चौकुनेमा अक्सिजनसहितको आइसोलेशन

नन्दु खनाल
सुर्खेत, २ असार ।
सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकामा अक्सिजनसहितको आइशोलेसन वार्ड तयार गरिएको छ । कोरोना संक्रमित बिरामीहरुका लागि अक्सिजनसहितको आइशोलेसन वार्ड तयार पारिएको छ । चौकुने गाउँपालिका वडा नं. ६ मा रहेको जीवनज्योति माबि झकमेकमा तत्काल १६ वटा बेड तयार पारिएको छ । ५० वडा बेड तुरुन्तै बनाईने गाउँपालिकाले जनाएको छ ।

कोरोना भाईरसबाट कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले अहिले एउटा बेड्मा अक्सिजनको सिलिन्डरसमेत जोडिएको छ । गाउँपालिकाले बिरामीको चापलाई मध्ये नजर राख्दै उच्च साबधानी अपनाई अक्सिजन र औषधीको पूर्व तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेलले जानकारी दिनुभयो ।

‘हाम्रो छिमेकी देश भारतबाट दिनहुँ चौकुनेका नागरिकहरु आउने क्रम जारी रहेको र गाउँमा कोरोना भाईरसको संक्रमण फैलिने सम्भावना असाध्यै रहेकोले सबै चौकुने बासीहरुलाई उच्च सतर्कताका अपनाई कोरोना भाईरस विरुद्ध लड्न आग्रह गर्दछु’ उहाँले भन्नुभयो । कोरोनाबाट बच्न र बचाउन सामाजिक दुरी कायम राख्ने, नियमित साबुन पानीले हात धुने, मास्क लगाउने र भिड्भाड नगर्न सम्बन्धित निकायसंग प्रमुख प्रशासकीय अधिकृत पौडेलले अनुरोध गर्नुभयो ।

चौकुने गाउँपालिकामा अहिले सम्म १८ वटा सामुदायिक विद्यालयमा ६२० जना नागरिकहरु क्वारेन्टाइनमा बसेका छन, भने हालसम्म १८५६ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछी करिब २ हप्ता होम क्वारेन्टाइनमा बस्न भनि घर पठाइएको छ । चौकुने गाउँपालिकामा मंगलबारसम्म १३ जनालाई कोरोना पोजेटिभ देखिको छ । सबैको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया