रुकुम मुसिकोटमा मनग्गे लसुन उत्पादन

प्रचण्ड खत्री
रुकुम पश्चिम, १ असार ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का कृषकहरुले १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ । उत्पादित लसुन सदरमुकाम खलंगादेखि लिएर जिल्ला बाहिर निर्यात हुने बताएको छ । वडा सदस्य धनबहादुर खड्काले १०६ क्विन्टल लसुन जिल्ला बाहिर निर्यात हुँदा रु १३ लाख रकम गाउँमा भित्रिएको जानकारी दिए । यसबाट किसानले रु २०/२५ हजारदेखि सवा लाख बढीसम्म आम्दानी गरेका किसानहरु बताउँछन ।

वडा कार्यालयको पहलमा अर्को सिजनको लागि तीन लाख ५० हजार मूल्य बराबरको ३४ क्विन्टल लसुन बीउका लागि गाउँकै गोदाममा राखियको वडा सदस्य खड्काले बताए । यो वर्ष पोहोर सालभन्दा त्यस बर्ष लसुनको मुल्री बढेको छ । यस बर्ष लसुनमा प्रतिकिलो रु १०० पाएका छन् । गत वर्ष प्रतिकिलो रु ८० मा लसुन बिक्री गरेका थिए ।

गाउँमा उत्पादन भएको लसुनले मुल्य पाएपछी किसानहरु खुशी भएका छन् । दाङका व्यापारीले गाउँमै आएर लसुन खरिद गरेर लगेको किसानहरुको दाबी छ । दुई वर्ष अगाडिसम्म लसुनले बजार नपाएर चिन्तित बनेका किसानहरु गत बर्षदेखि भने १० नम्बर वडा कार्यालयको पहलमा बजार पाएपछि लसुनखेतीमा आकर्षित भएका छन् ।

१० नम्बर वडाका धेरै गाउँमा लसुनखेती हुन थालेको किसान किरण खड्काको दाबी छ । ‘उत्पादित लसुनले बजार पाउन थालेपछि वडाका धेरै ठाउँमा लसुनखेती हुने गरेको छ’, उनले भने, ‘गाउँबाटै व्यापारीले लसुन उठाउने गरेका छन्, सजिलै बिक्री हुन थालेपछि लसुन उत्पादनमा धेरैको आकर्षण बढेको छ ।’उनले एक लाख २३ हजार मूल्यको लसुन बिक्री गरेको जानकारी दिए । यसैबीच वडा कार्यालयले नै किसानका लागि बीउको व्यवस्था गर्ने गरेको छ । यसका लागि दुई हजार २०० किलो लसुनको बीउ वितरण गरेको वडा कार्यालयले जनाएको छ । यसका साथै बजारीकरणमा पनि ध्यान दिएको वडाको भनाइ छ । स्थानीयसहित जिल्ला बाहिरका व्यापारीलाई गाउँमा ल्याउने काम वडाले गरिरहेको वडाध्यक्ष गोप्यश्वर केसीले बताए ।

तपाईको प्रतिक्रिया