‘अधिकृतको तयारी गर्दा डाक्टरले किताव नपढ्नु भने’

कृष्णप्रसाद खरेल
प्रमुख प्रशासकीय अधिकृत, लेकवेशी नगरपालिका, सुर्खेत

एउटा उखान छ, खाने मुखलाई जुङ्गाले छेक्दैन । यस्तै वास्तविक भोगाइ छ, कृष्णप्रसाद खरेलसँग । सानैदेखि पढाइमा लगनशील थिए । तर, पनि सरकारी जागिरमा रुची नै राखेनन् । बालापन रहरमै विताए । युवा अवस्था अध्ययनमै वित्यो । दिनभरी बोर्डिङ् स्कुल र साँझविहान अंग्रेजी विषयको ट्युसन पढाउँथे । सरकारी जागिरभन्दा निजी संस्था र ट्युसन सेन्टरको अध्यापनबाट राम्रो आत्दानी हुन्थ्यो । तर एकदिन उनका साथीले प्रश्न तेर्साए, ‘जागिर नखाने भए किन पढेको हो ?’ यही शब्दले आज उनी यो ठाउँमा आइपुगेका छन् । जतिबेला साथीबाट यो शब्द सुने, त्यतिन्जेल समयले नेटो काट्न थालिसकेको थियो । तर हिम्मत हारेनन् । दशंै र तिहार जस्ता ठूला चाडपर्वहरुमा विर्सीए । अन्नतः उनी पनि निजामति सेवामा प्रवेश गरे । विस २०२७ साल बैशाख १ गते वुवा सशिधर र आमा भूमिदेवी खरेलबाट वीरेन्द्रनगर–३ तातापानी उनको जन्म भएको हो । हाल सुर्खेतको लेकवेशी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा कार्यरत उनै खरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :–

जति बुझ्यो, त्यति राम्रो
बुवा मालपोत कार्यालय बर्दियामा जागिर गर्नुहुन्थ्यो । बुवासँगै मेरा बाल्यकाल पनि बर्दियामा वित्यो । गुलरियास्थित महाकवी देवकोटा माध्यमिक विद्यालयबाट औपचारिक अध्ययन सुरु गरेँ । कक्षा ४ सम्मको अध्ययन सकेर सुर्खेत फर्किएँ । कक्षा ५–६ जनमावि, ७–८ अम्मरज्योति, ९ र १० पुनः जन माविबाटै हुँदै २०४४ सालमा एसएलसी उत्तीर्ण गरेँ । उच्च शिक्षाको लागि सुर्खेत क्याम्पस शिक्षाबाट वीएड, महेन्द्र महुमुखि क्याम्पस नेपालगञ्जबाट एलएलवी, त्रिभूवत विश्वविद्यालयबाट एमए र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर पुरा गरेको छु । अध्ययनका हिसावले म मध्ययम स्तरको विद्यार्थी थिएँ । सानो कक्षामा राम्रो अंक छैन । तर पढाइको महत्व बुझ्दै जाँदा माथिल्लो तहमा अंक पनि राम्रो ल्याएको छु । उमेरसँगै पढाइको महत्व बुझदै गएँ, अध्ययन पनि त्यति राम्रो हँुदै गयो ।

साथीको एउटा शब्दले सरकारी सेवामा प्रवेश
सानोमा सरकारी जागिर खाने चाहना थिएन । उबेला सरकारी जागिरभन्दा निजी संस्थाबाटै राम्रो आम्दानी हुन्थ्यो । अंग्रेजी विषयको ट्युसन पढाएरै सरकारी तलवभन्दा राम्रो आम्दानी गरिन्थ्यो । साँझविहान ट्युसन् पढायो । रुची भए दिनमा बोर्डिङ स्कुलमा पढाउन सकिन्थ्यो । रुची नभए व्यापार व्यवसाय रमाउँदै जिन्दगी चलिहाल्छ भन्ने लाग्यो । त्यही सोचेका कारण सरकारी जागिरमा रुची राखिन । तर एकदिन साथीले भन्यो, ‘जागिर नखाने भए किन पढेको हो ?’ सरकारी जागिर जति निजीमा सम्मान कहाँ हुन्छ र ? उसको यही शब्दले मन पिरोल्यो । साथीभाइको कुरा सुन्दा जागिर खान नसकेर बसेको छ भन्ने जस्तो लाग्यो । त्यसपछि मलाई पनि सरकारी जागिर खानुपर्छ भन्ने लाग्यो ।

सँगैका साथीहरु खरिदार, नासु, अधिकृत भइसकेका थिए । म निजामतिमा प्रवेश गर्न शुन्यबाट अध्ययन गर्नु थियो । जसलेगर्दा दिनदिनै नियम, कानून, संविधान, सामान्य ज्ञान लगायतका कितावका पानाहरु कन्ठ गर्न थालेँ । त्योबेला दशैंतिहार जस्ता चाडपर्वहरु कसरी आए, कसरी गए ? थाहा नै भएन । दशै–तिहारमा घरमा आफन्तीहरुको जमघट हुन्थ्यो । म कोठाभित्रै थुनिएर अध्ययन गर्थेँ । अन्ततः एसएलसी दिएको झण्डै ११ वर्षपछि अर्थात २०५५ माघ ३ गते निजामति सेवामा प्रवेश गरेँ । तर खरिदारमै चित्त बुझ्ने अवस्था थिएन । अधिकृतको तयारी गर्न थालेँ । अधिकृतको अध्ययन मेरो लागि चुनौतीपूर्ण बन्यो । किताव धेरै अध्ययन गरेका कारण आँखामा समस्या आयो । डाक्टरले किताव नपढन्न सल्लाह दिए । मनले कसरी मान्थ्यो र । अनि एउटा दुस्साहस गरेँ । आँखामा कृतिम आँशु राखेर एकवर्ष अध्ययन गरेँ । चस्मा प्रयोग गरेँ । अन्नतः त्यही दुस्साहसले अफिसर बन्ने चाहन पुरा भयो ।


