिका भित्र सुरक्षित रुपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुँने दर कम भएपछि गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कार्यक्रम राखेर सुत्केरी खोज्दै कावा अध्यक्ष आचार्य घर, घरमा पुगिरहनुभएको छ । उहाँ सुत्केरीको घरमा पुगेर बिभिन्न शीर्षकमा रहको रु.२ हजार ५ सय रुपैयाँ दिँदै अब अर्को पटक सुत्केरी भएमा स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुन समेत आग्रह गरिरहनुभएको छ ।
भौगोलिक रुपमा विकट र सवै ठाउँमा यातायातको पहुँच नभएको जुनिचाँदेमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमले जनतासँग भेटघाट मात्र नभई जनचेतना फैलाउने काम समेत भएको छ ।

यो शीर्षकमा मात्र १४ लाख ७० हजार रकम बिनियोजन गरी सोही अनुसारको काम भईरहेको छ । सुत्केरी हुन बितिकै आर्चायको मोवाईलमा फोन आउने गरेको छ । गाउँपालिका भरी जम्मा ४०० सुत्केरी महिला भएको आकलन गरी अहिले सबै वडामा भेटघाटका कार्यक्रम तिव्र बनाएको छ । वडा १ मा ७० जना, वडा २ मा ४७ जना, वडा ३ मा ३६ जना सुत्केरीसँग बढी छलफल भएको कावाध्यक्ष आचार्यले बताउनुभयो ।

गाउँपालिका भरी ४ ठाउँमा मात्र बथिङ सेन्टर रहेका छन् । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र–१ स्वास्थ्य चौकीको संख्या–४ ,उपस्वास्थ्य चौकी–१ र सामुदायिक स्वास्थ्य केन्द्रहरु–११ वटा रहेका छन् । महिला स्वंयमसेविकालाई प्रोत्सहान स्वरुप गाउँपालिकाले छुटै बजेटको व्यवस्था गरी गर्भवती तथा सुत्केरीको घरमा गएर भेटघाट तथा स्वास्थ्य परामर्श दिने व्यवस्थासमेत गरिएको छ । स्वास्थ्यमा समस्या देखिएका गर्भवती तथा सुत्केरीका लागि महिला स्वयंमसेविकाले नै घरपरिवारको सहयोगमा स्वास्थ्य संस्था लिने गरेको जुनिचाँदे गाउँपालिका–११ की महिला स्वयंमसेविका गौरीकला बस्नेतले जानकारी दिनुभयो । प्रत्येक महिनामा एक पटक गाउँमा स्वंयमसेविकाको उपस्थितीमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम हुँदै आएको बस्नेतले जानकारी दिनुभयो ।

गाउँपालिकाले २० लाख रुपैयाँ बिनियोजन गरी छोरी जन्मिएको घर १० हजारका दरले उपलव्ध गराउँदै आएको छ । छोरी बचाउ, छोरी पढाउ र छोरी बढाउ भन्ने कार्यक्रम गरी छोरी जन्मिएको घरमा १० हजार रकम दिँदै आएको कावाध्यक्ष आचार्यले बताउनुभयो । छोरीप्रति हेर्ने दृष्टिकोण बदल्नका लागि यो कार्यक्रम लागु गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । यो कार्यक्रम लागु भएसँगै छोरी जन्मि बित्तिकै हेला गर्ने प्रवृत्ती ह्वातै घटेको समेत उहाँले बताउनुभयो । राज्यले नै छोरीप्रति सम्मान गर्दा हामीले किन हेपाह प्रवृत्ती देखाउने भन्दै स्थानीयवासीहरु आफूहरुले गलत दृष्टिकोण राखेको जुनिचाँदे गाउँपालिका ५ का पदम खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया