दैलेख, ८ असार ।
जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । प्रमुखसहित आठ जनाविरुद्ध एक करोड ८२ लाख बिगो कायम गरिएको छ । हुलाक सेवा विभागमा शाखा अधिकृत श्यामकुमार सिंह, जिल्ला हुलाक कार्यालय दैलेखका नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी, लेखापाल शालीग्राम पौडेल, नायब सुब्बा रणबहादुर बोहरा, लेखा नियन्त्रक कार्यालय, दैलेखमा कोष नियन्त्रक शुभाखर न्यौपाने, लेखापाल पदमा कार्यरत दीपबहादुर थापालाई प्रतिवादी बनाइएको छ ।
अतिरिक्त हुलाक कार्यालयमा कर्मचारी नियुक्ति गर्दा तथा कार्यालय भवन निर्माणका लागि टेण्डर गर्दा अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । हुलाक अधिकृत मल्ल, नायब सुब्बा गौतम, सहायक कम्प्युटर अपरेटर केसी र विभागका शाखा अधिकृत श्यामकुमार सिंहले एक आपसमा मिलेमतोमा उनीरुले भ्रष्टाचार गरेका थिए ।
अख्तियारका अनुसार आर्थिक २०६९/०७० मा २९९ र आ.व. २०७०/०७१ मा ४१२ जनाको दरबन्दी कायम गरी पटक/पटक वास्तविक दरबन्दी भन्दा एकसय ४७ र दुईसय ६० जना बढी देखाई झुठ्ठा व्यहोराको गलत लिखत तयार गरेको देखिएको छ । गलत लिखतको आधारमा तत्कालीन हुलाक कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत नायब सुब्बा बोहरा र लेखापाल पौडेलले दरबन्दी भन्दा बढी एकसय ४७ जना कर्मचारीलाई नियमविपरित नियुक्ती गरेको खुल्न आएको हो ।
युग संवाददाता । । ८ असार २०७७, सोमबार ०८:३१