अछामका स्वास्थ्य कर्मचारी सिद्धार्थ आउजीले किन गरे आत्मदाह

अछाम, ३२ जेष्ठ ।
न्याय हेल्थ नेपाल नामक अन्तरर्राष्ट्रिय गैरसरकारी संस्थाद्धारा सञ्चालित अछामको बयलपाटा अस्पतालले आर्थिक संकटका भएको भन्दै ३२ जना कर्मचारीलाई हटायो। जागिरबाट बिना कारण हटाएपछि कर्मचारी तनाबमा छन् । त्यस मध्येका अस्पतालमा सरसफाईमा कार्यरत सिद्धार्थ आउजीले यहि जेठ २६ गते आत्मदाह नै गरे । शरिरमा पेटोल छर्केर आगो लगाएका सिद्धार्थलाई उपचारका लागि नेपालगञ्जको कोहरपुर मेडिकल कलेज लगिएको थियो । अन्तत उनले त्यहि मेडिकल कलेजमा प्राण त्याग गरे ।

अहिले यस्तै तनाबमा छन् जनक कडायत। आर्थिक अवस्था कमजोर भएका जनक परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । जनक कडायत अस्पतालमा ६ वर्ष ३ महिनादेखि सिनियर फ्यासेलिटी कोर्डिनेटर पदमा कार्यरत थिए । संस्थाको कार्यसम्पादन, मुल्याकंन र अनुशासनमा उनी सधै अगाडी नै छन्। अस्पतालले ६ महिना अगाडी गरेको मुल्याकंन पनि उनी विशिष्टमै परेका थिए र उनको बढुवासमेत भयो। तर अस्पतालले निकालिएको कर्मचारीलाई कार्यसम्पादन, अनुशासन मुल्याकंन राम्रो नभएको भन्दै निकालेको बताउँदै आएको छ ।

आत्मदाहको घटनापछि अस्पतालले विज्ञप्ति निकाल्दै कर्मचारी हटाउने निर्णय स्थगन गरेको छ । जनकलगायतका निकालिएका कर्मचारी पीडीतले न्याय नपाउँदासम्म काम नफर्किने बताउँछन् । जनकले भने ‘सिद्धार्थले न्याय नपाउँदासम्म हामी काममा फर्किदैनौं, तत्काल रोजगार दिने र राहत नदिँदासम्म हामी काममा फर्किदैनौं र यो घटनालाई त्यसै सेलाउन दिदैनौं । हामी काममा फर्किए पनि त्यहाँ काम गर्ने वातावरण हुदैन अब । फेरि पनी सिद्धार्थ जस्तै अरु घटना नहोला भन्न सकिन्न ।’

अस्पतालमा एकै दिन एउटै पदमा जागिर खाएका कर्मचारीको तलब भत्ता पनि फरक रहेको निकालिएका हेल्थ असिस्टेन्ट हिमाल कुँवरले बताए । उनले भने ‘तलबमा समेत विभेद छ । अस्पतालभित्र गलतको साथ नदिँदा हामी निकलिएका छौं । अनियमितता निकै छ अस्पतालमा । अहिले घटनालाई तोडमोड गर्ने चलखेल हुँदैछ ।


कागजी रुपमा होइन साच्चिकै पीडितले न्याय पाउनुपर्छ। विज्ञप्तिमा कर्मचारी हटाउने निर्णय स्थगन भनिएको छ पुर्नबहाली भनिएको छैन्। अस्पतालमा कार्यरत कर्मचारीले अन्य क्षेत्रमा काम गर्न नपाउने नियम छ । तर यहाँ केहि कर्मचारीहरुले दुईरतीन ठाउँमा काम गरिरहेका छन् । अस्पतालको नियम कसैलाई लाग्ने, कसैलाई नलाग्ने यो कस्तो हो ?’ उनले प्रश्न गरे ।

कौशिला तिमिल्सेनाले पनि पीडितले न्याय नपाउँदासम्म काममा नजाने बताइन । उनी अस्पतालमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत रहेका थिइन्। उनले भनिन् ‘जागिरको कुनै लोभ छैन् । क्षमता भए पछि जता पनि जागिर पाइन्छ । यदि हामी यत्तिकै काममा फर्कियौं भने सिद्धार्थको आत्माले हामीलाई सराप्ने छ ।’  अस्पतालले ३२ जना भने पनि ३५ जना कर्मचारी निकालिएको एक जना कर्मचारीले बताइन । उनले भने ‘एक जना कर्मचारी त एक्कासी जागिर खोसिएको खबर पाएपछि डिप्रेशनमा गए, उनको अवस्था नाजुक भएपछि पुर्नबहाली गरिएको छ ।

काठमाडौंमा अस्पतालको सम्पर्क कार्यालय छैन् तर त्यहाँ २३ जनाको जम्बो टोली बसेर बिना काम लाखौं रकम खाइरहेका छन् । उनीहरुका लागि मात्र ७ करोड रकम छुट्याइएको छ । हटाइएका कर्मचारी १९ देखि २८ हजार तलब खाने छन् । आर्थिक संकट हो भने रातदिन नभनी काम गर्ने कम तलब खाने कर्मचारीलाई किन हटाइयो ? बढी खानेलाई किन राखियो ?’ उनले प्रश्न गरे ।

अस्पतालमा आउने रकम सबैभन्दा बढी तलब भत्तामा खर्च हुने गरेको छ । गत आर्थिक वर्षमा अस्पतालमा २२ करोड वैदेशिक रकम आएको थियो । यसमध्ये १८ करोड तलब भत्तामा सकिएको छ भने बाँकी ४ करोड अस्पताल व्यवस्थापनमा खर्च गरिएको स्रोतले बताएको छ । यसैगरी यो आर्थिक वर्षमा १६ करोड रकम प्राप्त भएको छ । जसमा तलब भत्तामा मात्रै १४ करोड छ भने अन्यमा २ करोड रहेको छ । अस्पतालमा १९ देखि २८ हजार तलब खाने ८० प्रतिशत छन् भने एक लाख भन्दामाथि तलब खाने २० प्रतिशत छन् । (अन्नपूर्ण पोष्टबाट)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार