‘‘मामाको अफिस जाँदाजाँदै सरकारी सेवामा होमिए”

नेत्रराज गिरी/प्रमुख प्रशासकीय अधिकृत
बराहताल गाउँपालिका, सुर्खेत

जसले चुनौतीहरुको सामना गर्छ, अवसर पनि उसकै भागमा पर्छ । भोक, प्यास र अभावसँग रमाउन सिक्नेहरुले मात्रै जीवनमा सफलता हात पार्छन् । यस्तै अभावका बीचमा पनि सफलताको शिखरमा पुग्ने आँटिला व्यक्ति हुन् नेत्रराज गिरी । निम्न वर्गिय परिवारमा जन्मिएका गिरी हाल सुर्खेतको बराहताल गाउँपालिकामा कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनले आफ्नो संघर्षमय जीवन र निजामति सेवाको अनुभवबारे हामीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको साराशंः-

कक्षा ५ र ६ पढ्नै पाइँन :-
विस २०४३ साल माघ १० गते जुम्लाको गुठिचौर गाउँपालिका–५ देपालगाउमा मेरो जन्म भएको हो । बुवा देवीदत्त र आमा खासीकलाको म जेठो सन्तान हुँ । निम्न परिवारमा मेरो जन्म भएको हो ।  तर मामाको सहयोगमा बोडिङ स्कुलमा नर्सरीदेखि कक्षा चारसम्मम अध्ययन गर्ने मौका पाएँ । कक्षा चार पुरा भएपछि सरकारी स्कुलमा गएँ । बोर्डिङ स्कुलमा अध्ययन गरेका कारण ४ कक्षाबाट सिधै ७ कक्षामा अध्ययन गरेँ । ५ र ६ कक्षाको पढाइ अनुभूति नै गर्न पाइँन । त्रिभुवन मावि झारज्वालाबाट २०५९ सालमा एसएलसी पुरा भयो । केही साथीहरु उच्च शिक्षा अध्ययन गर्न सुर्खेत, नेपालगञ्ज र काठमाडौंसम्म पुगे । मलाइ पनि शहर बस्ने रहर नभएको होइन ।

तर आफ्नै बाध्यताहरु थिए । एसएलसीसम्म बुवाले इलाम, काठमाडौं र भारतका विभिन्न सहरमा ब्यापार गरेर पढाउनु भएको थियो । यही कारण जुम्लाबाटै उच्च शिक्षा अध्ययन गर्ने निधो गरेँ । जुम्ला बहुमुखि क्याम्पसमा आइएड पढ्न थालेँ । आइएड अध्ययन गर्दागर्दै बोडिङ स्कुलमा जागिर गर्न अवसर मिल्यो । त्यसपछि आर्थिक रुपमा बुवालाई सघाउन थालँे । दुई वटा भाइलाई आफ्नै खर्चमा बोडिङ स्कुलमा पढाएँ । पढ्दै र पढाउँदै जुम्लाबाटै वीएड पनि पुरा भयो । स्नातकोत्तर त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट पुरा गरेँ । निजामति कर्मचारी भएका कारण पुनः जनप्रशासन विषयमा स्तातकोत्तर गर्दैछु ।

विद्यालय निरीक्षक बन्ने रहर :-
एसएलसीपछि टेक्नीकल विषय पढ्ने इच्छा थियो । तर सोचेको सबै कसलाई पो पुग्छ र ? मेरा आफ्नो बाध्यताहरु थिए । आर्थिक अवस्था राम्रो थिएन । घर खर्च चलाउन बुवालाई सघाउने उद्देश्यले २०६२ सालपछि अध्यापन पेशा अंगाले । त्यहीबेला विद्यालय निरीक्षक (विनी) हुने रहर पलायो । शिक्षा विषय अध्ययन गरेका कारण योग्यता पनि थियो । विनी बन्न प्रयास नगरेको पनि होइन । तर भाग्यतले प्रशासनतर्फ डो¥यायो । २०६७ साल कात्तिक १७ गतेबाट निजामति सेवामा प्रवेश गरेँ ।

जिल्ला शिक्षा कार्यालय कालिकोटमा प्रसासन सहायक (प्रास) पदमा पहिलो पोष्टिङ भयो । त्यसपछि विनी बन्ने सपना त्यागेँ । बरु प्रशासनतर्फकै अधिकृत बन्ने उद्देश्य राखे । ठूलो अक्षरले अफिसको भित्तामा शाखा अधिकृत लेखेँ । अफिसभित्र छिर्दा र बाहिर निस्कदा शाखा अधिकृत लेखेको अक्षरमा ठ्याक्कै नजर लाग्थ्यो । अन्ततः निरन्तरको प्रयासले २०७४ साल मंसिर २५ गते सफलता मिल्यो । प्रमुख प्रशासकीय अधिकृत भएर त्रिपुरासुन्दरी नगरपालिका डोल्पा पुगेँ । करिव एक वर्षपछि त्रिपुराबाट तातोपानी गाउँपालिका जुम्लामा फर्किएँ । हाल बराहताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छु ।

आमालाई छोडेर मामासँग अफिस :-
आमा र मामा सुन्दा उस्तै लाग्छ । तर मेरो जीवनमा सुन्दामात्रै होइन, भोग्दा पनि उस्तै छ । आमा जतिकै साथ र सहयोग मामाबाट पाएको छु । सानै छँदा मामा सरकारी जागिर गर्नुहुन्थ्यो । त्यही भएर म आमालाइ छोडेर मामासँग उहाँको अफिस जान्थेँ । उबेला नै ठूलो भएपछि अफिसमा जागिर खानुपर्छ भन्ने सोचेको थिएँ । २०५९ सालको एसएलसीपछि केही साथीहरु सेनामा जागिर खान गए । माओवादी सशस्त्र विद्रोह अन्त्य भएको थिएन ।  जसले गर्दा एसएलसीपछि केही साथीहरु सहजै नेपाली सेनामा भर्ती भए । मलाई भने निजामति कर्मचारी हुने रहर मरेन । अन्नतः मामाकै प्रेरणाले निजामति होमिएँ । सुब्बा हुँदै अधिृकतसम्म आइपुगेको छु । अब नेपाल सरकारको सचिव पदसम्म पुग्ने अपेक्षा गरेको छु ।

स्थानीय सरकारप्रति जनताको अपेक्षा :-
संघीयतापछि गाउँगाउँमा स्थानीय सरकारहरु छन् । स्थानीय सरकारप्रति जनताको ठूलो अपेक्षा छ । तर अनुभवी जनशक्तिको अभावमा जनअपेक्षा अनुसार काम हुन सकेको छैन । न सबै जनप्रतिनिधिहरु अनुभवि छन्, न त कर्मचारीहरु नै । अनुभवी जनशक्तिको अभावमा अझै पनि कतिपय कानुनहरु अधुरा छन् । यसैको फाइदा उठाउदै केही कर्मचारीहरु निहित स्वार्थमा रुमलिएका छन् । कुनै स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीच तालमेलसमेत छैन । धेरै जनप्रतिनिधिहरुले सडक खन्नुमात्रै विकास ठानेका छन् । परिणामतः जनअपेक्षा अनुसार विकास निर्माण हुन सकेको छैन । (२०७७ असार ७ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया