सुर्खेतमा मलको हाहाकार, डिपो पनि रित्तै

सुर्खेत, ७ असार ।
वीरेन्द्रनगर–१ का प्रकाश तारमी विहीबार रासायनीक मल लिन स्थानीय हातेमालो कृषि सहकारी संस्थामा पुगे । तर त्यहाँ डिएपी र पोटास मल पाएनन् । त्यसपछि मल खोज्दै उनी कृषि सामग्री कम्पनी लिमिटेडमा पुगे । त्यहाँ पनि उनले मल पाउन सकेनन् । कम्पनीकै गोदाम खाली भएपछि उनी रित्तो हात फर्किए ।

धान रोप्ने तयारीमा रहेका किसानमध्ये मल नपाउने उनी एक्ला होइनन् । हिजोआज दैनिक किसानहरु मल पाइने आशमा दैनिक कृषि सामग्री कम्पनीको कार्यालयमा धाउँछन् । तर उनीहरु रित्तो हात फर्कने गरेका छन् । रोपाइँको समय नजिकिदै गर्दा वडा तथा टोलमा रहेका कृषि सहकारी संस्थाहरुमा पनि पर्याप्त मल छैन ।

खेतीको सयममा मल नपाउँदा जिल्ला भरका किसान समस्यामा छन् । सल्यानमा पनि दुई हप्तादेखि मलको अभाव छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यका अनुसार किसानहरु दिनदिनै मल लिन आउने गरेका छन् । ‘लकडाउनदेखि नै मल अभाव भएको हो, किसानहरु दिनदिनै मल खोज्दै कार्यालयमा आउनुहुन्छ । तर रित्तो हात फर्काउनु परेको छ, मल नै नहुँदा समस्या भयो ।’ सल्यानमा दुई महिनादेखि मल अभाव छ । किसानले मल नपाएरै बीउ राखे पनि रोपाइँ सुरु भइसक्दा पनि आपूर्ति गर्न नसकिएको उनको भनाइ छ ।

लकडाउनपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा दुई गाडीमात्रै मल ल्याइएको आचार्यले जनाए । सुर्खेत र सल्यानमा मात्रै होइन, लकडाउनका कारण हिजोआज दैलेख, जाजरकोट र रुकुमपश्चिमका किसानले पनि मल पाउन सकेका छैनन् । मल उपलब्ध गराउँदै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमका अनुसार सुर्खेत र दैलेखमा मात्रै वार्षिक तीन हजार टन रासायनिक मल आपूर्ति हुन्छ । अघिल्ला वर्षहरुमा जेनतेन आपूर्ति गर्दै आएको कम्पनीको डिपो भने हिजोआज रित्तै छ ।

कार्यालय प्रमुख टोपाराम गौतमका अनसार सुर्खेतका सिमित कृषि सहकारीलाई युरिया, डीएपी र पोटास मल उपलब्ध गराइएको छ । ‘लकडाउनका कारण हिजोआज कम्पनीसँगै एककिलो पनि मल छैन’ कार्यालय प्रमुख गौतमले भने, ‘सुर्खेतमा मल आइपुग्न अझै केहीहप्ता लाग्छ ।’ मागअनुसार आपूर्ति हुन नसक्दा हरेकवर्ष मल अभावको भोग्नु परेको उनको भनाइ छ । ‘सुर्खेत र दैलेखलाई मात्रै वार्षिक तीन हजार टन मल आवश्यक पर्छ, तर मागअनुसार कहिले आपूर्ति भएन’ उनले भने, ‘लकडाउन भएका बेला माग अनुसार मल आपूर्ति गर्न सकिदैन ।’ अर्गानिक मल उत्पादनमा पहल नगरे मल अभावकै कारण उत्पादन घट्न सक्ने उनको भनाइ छ ।

विचौलिया रोक्न प्रशासनको कडाइ
सरकारले दिने अनुदानको मलमा विचौलियाले रचाइँ गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमन तथा चेकजाँचमा कडाइ गरेको छ । अनुदानको मल विचौलिएको हातको पुगेको समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कृषि सामग्री केन्द्र लिमिटेडबाट अनुदानको मल लिने सहकारीहरुको विवरण माग गरेको छ ।

अनुदानको मल किसानलाई वितरण गर्ने भनी कम्पनीबाट मल लिने सम्पूर्ण कृषि सहकारी संस्थाहरुको विवरण प्रशासनले राखेर अनुगमन तथा चेकजाँच गर्दै आएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । कम्पनीले स्थानीय किसानलाई बिक्री वितरण गर्ने भनी रासायनिक मल खरिद गरी लिनेहरुको सम्पूर्ण विवरण वीरेन्द्रनगर नगरपालिका र जिल्ला प्रशासनका कार्यालयलाई बुझाउने गरेको छ । किसानलाई वितरण गर्नुपर्ने अनुदानको मल यसअघि वीरेन्द्रनगरका बजारमा भेटिएको थियो । व्यवसायीले अनुदानको मल किसानलाई महँगोमा बिक्री गरेको समाचार प्रकाशित भएपछि प्रशासनले निगरानी बढाएको हो ।

जहाँ मलको अभाव हुँदैन
जाजरकोटका भेरी नरपालिका– ९ भुरमा कहिल्लै पनि मलको अभाव हुँदैन । न त्यहाँ मलको अभाव हुन्छ, न त बीउको नै । योवर्ष पनि कोरोना भाइरसको त्रासपछि मल र बीउको अभाव भयो । तर भुर बान्नीको समुदायलाई केही असर परेन । ‘समयमै पानी प¥यो, धान र मकै लगाइ सक्यौँैँ’ भुरका स्थानीय दिनेश ओलीले भने, ‘ गाउँघरमा आफैले फलाएको बीउ र गाइबस्तुको अर्गानिक मल प्रयोग गछौँ, कहिल्लै पनि बजारबाट मल र बीउ किन्नु परेको छैन ।’ उनीमात्रै होइन, जाजरकोटका अधिकाँश स्थानीयलाई मलको अभाव हुँदैन ।

जाजरकोटको भेरी नगरपालिकाको सिमित क्षेत्रमा मात्रै रासायनिक मल प्रयोग हुने प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । त्यस्तै सुर्खेतको सिम्ता गाउँपालिकामा पनि रासायनिक मलको अभाव छैन । एक वर्षदेखि सिम्तालाई गाउँपालिकाले नै अर्गानिक क्षेत्र बनाउने अभियान चलाएको छ । गाउँपालिकालाई अर्गानिक पकेटक्षेत्र बनाउने अभियान अन्तरगत विषादीरहित उत्पादन र अर्गानिक मल प्रयोग गर्न पोत्साहन गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी बताउँछन् ।

‘सिमित क्षेत्रमा मात्रै रासायनिक मल प्रयोग हुन्छ’ केसीले भने, ‘सिम्ताका ९५ प्रतिशत किसानले प्राङ्गारिक मल नै प्रयोग गर्छन् ।’ प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायका अनुसार जाजरकोट, कालिकोट, मुगु, हुम्ला र डोल्पामा पनि कहिल्लै मलको अभाव हुँदैन । ति जिल्लाहरुमा अर्गानिक मल मात्रै प्रयोग हुन्छ । यस्तै अर्गानिक जिल्ला घोषणा गरिएसँगै जुम्लामा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जिल्लास्थित सम्पूर्ण स्थानीय तहको सक्रियतामा रासायनिक मलमा प्रतिबन्ध लगाइएको हो ।

तपाईको प्रतिक्रिया