अन्तर्राष्ट्रिय योगा दिवसका अवसरमा क्वारेन्टाइनमा योगा

तुलराज पाण्डे
कालिकोट, ७ असार ।
कालिकोट खाँडाचक्र नगरपालिका वडा नं. २ मा रहेको साल्डाँडा आधारभूत विद्यालय पोरिपाल्लिमा योगा अभ्यास गरिएको छ । क्वारेन्टाइनमा रहेका नागरिकहरु, स्वास्थ्यकर्मी, शिक्षाकर्मी, स्वंयमसेवक र केही स्थानीयलाई योगा सिकाइएको छ । योगा अभ्याससँगै उनीहरुलाई आयुर्वेद औषधीसमेत दिइएको छ ।

घरमा योगा, परिवारका साथ योगा भन्ने मुल नारालाई सार्थक बनाउँदै जिल्ला स्वास्थ्य कार्यालय आयुर्वेद शाखा कालिकोटको आयोजनामा कार्यक्रम गरिएको हो । खाँडाचक्र नगरपालिका वडा नं. २ का वडाध्यक्ष विर्खसिंह विश्वकर्माको सभा अध्यक्षता र खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका प्रशिक्षक स्वास्थ्य कार्यालय कालीकोटका बरिष्ठ बैद्य लक्ष्मी प्रसाद पाण्डेका अनुसार कालिकोट जिल्लाका स्थानीय तहमा पाइने कच्चा पदार्थ गुर्जो, अमला र अश्वगन्धा आयुर्वेद औषधि बन्ने र नियमित सेवनले स्वास्थ्यमा कुनै समस्या हुने छैन । उनले भने, ‘स्वास्थ्य कार्यालय कै फार्मेसीबाट औषधि बनाउँछौँ ।’ हाल औषधीलाई नियमित गर्न जडिबुटी संकलनको काम भइरहेको छ ।’

कोरना भाइरस रोकथाम तथा नियन्त्रण गर्न ५० किलो गुर्जाे, २० किलो अश्वगन्धा र ३० किलो अमला तयार गरेको उनले बताए । कालिकोट जिल्लाका ९ वटा स्थानीय तहमा रहेका क्वारेन्टाइनमा आयुर्वेद औषधि पुरयाउने लक्ष रहेको पाण्डेले बताए ।

खाँडाचक्र नगरपालिका स्वास्थ शाखा प्रमुख रविन्द्र सेजुवालले भने खाँडाचक्र नगरपालिकामा रहेका क्वारेन्टाइनको अवस्था हेरी योगा अभ्यास तथा औषधी वितरणको कार्यलाई निरन्तरता दिनु आवश्यक छ । आयुर्वेद शाखाका प्रमुख डाक्टर प्रज्ञा उपाध्यायले योगा दिवसको अवसरमा सम्पूर्णमा शुभकामना दिँदै आयुर्वेद शाखाले वितरण गरेका औषधीहरु नियमित प्रयोग गर्दा स्वास्थ्यमा कुनै किसिमको समस्या नहुने बताएकी छन् ।

तपाईको प्रतिक्रिया