प्रहरी बन्ने रहरले खेलकुदमा जमेकी नन्दा

सुर्खेतमा जन्मिएकी नन्दा बस्याल जसले तीन वटा फरक विधामा एकैसात यात्रा गरिरहेकी छन् । उनी खेलाडी मात्रै नभएर कलाकार तथा महिला अधिकारकर्मीको भूमिकामा पनि सशक्त रूपमा देखा परेकी छन् । सुर्खेतमा सबैभन्दा पहिलो महिला तेक्वान्दो खेलाडीको रूपमा परिचित छन् । झण्डै २६ वर्षदेखि खेलकुद तथा कलाकारिता क्षेत्रमा अनवरतसंघर्ष गर्दै आइरहेकी नन्दा विगत आठ वर्षदेखि महिला अधिकारकर्मीको रूपमा समाजमा योगदान पुरयाउन सक्रिय छन् । आजको जम्काभेटमा कलाकार, खेलाडी तथा अधिकारकर्मी नन्दा बस्यालसँग युगआह्वान राष्ट्रिय दैनिकका लागि सम्वाददाता सुशील खड्काले गरेको कुराकानीको सम्पादित अंश :–

यस्तो रह्यो बाल्यकाल :-
वीरेन्द्रनगरको बालमन्दिरबाट अक्षर चिनेकी नन्दाले कक्षा १ देखि ५ सम्म त्यहीँ पढिन् । बाँकी पढाइ वीरेन्द्रनगरको जन माविबाट पूरा गरिन् । २०५९ सालमा एसएलसी दिएकी उनले पद्मकन्या क्याम्पस काठमाडौंबाट प्लसटू पूरा गरिन् । विद्यालय स्तरमा हुने खेलकुद होस् वा साँस्कृतिक हरेक कार्यक्रममा नन्दाले भाग लिन्थिन् । लङजम्प जस्ता प्रतियोगितामा सधै प्रथम हुन्थिन् । मध्यम वर्गिय परिवारमा हुर्किएकी नन्दालाई आमाको सपना भने देशको रक्षार्थ प्रहरी बनाउने थियो । २०५० सालबाट नै कलाकार र खेलकुदलाई अघि बढाएकी नन्दाले आत्मरक्षाका लागि तेक्वान्दोमा जोडिने निधो गरिन् । ‘फिल्म हेर्दा हिरोले जहिले पनि गुण्डाहरुलाई हानेको देख्दा म पनि आत्मरक्षार्थ तेक्वान्दो सिक्नुपर्छ भन्ने लाग्थ्यो’ नन्दाले भनिन्, ‘ऊबेला छोरीलाई नृत्य गर्न होस् वा खेलकुदमा सहभागी हुन जानै नदिने संस्कार थियो । तर मेरो परिवारले छोरीले पनि केही गर्नुपर्छ भनेर ति प्रतियोगितामा सहभागी हुन हौसला दिन्थे ।’