स्थायी जागिर, अस्थायी कार्यालय
निजामति सेवामा लागेको दुइदशक पुरा भइसकेको छ । यो अवधिमा झण्डै एक दर्जनभन्दा बढी कार्यालयहरुमा सेवा गर्ने अवसर पाएको छु । २०५५ मा ३ गते बर्दिया जिल्ला अदालतबाट सुरु भएको जागिरले धेरै ठाउँमा घुमाएको छ । २०५९ सालमा बर्दियाबाट बाँके जिल्ला अदालत सरुवा भएँ । २०६२ सालमा शाखा अधिकृति भएर जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर पुरयायो । कञ्चनपुरमा जिल्ला निर्वाचन अधिकारीको जिम्मेवारी मेरो काँधमा थियो । जसकाकारण २०६४ सालको ऐतिहाँसिक पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गर्ने अवशर पाएँ । पछि ६ जिल्लाको उपनिर्वाचन गराएँ । त्यही समय देशभरबाट उत्कृष्ट निर्वाचन अधिकारीको रुपमा छनौट भएँ । पुरस्कार स्वरुप निर्वाचन आयोगले नेपालमा फोटोसहितको मतदाता नामावली सुरु गर्न अध्ययनका लागि जापान र थाइल्यान्ड पठायो । दुई देशको अभ्यास अनुरुप हाम्रो कार्यदलले आयोगलाई प्रतिवेदन बुझायो । त्यही आधारमा नेपालमा पनि फोटोसहितको मतदाता नामावली संकलन सम्भव भएको हो । जागिरकै दौरानमा निर्वाचन कार्यालय सुर्खेत, क्षेत्रीय निर्वाचन आयोग नेपालगञ्ज, स्थानीय विकास मन्त्रालय काठमाडौँ, तत्कालिन जिल्ला विकास समितिको कार्यालय सुर्खेत, बाँके, मालपोत कार्यालय दाङको लमही, ठाकुरबाबा नगरपालिका बर्दिया, भेरीगंगा नगरपालिका सुर्खेत हुँदै २०७५ चैतदेखि लेकवेशी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छु । सरकारी जागिर स्थायी भए पनि कार्यालय भने अस्थायी हुँने रहेछ ।

गाउँका सिंहदरबारमा जनशक्ति अभाव
संघीयतासँगै राज्यको पुनः संरचना भयो । शासकीय स्वरुपमा ठूलो फेरवदल भयो । एक हिसावले भन्दा घरघरमै सिंहदरबार आयो । तर गाउँका सिंहदरवारहरु कुशल इन्जिनियरको अभावमा दौड्न सकेका छैनन् । सुरुवातदेखि नै जनशक्ति अभाव छ । भएका जनशक्तिमा पनि कानूनी ज्ञान छैन । जसका कारण सिंहदरबारको रथ कुद्न सकेको छैनन् । थोरै कर्मचारीले नागरिकलाई सरल रुपमा सेवा सुविधाहरु दिन सकेका छैनन् । जनप्रतिनिधिहरुमा पनि कानूनी ज्ञान छैन । राजनीति जीवन बचाउन भए पनि जता भोटर उतै विकास गर्नुपर्छ भन्ने मान्यता छ । कानूनी अज्ञानताकै कारण केही जनप्रतिनिधिहरु विचौलियाको सिकार नै बनेका छन् । परिणामतः नागरिकमा वितृष्णा पैदा भएको छ । विकास निर्माणले गति लिन सकेको छैन । तर दक्ष जनशक्ति अभाव, विकासप्रति नागरिकको अवरोधकाबीच जति विकास निर्माण भएको छ । एक हिसावले यो पनि ठूलो उपलब्धि हो ।

अधिवक्ता बन्ने सपना
जीन्दगीका धेरै सपना मध्ये न्यायको पक्षमा वकालत गर्ने सपना अधुरै रहेको छ । उमेर, समय र परिस्थितिले साथ दिएको खण्डमा अवकासपछि अधिवक्ता बन्ने सपना छ । यसका अलवा म साहित्यमा रुचि राख्छु । साहित्यक यात्रा पनि अझै टुङ्गीएको छैन । मातृभूमि साप्ताहिकमा प्रकाशित ‘सहिद र प्रजातन्त्र’ शीर्षकको कविताबाट हौसिएको मेरो साहित्यक लेखन अहिले पनि जारी छ । जीवनका अनेट रहरमध्ये पुस्तक प्रकाशत गर्ने रहर पनि पुरा गर्नु छ । २०७२ चैतदेखि निजामति सेवाले उपसचिवसम्म पुरयाएको छ । तर सहसचिव पदसम्म पुगेर मात्रै अवकास हुने लक्ष्य छ । (२०७७ जेष्ठ ३२ गते  युगआव्हान राष्ट्रिय दैनिककाे साताकाे राष्ट्सेवक स्तम्भमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार