अनुदानको मल बेच्ने पसलमा प्रशासनको छापा

सुर्खेत, १ असार ।
गैरकानूनि रुपमा अनुदानको सरकारी मल बेच्ने पसलमा प्रशासनले सोमबार विहान छापा हानेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले अनुदानको मल बेच्ने पसलमा छापा हानेको हो । युगआव्हान राष्ट्रिय दैनिक र युगन्यूज डट कम अनलाइनले कृषकको खेतबारीमा पुग्ने अनुदानको बल विचौलीयाको काउन्टरमा शीर्षकको समाचार प्रकाशित गरेपछि प्रशासनले निगरानी गरेको हो । सोमबार विहानै प्रशासनको टोली पसलमा पुग्दा पसल पसल मालिक देव बहादुर चुनाराले मल लुकाइ सकेको भेटिएको छ ।

खुल्म खुल्ला विक्रिमा राखिएको सरकारी मल विहानसम्म लुकाई सकिएको थियो । वीरेन्द्रनगर–६, लक्ष्मी हललाईनको सुर्खेत खाद्य केन्द्रमा सरकारी अनुदानको मल विक्रि वितरण भएको भेटिएको थियो । स्रोतले दिएको सूचनाका आधारमा स्थलगत अवलोकन गर्दा १६ बोरा विक्रिका लागि काउन्टरमै राखेको भेटिएको थियो । प्रहरी, प्रशासनको टोली पुग्दा उक्त मल अन्यत्र लुकाईएको पाइएको छ ।

सरकारले अनुदान दिएको युरिया मल वीरेन्द्रनगर बजारमा छ्यापछ्याप्ती भेटिएको थियो । सरकारको अनुदानमा बितरण हुने सरकारी लोगो लगाइएको मल बिचौलीयाको हातमा पुगेको भेटिएको हो । युरिया मल विक्रि गर्ने सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामाग्री कम्पनीले तोकिएका मापदण्ड पुरा गरेका कृषि सहकारी संस्थाहरुमार्फत कृषकको घरदैलोमा पुग्नुपर्ने मल वीरेन्द्रनगर बजारमा बिचौलियाको हातमा पुगेको भेटिएको हो ।

व्यवसायीक निजी फर्म खाद्य खुद्रा पसल, एग्रोभेटमा सरकारी अनुदानको मल भेटिएको छ । युरिया मल किसानसम्म पुरयाउने जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारी र निजी क्षेत्रका व्यवसायीको मिलेमतोमा अनुदानको मल खुलम् खुल्ला बजारमा विक्रि वितरण भएको भेटिएको छ ।

सरकारले करिव १७ सय रुपैयाँ प्रति बोरा मल खरिद गरी अनुदानमा युरिया मल प्रतिबोरा करिव ९ सय रुपैयाँ छुट दिई ८ सय १६ रुपैयाँमा कृषकले कृषि सहकारी संस्थाहरु मार्फत खरिद गर्ने गरेका छन् । अनुदानको मल वितरण सम्बन्धी २०६९ को कार्यविधि अनुसार सरकारले अनुदानको मल कृषि सहकारी संस्थाहरुले मात्रै कृषकको घरदैलो, कृषकको हातमा पु¥याउने व्यवस्था गरेको छ ।

पसल सञ्चालक देवबहादुर चुनाराले दाना डिएपी मल प्रति केजी साठी रुपैंयाको दरमा विक्री गर्दै आइरहेका छन् । उनले कहाँबाट मल ल्याएर विक्री गर्नु भएको हो भन्ने प्रश्नमा जवाफ नै दिन चाहेनन् । ‘हामी एक दुई स्थानबाट खरिद गरेर केही बोरा मल विगतदेखि नै विक्री गर्दै आइरहेका छौं ।’ उनले भने, ‘हामीले युरिया मल विक्री गर्दै आइरहेका छौं ।’ उनले जहाँबाट पाईन्छ त्यहिबाट मल खरिद गर्दै आइरहेको बताए ।  ‘सुर्खेतमा सारा सबैले विक्री गर्दै आइरहेका छन् । दुनियाँ सबैले ल्याएर बेच्छन्’ उनले भने । बारम्बार कुरा गर्न खोज्दा पनि उनले कहाँबाट खरिद गरिएको भन्ने कुरा खुलाएनन् । उनले साथीभाइहरुसँगबाट मल ल्याउने गरेको बताए ।

यता, कृषि सामाग्री केन्द्र लिमिटेडका प्रमुख टोपाराम गौतमले अनुदानको बल बजारमा विक्री गर्न कसरी मल गयो भन्ने कुरा थाहा नभएको र आफुहरुको संलग्नता नरहेको दाबी गरे । ‘त्यो मल बजारमा विक्री गर्न पाईदैन । सुर्खेतसम्म ल्याउँदा ८८४ रुपैंया सरकारले प्रति बोरा अनुदान दिएको हुन्छ । प्रति बोरामा पचास केजी हुन्छ ।’ उनले भने, ‘शुक्रबार मल आएको थियो । हामीले सहकारीलाई वितरण गरिसकेका छौं । मललाई गोदाममा पनि ल्याएका छैनौं ।’

शनिबार सुर्खेत आइपुगेको एक गाडी अनुदानको ३४० बोरा डिएपी र ८० बोरा पोटास आइतबार वीरेन्द्रनगर नगरपालिकाका विभिन्न १४ वटा कृषि सहकारी संस्थाहरुलाई वितरण गरिएको थियो । प्रमुख गौतमले आइतबार मात्रै विभिन्न सहकारीलाई मल वितरण गरिसकिएको बताए । कृषि सामाग्री मल, बिउ, विषादी, कृषि औजारको आपूर्ति व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी तोकिएको भएपनि नियमनकारी निकाय नभएको बताइएको छ । पहिले जिल्ला कृषि विकास कार्यालयहरुलाई नियमनको जिम्मेवारी पाएपनि अहिले उक्त कार्यालयहरु खारेज भएको हुँदा नियमन र कारवाहीको विषयमा अन्यौलनै रहेको कृषि सामाग्री केन्द्रका प्रमुख गौतमले जानकारी दिए ।

अनुदानको मल लिने सहकारीहरु
हरियो हिरा कृषि सहकारी संस्था लि., शक्ति कृषि सहकारी, हातेमालो कृषि सहकारी, उत्तरगंगा सामाजिक महिला उद्यमी सहकारी, साना किसान कृषि सहकारी वीरेन्द्रनगर–३ र साना किसान कृषि सहकारी वीरेन्द्रनगर–९, सन्देश कृृषि सहकारी, कृषि सहकारी संघ, मनिकापुर कृषि सहकारी, जनचेतना कृषि सहकारी, चेतना कृषि सहकारी संस्था लि. रहेका छन् । प्रति सहकारी २४ बोरा डिएपी र ४ देखि ६ बोरासम्म पोटल मल कृषि सामाग्री कम्पनी लिमिटेडबाट बुझि लिएका छन् ।

तपाईको प्रतिक्रिया