यसरी बनिन् तेक्वान्दो खेलाडी :-
उतिबेला सुर्खेतमा रंगीन टेलिभिजन आइपुगेका थिएनन् । सादा टेलिभिजनमा देखाइने हरेक लडाईंमा पुरुष मात्रै देखाइने गरिएको हुन्थ्यो । उनी आफूलाई केटीको रूपमा लिने गर्थिनन्, बरू उनलाई आफू केटा नै हौं भन्ने लाग्थ्यो । केटाहरूसँगै विभिन्न खेल खेल्ने उनको बानी नै परेको थियो । ‘केटी भए पनि आफू आत्मरक्षा गर्न सक्ने हुनुपर्छ । लडन सक्नुपर्छ भन्ने कुरा मनमा लागिरहन्थ्यो । ठूलो भएपछि प्रहरी हुने, ड्रेस लगाएर देशको रक्षा गर्ने भावनाले मनमा डेरा जमाउँदै गयो । यो ६ कक्षामा जन माध्यमिक विद्यालयमा पढ्दाको कुरा हो,’ उनी भन्छिन्, ‘प्रहरी हुनको लागि खेल खेल्नुपर्ने, बलियो हुनुपर्ने थियो । उतिबेला सुर्खेतमा खेलहरू खेलिने भनेको रंगशालामा नै हुन्थ्यो । शुरूमा मैले तेक्वान्दो सिक्ने अठोट लिएँ ।’ खेलप्रतिको मोह उनको यति धेरै थियो कि घर आउँदा र जाँदा बाटोका रुखमा पनि किक हान्ने, भित्तामा ब्याक किक हान्ने, बाटोमा ढुंगा देख्दा फुटाउने सोच आउने गर्द्थ्यो । उनी त्यतिबेला भर्खर १२ वर्षकी थिइन् । ‘त्यो बेलाको समाज अहिलेको जस्तो खुला समाज थिएन, छोरीलाई सकेसम्म घरबाहिर नपठाउने चलन थियो । उनी सुनाउँछिन्, ‘तेक्वान्दो खेल्दा मलाई आमाले साथ दिनुहुन्थ्यो, केटी मान्छे बलियो हुनुपर्छ । प्रहरी नै बन्नुपर्छ भन्ने आमाको चाहना थियो । आमा अमृता बस्याल र हजुरबुवा कालुराम बस्यालको प्रेरणाका कारण म खेल क्षेत्रमा निर्वाध रूपमा प्रवेश गर्न पाएकी हुँ ।’

तौल बढाउन केरा खाएको क्षण :-
२०५२ सालमा बुटवलमा राष्ट्रिय गेम भयो । उतिबेला उनको तौल जम्मा २५ केजी मात्रै थियो । त्यहाँ खेल खेल्दा २८ केजी हुनैपर्ने थियो । उनी केरा खाएरै भए पनि २८ केजी तौल पु¥याउन सफल भइन् । उतिबो सुर्खेतमा ६ जना खेलाडीको खेल्न जाने सम्भावना भए पनि उनीबाहेक अन्य पाँच जना छनोट नै भएनन् । अरू सबै पुरुष नै थिए । उनका गुरु भुवन थापाले उनलाई बुटवल लगेर गएका थिए । ‘पुरुष र महिला छनोट गर्ने भए पनि म मात्रै छनोट भए । त्यतिखेर द्वितीय मेडल ल्याएँ । जीवनमा पहिलो पटक मेडल तक्मा लाउने सपना पूरा भएकोमा उनी अति नै खुसी नै भइन् । विसं २०५४ सालमा उनले बल्याकबेल्ट प्राप्त गरिन् । ‘राजा वीरेन्द्रको जन्मदिनको अवसर पारेर मैले बेल्ट लिएको हो । त्यतिबेला काठमाडौंमा नै बेल्ट पाइन्थ्यो । त्यहाँ प्रतिस्पर्धा गरेर मैले गोल्ड मेडल पनि जितें’ उनी भन्छिन्, ‘हाल ल्याकबेल्ट पाँचौं डान, तेक्वान्दो संघको केन्द्रीय सदस्य, तेक्वान्दो संघको महिला विभागको प्रमुखको छु । आजसम्म अफिसियल्ली खेलभन्दा आमन्त्रित खेलहरू धेरै खेलियो । चार वर्षमा वा तीन वर्षमा हुने सरकारद्वारा आयोजना गरिने खेलहरूमा प्रायः सहभागिता जनाएको छु ।’ सन् २०१६ मा एसियन तेक्वान्दो हांगमादान गोल्ड मेडल, ब्याक किक विद्यामा गोल्ड मेडल प्राप्त गरेकी नन्दाले अक्टोबर १९ मा भएको थानपा इन्टरनेश्नल तेक्वान्दो च्याम्पियनसिपमा गोल्ड मेडल, इन्डोनेशियामा भएको नोभेम्बर २८ मा सिल्भर मेडल पाएकी छन् । उनी तेक्वान्दो खेलकी कुशल प्रशिक्षक पनि हुन् ।

क्यासेट बजाएर नाच्ने नन्दा :-
नन्दा बाल्यकालमा गीतको तालमा नाच्ने गर्थिन् । उनलाई अभिभावकले भनेअनुसार खुट्टामा उभिने भएदेखि नै नाच्न थालेकी थिइन् रे ! कलाकारिता सिंगार रसमा गर्नुपर्ने, मोडल भनेपछि सबैको नजर पर्ने, बलियो भएर हिँडनुपर्ने उनको बुझाइ छ । उनी आफ्नो रगतमा नै नृत्य नै छ जस्तो महशुस गर्छिन् । ‘सानैदेखि तालमा राम्रै नाच्थेँ रे ! देउसी खेल्दा बोकेर दाइ दिदीले लिनुहुन्थ्यो बालमन्दिरमा मुखैले गीत गाएर नाच्दा आफू पहिलो भएको उनले बताइन् । क्यासेटमा नाच्नुपर्छ । सिंगल नृत्य गर्नुपर्छ भन्ने कला सुर्खेतमा आफूले भित्र्याएको उनको भनाइ छ । वागिना समूहले नै कलाकारिताको यो उचाइँमा पु¥याएको नन्दा बताउँछिन् । अगुरु कुलमान नेपाली र स्व. टेकराज भारतीका कारण नृत्यमा आफूलाई अब्बल बनाउन सफल भएको नन्दाको भनाइ छ । ‘मैले गरेको कोरियोग्राफरबाट बेस्ट डान्स डाइरेक्टर उपाधि पाएकी थिएँ । चार महिनाअघि कतारमा बेस्ट मोडलको अवार्ड पाएँ । सगरमाथा म्यूजिक अवार्डमा अभिनयबाट बेस्ट एक्टरको मेडल पाँए,’ उनी प्रफुल्ल हुँदै सफलता सुनाउँछिन्, ‘मेरो आफ्नै म्यूजिक कम्पनी छ । काजोल म्युजिक कम्पनी २०७० सालमा खोलेकी हुँ ।’ नेपाल टेलिभिजनबाट प्रसारण हुने झ्याइँकुटी झ्याईंमा बस्यालले आठवर्ष काइँलीको भूमिका निर्वाह गरिसकेकी छन् ।

सिस्टर नेपालको शुरुवात :- 
उनी कार्यक्रमकै लागि देश तथा विदेश चहारेकी छन् । विश्वका दर्जन बढी देशमा पुगिसकेकी बस्यालले नेपाली महिलाको अवस्थाबारेमा सोच्न थालिन् । अन्य देशका महिला र नेपालका महिलामा धेरै फरक रहेको उनले बुझिन् । महिलालाई कसरी माथि उठाउन सकिन्छ र पीडामा भएका महिला दिदिबहिनीहरूलाई कसरी खुशी दिन सकिन्छ भन्ने सोच आउन साथ उनले ‘सिस्टर नेपाल’ नाम संस्था स्थापना गरिन् सात वर्षअघि काठमाडौंमा । ‘सात वर्षदेखि संस्थाले काठमाडौंमा कार्यक्रम गरिरहेको छ । यो संस्थाले महिलाहरूको हक अधिकारको लागि काम गर्दै तथा सम्मान दिँदै आएको छ । कतिपय महिलाहरू मानसिक तनाव लिएर बसेका हुन्छन् । अन्य संस्थासँग मिलेर उनीहरूलाई तालिम दिलाउने काम गरिरहेको छौं’ उनले भनिन्, ‘महिला महिला एकजुट भएर स्वास्थ्य, सरसफाइका विषयमा जनचेतना जागरण गर्ने गर्छौं । हामीले धेरै महिलाहरुलाई उद्दार तथा राहत पनि दिइसकेका छौं ।’ उनी जिन्दगीलाई चुनौती र प्रतिस्पर्धा नै हो भन्ने रूपमा बुझ्ने गर्छिन् । (२०७७ जेष्ठ ३० गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया