बन्दाबन्दीको घरभाडा मिनाहा गरिदिन आग्रह

सुर्खेत, ५ असार ।
सुर्खेत उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी, व्यापारी, व्यवसायीहरुको बन्दाबन्दी अवधिको घर भाडा मिनाहा गरिदिन आग्रह गर्दै प्रत्येक घरधनीलाई चिठ्ठी पठाउने अभियान शुरु गर्ने भएको छ । बन्दाबन्दीमा करिव ३ महिनासम्म ठप्प रहेका कारण व्यापार व्यवसाय चौपट हुने र व्यापारी सडकमा आउने अवस्था भएको भन्दै संघले यस्तो अभियान शुरु गर्न लागेको हो ।

व्यापार चलेका बेला नियमित रुपमा भाडा तिर्दै आएका व्यापारीको अहिलेको बाध्यात्मक स्थितिलाई बुझेर मानवीय नाताले भाडा छुट दिन औपचारिक रुपमै चिठ्ठी पठाएर आग्रह गर्न लागिएको अध्यक्ष धन बहादुर रावतले बताउनुभयो । घरधनी र व्यापारी एकअर्काका परिपूरक भएकै कारणपनि व्यहारिक रुपले मात्र नभई मानवीय नाताले पनि यस्तो कठिन अवस्थामा हृदय ठूलो बनाउन आग्रह गर्न लागिएको उहाँको भनाई छ । घरजग्गाको भाडा मिनाहा गर्ने सम्बन्धित धनीलाई कर तथा बैंक ब्याज छुट दिनका लागि पनि संघले दबावमूलक अभियान र पैरवी गर्दै आइरहेको उहाँको जिकिर छ ।

संघले संस्थागत रुपमा तयार पारेको पत्र सम्बन्धित व्यापारीले लिएर आप्mना घरधनीलाई दिन चाहे दिनसक्ने जानकारी पनि उहाँले दिनुभयो । संघले आप्mनो भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुलाई बन्दाबन्दी अवधिको ३ महिनाको भाडामा एकमुष्ट ५० प्रतिशत छुट दिने निर्णय गरिसकेको छ । बैंकब्याज र घरभाडा मिनाहाको माग गर्दै संघले प्रदेश सरकारदेखि संघीय सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि शान्तिपूर्ण जुलुश प्रदर्शनसमेत गरिसकेको छ ।

तपाईको प्रतिक्रिया