कोरोना महामारीमा स्कुल संचालन गर्दा कति जोखिम ?

सुर्खेत, ८ असार ।
कोरोना महामारीसँगै देशभरका विद्यालयहरु बन्द छन् । शहरका केही विद्यालयहरुले अनलाइन, रेडियो तथा टेलिभिजनबाट कक्षा लिइरहेका छन् । तर कर्णालीका अधिकांश विद्यार्थीहरुसँग अनलाइन र टेलिभिजनको राम्रो पहुँच छैन । मुगु, हुम्ला र डोल्पा जस्ता दुर्गमका विद्यार्थीको लागि एक मात्र विकल्प रेडियो हो । तर रेडियो पनि सबैको पहुँचमा छैन ।

वैकल्पिक माध्यमबाट विद्यार्थीहरुको पढाइ असम्भव भएपछि सुर्खेतको एक विद्यालयले सामाजिक दुरी कायम गरेर स्कुलमै पठनपाठन सुरु गरेको छ । वीरेन्द्रनगर–१२ मा रहेको अमरज्योति माध्यमिक विद्यालयले आइतबारदेखि सामाजिक दुरी कायम गरेर पढाउन सुरु गरेको हो । पहिलो दिन भएका कारण ट्राइलको रुपमा कक्षा ७ का २० जनालाई मात्रै अध्यापन गराएको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । ‘ट्राइलका रुपमा २० जना विद्यार्थीलाई पढायौंँ, अब यसैगरी हरेक दिन पढाइ हुन्छ’ थापाले भने, ‘जोखिम क्षेत्रबाट आएका विद्यार्थीहरुलाई होम क्वारेन्टाइन बसेपछि मात्रै विद्यालयमा प्रवेश दिइनेछ ।’

रेडियो, टेलिभिजन र अनलाइनबाट पढाउन सम्भव नभएका कारण सामाजिक दुरी कायम गरेर विद्यालय सञ्चालन गर्नुको विकल्प नरहेको प्रधानाध्यापक थापाको कर्त छ । ‘२० जना विद्यार्थीमध्ये एक जनासँग मात्रै कम्प्युटर र नेटको पहुँच रहेछ, १९ जना विद्यार्थीसँग टेलिभिजन छैन’ उनले भने, ‘वैकल्पिक माध्यमबाट पढन पाठन सम्भव नभएपछि सामाजिक दुरी कायम गरेर विद्यालय सञ्चालन गरेका हौँ ।’ यद्यपी कोरोना संक्रमणबाट बच्न घरदेखि स्कुल आउँदासम्म कसैसँग हेलमेल नहुने र विद्यालयभित्र सामाजिक दुरी कायम गरेर पठनपाठन थालिएको उनको भनाइ छ ।

‘अभिभावकलाई विद्यार्थीलाई घरदेखि स्कूलसम्म सुरक्षित पठाउन अनुरोध गरेका छौँ ।’ उनले भने, ‘विद्यालयको गेटदेखि कक्षा कोठाभित्र सुरक्षाका सबै उपाय अपनाइएको छ ।’ तर संक्रमित बढी देखिएका क्षेत्र अर्थात दैलेख र सल्यानका विद्यार्थीहरुलाई भने केही दिन होमक्वारेन्टाइनमा बसेपछि मात्रै विद्यालयमा प्रवेश गराउने उनको भनाइ छ । ‘गेटमै विद्यार्थी कुन ठाउँबाट आएको हो, स्वास्थ्य अवस्था के छ भनेर बुझ्छौँ, मास्क, सेनिटाइजर प्रयोग गरेरमात्रै कक्षा कोठामा प्रवेश गराएका छौँ ।’ थापाले भने, ‘सामाजिक दुरी कायम गर्न एउटा बेन्चमा एउटा विद्यार्थीमात्रै बसालेका छौ ।’

आगामी दिनमा शिक्षक, अभिभावक र विद्यार्थीको सहमतिमा सबै कक्षाहरु सञ्चालन गरिने उनको भनाइ छ । सबैको सहयोग मिलेको खण्डमा तीन सिफ्ठ अर्थात (विहान, दिउँसो र बेलुका) गरेर पठनपाठन सुरु गर्ने विद्यालयले तयारी गरेको छ । हाल विद्यालयमा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट लगायताका झण्डै दुई हजार हारहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । त्यस्तै बालअधिकारकर्मी आत्माराम भट्टराइले पनि संक्रमण कम भएको क्षेत्रका विद्यालयहरु खोल्नुपर्ने बताउँछन् । कर्णालीमा रेडियो, टेलिभिजन र इन्टरनेटको अभाव रहेको बताउँदै उनले सामाजिक दुरी कायम गरेर विद्यालय सञ्चालन गर्न सकिने बताए । कोरोना नदेखिएका सबै पालिकाका विद्यालयहरु सञ्चालन गर्न सकिने उनको तर्क छ ।

स्कुल संचालनबारे स्थानीय तहले निर्णय लिन सक्छन्
कर्णाली प्रदेश सरकारले भने कोरोना महामारीको बेलामा स्कुल खोल्ने वा नखोल्ने भन्ने अधिकार स्थानीय तहमा निर्भर हुने बताएको छ ।
‘स्कुल सञ्चालनका सम्बन्धमा संघीय सरकारले कार्यविधि बनाएको छ, कार्यविधि अनुसार प्रत्येक स्थानीय सरकारले आवश्यक निर्णय गर्नसक्छ’ सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाका प्रमुख विष्णुप्रसाद अधिकारीले भने, ‘स्थानीय तह, वडा कार्यालय, विद्यालय र अभिभावको समन्वयमा जोखिमको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सक्छन् ।’


कोरोना नियन्त्रणमा चुनौति थपिएको बताउँदै उनले विद्यालयहरु पूर्णरुपमा सञ्चालन गर्नेबारे मन्त्रालयले तत्काल निर्णय नलिने बताए । ‘हिमाली क्षेत्रमा कोरोनाको जोखिम कम हुँदा केही विद्यालयहरु खोल्ने निर्णय गरिएको थियो, तर त्यहाँ संक्रमण बढेपछि उक्त निर्णय कार्यान्वय गर्न सकिएन’ अधिकारीले भने, ‘अहिले नै विद्यालय सञ्चालन गर्ने विषयमा प्रदेशले निर्णय लिन सक्दैन ।’

‘५ कक्षाभन्दा तलकालाई स्कुलमा नबोलाऔं’
स्वास्थ्यकर्मीहरुले भने कक्षा ५ भन्दा तलका विद्यार्थीलाई स्कुलमा नबोलाउन सु्झाव दिएका छन् । सावधानी अपनाएर कक्षा ६ भन्दा माथिका कक्षाहरु संचालन गर्न सकिने भए पनि तल्लो तहका कक्षाहरु संचालन गर्दा जोखिम हुने चिकित्सकहरुको भनाइ छ । संक्रमण बढिरहेको भन्दै चिकित्सकहरुले अहिले नै कक्षा ५ भन्दा मुनिका बालबालिकालाई स्कुलमा बोलाएर पढाउन हतार हुने बताएका छन् ।

साना बालबालिकालाई सामाजिक दुरी कामय गराउन कठिन हुने र बालबालिकाकै कारण संक्रमणको जोखिम बढ्ने उनीहरुको भनाइ छ । ‘साना बालबालिका आफूखुशी खेल्छन्, जोखिम पनि बुझ्न सक्दैनन् । सामाजिक दुरी कायम गराउन पनि सकिदैन’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्सन डाक्टर केएन पौडेलले भने, ‘सुरक्षा सावधानी अपनाउन सकिए मात्रै कक्षा पाँचभन्दा माथिका कक्षाहरु संचालन गर्न सकिन्छ ।’ कर्णालीका केही जिल्लाहरुमा कोरोना संक्रमणको समुदायमै फैलिने क्रममा रहेकाले सकेसम्म स्कुल खोल्न हत्तार गर्न नहुने डाक्टर पौडेलको सुझाव छ ।

संक्रमण नभएका क्षेत्रमा संचालन गर्न सकिन्छ
शिक्षाविद् र बालअधिकारकर्मीहरुले कोरोना संक्रमण र जोखिम कम भएका क्षेत्रका विद्यालयहरु खोल्न सकिने बताएका छन् । लामो समय विद्यालय संचालन नभए विद्यार्थीको भविष्यमाथि नै असर पर्ने भन्दै उनीहरुले सामाजिक दुरी कायम गरेर विद्यालय सञ्चालन गर्न सकिने बताएका हुन् ।

‘मुगु, हुम्ला, जुम्ला र डोल्पाका विद्यालयहरु सञ्चालन गर्न सकिन्छ’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडीन पीताम्बर ढकालले भने, ‘संक्रमित बढी देखिएका जिल्लामा विद्यालय सञ्चालन गर्दा ठूलो क्षति हुन सक्छ, तर संक्रमण कम भएका जिल्लाका विद्यालयहरु सञ्चालन गर्दा फरक पर्दैन ।’ संक्रमण कम भएका जिल्लामा अध्यापन गर्ने शिक्षक तथा विद्यालाई सामाजिक दुरी कायम गरेर विद्यालय सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

लकडाउनले नछोएका स्कुल
हुम्लाका दुई वटा विद्यालय लडकाउनमा पनि सञ्चालनमा रहेका छन् । नाम्खा गाउँपालिका वडा नं. ६ मा रहेका हिमशिखर र सुनखानी आधार भूत विद्यालय लकडाउनमा पनि निरन्तर सञ्चालन भइरहेका हुन् । ‘कोरोनापछि गाउँमा नयाँ व्यक्ति प्रवेश गरेका छैनन्, स्थानीय तहमा पनि कोरोना संक्रमण छैनन्’ हिमशिखर आधार भूत विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले भने, ‘दरबन्दीका शिक्षकहरु विद्यालयमा गएका छैनन्, तर निजीस्रोत र गाउँकै शिक्षकहरुले पढाइरहेका छन् ।’ चीनसँग सिमाना जोडिएका ती दुई विद्यालयहरुमा लकडाउनमा पनि प्रभाव नपरेको उनको भनाइ छ । हिमशिखरमा ४५ जना र सुनखानीमा झण्डै १५ जना विद्यार्थी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार