विनोद ढकाल
अध्यक्ष, प्रदेश आयुर्वेद औषधालय
वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट निवासी विनोद ढकाल उमेरले ६० वर्ष पुगे । तर उनमा समाज सेवाप्रतिको जोश र जाँगर अझै घटेको छैन । शान्त स्वभाव र दयालु मनका विनोदलाई कहिल्यै उमेरले समाज सेवा गर्नबाट छेकेन । समाज सेवाप्रतिको भावना बोकेका उनी समयले साथ दिए, अब आउने जस्तोसुकै अवसरमा पनि काम गर्न सकिने बताउँछन् । मध्ययम वर्गीय परिवारमा हुर्किएका उनले समाज सेवामा पाँच दशक विताइ सकेका छन् । युगआह्वानसँगको जम्काभेटमा प्रदेश आयुर्वेद औषधालयका अध्यक्ष विनोद ढकालले आफ्नो जीवन संघर्षका अनुभवहरु साँटेका छन् । प्रस्तुत छ, उनकै शब्दमा :-
खुशीले भरिएको त्यो बाल्यकाल :-
बुवा चन्द्रदेव र आमा धनसरीको कोखबाट वि.सं २०१७ मा मेरो जन्म भएको हो । आमा र बाबुको पहिलो छोरा भएकाले मैले परिवारबाट असाध्यै माया पाएँ । परिवारमा मभन्दा जेठी दिदी पनि हुनुहुन्थ्यो । भाइहरु पनि छन् । तर चार दिदिभाइ मध्ये जेठो छोरो भएकाले होला, मैले धेरै माया पाएँ । मेरो घर र मामा घरको बज्यैले त झन् धेरै माया गर्नुहुन्थ्यो । ती बाल्यकालका क्षण सम्झिदा अहिले पनि हिजोजस्तै लाग्छ । तर समय धेरै फेरीसक्यो । बाल्यकालमा आफै खुसी भए पुग्थ्यो ।
अहिले सबैलाई खुसी बनाउनुपर्ने अवस्था छ । बाल्यकालमा मैले खासै पीडाको अनुभुती गरिन । बाल्यकाल खुसीमय नै वित्यो । बाबा गाउँको मुखिया हुनुहुन्थ्यो । उहाँ यताउता जाँदा घोडामा सवारी हुन्थ्यो । त्योबेला मलाइ पनि खुबै घोडा चढ्ने रहर लाग्थ्यो । मामा ब्रिटिस आर्मी भएकाले उहाँको जस्तै घडी लगाउने खुबै रहर थियो । त्योबेला निकै चलेको सिकोफाइव भन्ने घडी । पछि मामाले घडी ल्याइ दिएपछि स्कुलका साथीहरुले यो त ठुलै मान्छे रहेछ भन्थ्ये । विस्तारै समय आफ्नो अनुकुल भएन । बज्यै, आमा, बाबा क्रमस वित्दै गए । त्यसपछि परिवारमा दिदीले धेरै माया गर्नुहुन्थ्यो । उफ…निष्ठुरी दैवले दिदीलाई पनि लग्यो । तर उहाँहरुको आर्शीवाद लागेको छ ।
शिक्षा र सपना :-
म सानैदेखि चलाख थिएँ रे । एकदिनको कुरा हो । मेरो बाबा गाउँको मुखिया । केही गाउँलेहरु बाबासँग बस्न आउनु भएको रहेछ । बााबा केही लेख्दै हुनुहुन्थ्यो रे । म बामी सर्दै भए पनि गएर बाबाको कलम समातेर लेख्न खोजेछु । अनि वरिपरी बसेका सबैले तिम्रो छोरो त भविष्यमा ठुलै मान्छे हुन्छ, सानैमा कलम पो समात्छ, भनेछन् । त्योदिन मेरो परिवारमा पनि धेरै खुसीको अनुभुती भएछ । पछि विस्तारै गाउँमै नर्सरी पढेँ । नजिकैको आदर्श माध्यामिक विद्यालयमा कक्षा ४ देखि ६ सम्म पढेँ ।
७ कक्षा नपढी सिधै वीरेन्द्रनगर हाइस्कुलमा कक्षा ८ मा भर्ना भएँ । त्यहीबाट एसएलसी पास गरेँ । त्यसपछि घरमा चार भाइबहिनी पढ्ने भएकाले मेरो पढाइ सोचेअनुसार अघि बढ्न सकेन । पछि नेपालगंजबाट जेनतेन आइएड पास गरेँ । पढाइको यात्रा त्यहीँ रोकियो । जिन्दगीको संघर्षशील यात्रा सुरु हुन थाल्यो । सानैदेखि अन्य सरकारी जागिरभन्दा लाहुरे (आर्मीं बन्ने खुब इच्छा थियो । गाउँघरमा पनि लाहुरे भनेपछि ठुलै ठान्थ्ये । सबै भुतुक्कै हुन्थ्ये । मैले पनि लाहुरे बन्न खुब कोसिस गरेँ । लाहुरे बनेर देश र परिवारको सेवा गर्ने सपना थियो । तर भाग्यले लाहुरे बन्न दिएन । समाज सेवामा डोरयायो ।
समाज सेवाको यात्रा :-
लाहुेरे बन्ने मेरो सपना साकार नहुने देखिएपछि आफ्नो पेट र परिवार पाल्नकै लागि भए पनि केही रोजगारीको विकल्प खोज्न थालेँ । त्यस सिलशिलामा मैले एउटा आईएनजीओमार्फत समाज सेवामा खट्ने मौका पाएँ । १९–२० वर्षको उमेरमै म अन्तराष्ट्रिय गैरसरकारी संस्था आईएनएफमा आबद्ध भएँ । त्यही संस्थामार्फत मेरो समाज सेवाको यात्रा सुरु भयो । त्यसबेला मैले संस्थामा काम गर्ने क्रममा जाजरकोट, रुकुम, दैलेख, रोल्पा, जुम्ला लगाएतका धेरै जिल्लामा गएर सेवा गर्ने अवसर पाएँ । झण्डै तीन दशकको संस्थागत सेवाबाट म विदा हुँदै घर फर्केर समाज सेवामा लागेँ ।
छोराछोरी जन्मिए । धेरै प्रकारका कामको बोझ पनि थपियो । २०६२ पछि संस्थागत सेवाबाट बाहिरिए पनि व्यक्तिगत रुपमा समाज सेवामा मेरो कदम रोकिएन । २०६३ मा सबै समुदाय मिलेर मलाइ शिव माध्यामिक विद्यालय धुलियाबिटको व्यवस्थापन समिति अध्यक्ष बनाए । त्यसक्रममा मैले सबैको साथ पाएपछि विद्यालयमा अपुग दरबन्दी पुरा गर्न भुमिका खेलेँ । भौतिक पूर्वाधारको अवस्था राम्रो बनाएँ । अँझै अर्को कार्यकाल पनि अध्यक्ष हुनुप¥र्यो भनेर अनुरोध आयो । तर मैले जापानमा पढ्दै गरेका छोराबुहारी भेट्न जानुपर्ने भएकाले बाध्य भएर विद्यालयको प्रत्यक्ष सेवाबाट पन्छिए पनि आफुले गर्नसक्ने सेवाबाट हात झिकेको छैन ।
योगदानको उचित मुल्यांकन :-
पञ्चयातमा म सामाजिक संस्थामै काम गर्ने बेला रोल्पाको थवाङ पुगेँ । त्यहाँ हामी गएको घरमा एक जना बालकले माओको किताब समातेको थियो । पछि हामीलाई देखेपछि त्यो घरकी दिदीले किताव तानेर लुकाईन् । किताव लुकाइ दिदाँ मलाइ अचम्म लाग्यो । पछि मसँग हुनुहुने केदार सरको पनि झोलामा कम्युनिष्ट नेताको जीवनी समेटिएको किताव रहेछ । उनी कतै काममा निस्कीएछन् । मलाइ एक्लै बस्न झ्याउ लागेपछि दिनभर त्यो किताब पढेँ । पछि उनी आएपछि किताव खोजेछन् । गाली गर्न थालेछन् । मैले किताव मसँग छ, भनेपछि केही बोलेनन् । भोलीपल्ट मलाइ राखेर दिनभर केही कुरा सिकाए । त्यसपछि मलाइ झन् कम्युनिष्ट राजनीति मन प¥र्यो । त्योबेला भुमिगत रुपमा लुकेर गाउँटोलमा कम्युनिष्ट शिक्षा बाँड्यौँ ।
पञ्चायतदेखि कम्युनिष्ट राजनीति गरियो । बहुदल हुँदै अहिले लोकतान्त्रीक गणतन्त्रमा आइपुगेका छौं । पार्टीमा गुटउपगुट छन् । तर म जहिले पनि सही निर्णय र संस्थापन पक्ष नै भइरहेँ । राजनीतिसँगै समाज सेवा छोडिन । त्यसैले पनि आज पार्टीले सानो भुमिका भए पनि योगदानको मुल्यांकन गरेर मलाइ अवसर दिएको छ । २०७६ बैशाखमा मलाइ प्रदेश आयुर्वेद औषधालयको अध्यक्षमा मनोनयन गरियो । म नेतृत्वमा पुगेपछि आयुर्वेदको महत्व बुझाउँदै गएको छु । अस्तव्यस्त अस्पताल सुधार हुँदैछ । अत्याधुनिक योगा हल, १५ शैयाको अस्पतालसँगै आवश्यक भौतिक संरचना व्यवस्थापनदेखि ४८ जनासम्म थप जनशक्ति प्रदेश सरकारसंग माग गरिएको छ । त्यस्तै आफ्नै औषधि फार्मेसी सञ्चालन गर्ने तयारी छ । अब कर्णालीको जडिबुटीले यहीँ औषधि बनाएर निर्यात गर्ने योजना छ ।
अबको योजना :-
जीन्दगीको दौरानमा जस्तोसुकै सुखदुख भए पनि आत्तिनु हुँदैन । आफैमा आफै गौरव अनुभुती गर्न सक्नुपर्छ । आत्मसन्तुष्ट हुन सक्नुपर्छ । सबैका धेरै उद्देश्य हुन्छन् । मेरा पनि थिए । म घरको जेठो छोरो भएकाले धेरै पढ्न पाइँन । तर अहिले मैले छोरोलाई पढाएर मेरो पढ्ने इच्छा पुरा गरेको छु । हाम्रो सन्तानमै छोरा÷बुहारीले सबैभन्दा धेरै टोकियो युनिर्भसीटीबाट पीएचडी गरेर अहिले अमेरिकामा छोरा असिस्टेन प्रोफेसर र बुहारी त्यही युनिभर्सिटीमा बैज्ञानिकका रुपमा काम गरिरहेको छ । यही नै मेरो सन्तुष्टी हो । अबको योजना सकेसम्म समाजसेवा नै गर्ने हो । (२०७७ असार ५ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)
युग संवाददाता । । ७ असार २०७७, आईतवार ०८:२४