कमजोर व्यवस्थापनले महामारी नियन्त्रण बाहिर जाने खतरा

सुर्खेत, ४ असार ।
घटना : १
जेठ २० गते सुर्खेतको बराहताल गाउँपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भयो । उनी न भारत गएका थिए, न त संक्रमित ठाउँबाट गाउँ फर्किएका नै । तर नमूना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भयो । यद्यपी उनी दुई दिनअघि कोरोना संक्रमणमुक्त भइसकेका छन् । उनलाई अस्पतालबाट अहिले डिस्चार्ज गरिएको छ ।

घटना : २
जेठ २० गते डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षिय पुरुषको मृत्यु भयो । माघदेखि सुर्खेतमै बसेर दमको उपचार गराइ रहेका उनी जेठ १८ गते गाउँ फर्किएका थिए । गाउँ फर्किएको दुई दिनमै उनको मृत्यु भयो । मृत्युपछि उनको स्वाब परीक्षण गर्दा कोरोना देखियो । रिपोर्ट पोजेटिभ आएपछि स्थानीय थप त्रसित बने । उनमा कोरोना कसरी संक्रमण भयो भन्दै स्थानीय दंग परे ।

घटना : ३
जेठ २९ गते सुर्खेतको चिङ्गाड गाउँपालिका–५ मा बस्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भयो । लकडाउन हुनुभन्दा पहिले नै चिङ्गाड आएका उनलाई कसरी संक्रमण भयो ? अझै पत्ता लागेको छैन । उनी भारत वा अन्य देशबाट आएका थिएनन् । उनी गाउँमा पुग्दा कोही संक्रमित पनि थिएनन् । तर गाउँमै बसेका उनमा कोरोना देखिएपछि गाउँपालिकाका अध्यक्ष देबबहादुर चन्दले पनि अनौठो घटना भएको बताए ।

उल्लेखित घटनाहरु केही प्रतिनिधिमुलक मात्र हुन् । यी घटनाले पनि कर्णालीमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरसम्म फैलिएको पुष्टि गरेका छन् । सुरुवातमा भारतबाट आएकाहरुमा मात्र कोरोना देखिएको थियो । तर कर्णालीमा पहिलो संक्रमण देखिएको एक महिनामै कोरोना समुदायसम्म फैलिएको छ । संक्रमित क्षेत्रबाट आएका नागरिक सबैको पीसीआर परीक्षण गर्न नसक्दा कोरोना समुदाय स्तरमा फैलिने क्रममा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित क्षेत्रबाट फर्किएका नागरिकहरु लुकिछिपी गाउँमा प्रवेश गर्नु र नागरिकहरु सचेत नहुँदा प्रदेशमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गर्न लागेको मन्त्रालयको निष्कर्ष छ । पछिल्लो समय संक्रमित क्षेत्रबाट मात्रै झण्डै ४३ हजारभन्दा बढी नागरिकहरु गाउँ फर्किएका छन् । जसमध्ये धेरै नागरिकको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । तर कोरोना भए÷नभएको पुष्टि गर्ने एकमात्र विधि पीसीआर परीक्षणको दायरा भने निकै न्यून छ । प्रदेशमा हालसम्म झण्डै २० हजार व्यक्तिको मात्रै पीसीआर परीक्षण गरिएको छ ।


कमजोर व्यवस्थापनका कारण कोरोना समुदायमा फैलिएको हो । क्वारेन्टाइनमा राखिएकाहरुलाई हतारमा घर पठाउनु, नाकामै स्वास्थ्य परीक्षण नहुनु, पीसीआर परीक्षणको साटो आरडीटीको भरमा घर पठाउनु, आइसोलेसलनमा भरपर्दो उपचार नहुनु नै कोरोना समुदाय तहमा फैलिएको विज्ञहरुको भनाइ छ । यस्तै संक्रमण फैलिदै गर्दा लकडाउनमा खुकुलो गर्दा पनि जटिलता उत्पन्न भएको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुले अब पनि रोकथाम तथा उपचारमा गम्भिर नबने र सामाजिक दुरी कायम नराखे महामारी नियन्त्रण बाहिर जाने खतरा रहेको चेतावनी दिएका छन् ।

प्रदेश अस्पतालको आकस्मिक कक्ष पुनः सिल
समुदायस्तरबाट उपचारका लागि अस्पतालमा आउने बिरामीमा कोरोना पोजेटिभ देखिएपछि प्रदेश अस्पतालमा दोस्रो पटक आकस्मिक कक्ष सिल गरिएको छ ।  एकैदिन अस्पतालमा उपचारत तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडलका अनुसार आकस्मिक कक्षमा भर्ना भएका दैलेखका दुईजना र सुर्खेतका एक जनामा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक कक्ष बन्द गर्नु परेको हो । उनीहरु सबैलाई समुदाय स्तरबाट कोरोना संक्रमण भएको डाक्टर पौडेलको भनाइ छ । संक्रमितको उपचारमा संलग्न र सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरु सेल्फ आइसोलेसनमा बसेका छन् ।

डिस्चार्ज हुनेको संख्या बढ्दो
कर्णालीमा कोरोना संक्रमितहरु आइसोलेसनबाट डिस्चार्ज हुनेक्रम पनि बढेको छ । सामाजिका विकास मन्त्रालयकाअनुसार हालसम्म प्रदेशमा चार सय ९४ जना संक्रमित डिस्चार्ज भएका छन् । बुधबारमात्रै दैलेखको महावु गाउँपालिकाको आइसोलेसनबाट एकसय ६ जना, नारायण क्याम्पस, जिल्ला अस्पतालको आइसोलेसनबाट ४३ जना र प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनबाट तीन जना गरी कुल एकसय ५२ जना डिस्चार्ज भएका छन् । यद्यपी कर्णालीमा हालसम्म मृत्यु भएका चार जनामा कोरोना देखिएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या एकहजार एकसय चारजना पुगेको छ ।

जसमध्ये बुधबारमात्रै थप १८ जना कोरोना संक्रमित पुष्टि भएका हुन । सुर्खेत, दैलेख र कालिकोटका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५, लेकबेशी नगरपालिका वडा नं. ३, दैलेखको भैरवी गाउँपालिका वडा न. ७ र भगवतिमाइ गाउँपालिका वडा ७ का एक÷एक जना रहेका छन् ।
त्यस्तै सान्नीत्रिवेणी गाउँपालिका वडा नं. २ मा ७ जना, वडा नं. ३ मा ६ जना र वडा नं. ५ मा एक जना रहेको मन्त्रालयले जनाएको छ । दैलेख र सुर्खेतका प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कालिकोटका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो । (२०७७ असार ४ युगअाव्हान राष्टि्य दैनिकमा प्रकाशित)



ताजा समाचार