सुर्खेत, ३१ जेष्ठ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा संचालित रेडियो डाँडादरा एफ.एम. को प्रसारण २० दिनदेखि बन्द रहेको छ । स्थानीय नगरपालिकामै उत्पादन हुने विद्युतबाट सञ्चालित रेडियो विद्युतको लाइन काटिएपछि प्रसारण बन्द भएको हो । ‘विद्युत आयोजनाका अध्यक्षको निर्देशनमा विद्युत लाईन काटिँदा रेडियोको प्रसारण बन्द भएको हा,’ रेडियो संचालक समितिका अध्यक्ष राम विष्टले भने, ‘१.५ एम्पियरको मेनस्वीच (एम.सी.) जडान गरेपछि रेडियोको ट्रान्समिटर चल्ने विद्युत नपुगेका कारण यसरी विद्युत दिएका छौं भन्नु भन्दा लाइन कटाइदिनुस भन्यौं। अहिले लाइन काटिएको छ ।’
रेडियोको स्थापनादेखि नै खमारी खोलाको विद्युतले नै रेडियो चल्दै आएको अध्यक्ष विष्टले बताए। उनले विगत ५ वर्षदेखि सोही खोलाको विद्युतबाट रेडियो चलाउँदै आएको बताए । तर पटक मात्र विद्युत पुग्दैन भन्ने बहानामा लाइन कटाइएको उनले आरोप लगाए ।
रेडियोको कार्यसमितिकै बैठकमा खमारी खोला लघु जलविद्युत आयोजनाका अध्यक्षले नेपाली कांग्रेस बाहेक कुनैपनि पार्टीको सूचना, विज्ञापन र समाचार प्रशारण नगर्न दवाब दिएको आरोप अध्यक्ष विष्टले लगाए । उनले भने, ‘समितिको बैठकमै उहाँ (अध्यक्ष)ले कांग्रेस बाहेक अरु कुनैपनि पार्टीको सूचना, विज्ञापन र समाचार प्रशारण नगर्नु भन्नु भएको थियो । हामीले त्यसो गर्न सक्दैनौं भन्दा म विद्युतको लाईन कटाइदिन्छु भनेर जानु भएको थियो। पछि काटियो ।’
प्रतिशोध हैन विधुत नपुगेर हो : ढुङ्गाना
खमारी खोला लघुजलविद्युत आयोजनाका अध्यक्ष जीवन ढुङ्गानाले सबै आरोप निराधार भएको बताएका छन् । उनले विद्युत नपुग्ने भएका कारण सम्पूर्ण उद्योग धन्दासहित रेडियोको विद्युत कटाएको बताए । उनले भने, ‘पहिलेका वर्षहरुमा लोडसेडिङ गरेर रेडियोलाई विद्युत उपलब्ध गराइन्थ्यो । अहिले मैले लोडसेडिङ कटाएको कारण उपभोक्ताको घरमा विद्युत छ रेडियोमा छैन ।’
उपभोक्तालाई विद्युत नदिँदा १ लाख ५० हजार महिनामा कम्पनीलाई घाटाहुने उनको धारणा छ। उनले भने, ‘एकदिन एकतर्फ विद्युत दिँदा अर्को तर्फको मिटर त चल्दैन । १ महिनामा १५ दिनमात्र विद्युत दिँदा १ लाख ५० घाटा हुन्छ। र अर्कोकुरा अहिले पानीको स्रोत सुकेर २७÷२८ किलोवाटमात्र विद्युत उत्पादन हुँदा रेडियो र अन्य उद्योगहरुलाई दिन नसकिएको हो ।’
विधानमा ०.५ देखि १.५ एम्पियरको एमसी राख्ने व्यवस्था गरेको हुँदा सबैलाई सोही एमसी राख्ने व्यवास्था गरेको अध्यक्षको दाबी छ । स्रोतका अनुसार नगरपालिका भित्रकै १ जना नेकपाका वडाध्यक्षले बैंकमा आउने वृद्धभत्ता ल्याएर गाउँमा बाँढेको समाचार रेडियोबाट प्रशारण भएपछि उक्त समस्याको सृजना भएको हो ।
वडाअध्यक्षले बैंकमा आफै जमानी बसेर लकडाउनको बीचमा वडामा रहेका वृद्धाहरुको भत्ता वडामै लगेर वितरण गरेका थिए । समाचारका कारण एकजना व्यक्तिमाथि हातपात भएको भिडियो सामाजिक सञ्जालमा आएपछि विवाद सतही भएको हो । सामाजिक सञ्जालमा पत्रकार हुँ भन्ने एक जना व्यक्तिलाई अर्को व्यक्तिले हातपात गरेको भिडियो भाइरल भएको छ ।
युग संवाददाता । । ३१ जेष्ठ २०७७, शनिबार १८:१०