किसानको नाममा मन्त्रीका आफन्तलाई तीन करोड बाँडिदै (११६ जनाको नामावलीसहित)
अनुदान पाउनेको सुचीमा मन्त्रीका भाई र आफन्त, सांसदका पीए, स्थानीय तहका जनप्रतिनिधि र पार्टीका कार्यकर्ता
सुर्खेत, ३१ जेष्ठ ।
आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नेता तथा कार्यकर्तालाई झण्डै तीन करोड बजेट बाँढ्ने तयारी गरेको छ । मन्त्रीलयले बाँढेको अनुदान पाउनेहरुको सूचीमा मन्त्रीका भाई, सांसदका पीए, जनप्रतिनिधि र नेता कार्यकर्ता छन् । चालु आर्थिक २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि व्यवसाय प्रबद्र्धन कार्यक्रम सञ्चालनका लागि अनुदान कार्यक्रम उपलब्ध गराउने कार्यक्रम अन्तर्गत एकसय १६ जनालाई झण्डै तीन करोड अर्थात दुई करोड ९५ लाख रकम बाँढ्न लागेको हो ।
फरक क्षमता भएका, द्वन्दपीडित, बेरोजगार युवा, प्राविधिक (कृषि तथा भेटेनरी) शिक्षा अध्ययन गरेका तथा विदेशबाट फर्केका युवा कृषिक र कृषि तथा पशुपालन व्यवसायमा संलग्नलाई अनुदान दिने प्रावधान तोके पनि अन्ततः पहुँचवालालाई मात्रै अनुदान वितरण गर्ने तयारी भइरहेको छ । मन्त्रालयले दश वटा जिल्लाका कृषि निर्देशनालय, कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सो रकम वितरण गर्ने अन्तिम तयारी गरेको हो । अनुदान पाउनेको सुचीमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलका भाई, भान्जा, स्वकीय सचिवकी श्रीमती र गाडी चालक पनि छन् । नेकपा कर्णाली प्रदेश कमिटी सदस्य जीत बहादुर रानाले राना कृषि पःर्मकाे नामबाट विगत चार बर्षदेखि लगातार अनुदान लिँदै अाएका छन् । उनले ब्यवसायी तरकारी उत्पादनका लागि चालु अार्थिक बर्षकाे बजेटबाट समेत ४ लाख ५० हजार रकम अनुदान कृषि निर्देशनालयबाट लिएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट चालु आर्थिक वर्षमा मन्त्री रावलका भाई पूर्णबहादुर रावललाई स्याउ ओखर उत्पादन तथा बिक्रीका लागि भन्दै दुईलाख ३० हजार अनुदान दिन लागिएको छ । सिमकोट गाउँपालिका २ मा रहेको कन्सर्नएग्रो हिमालय प्रालिमार्फत भाइलाई रकम दिलाउन मन्त्री रावलको दौढधुप चलेको स्रोतले जनाएको छ ।
यस्तै मन्त्री रावलका भान्जा अशोक भण्डारीलाई पनि दुईलाख ३० हजार बजेट दिन लागिएको छ । चंखेली गाउँपालिका–१ मा रहेको अशोक कृषि फलफूल तथा पशुपालन फर्ममार्फत खेती प्रविधि उत्पादन, संकलन र प्रशोधनका लागि अनुदान दिन लागिएको हो । उनी हाल बबईमा एचए पदमा कार्यरत रहेका छन् । त्यस्तै मन्त्री रावलका सवारी चालक र स्वकीय सचिव नन्दबहादुर रोकायकी श्रीमतीको नाम पनि अनुदान पाउनेको सुचीमा छ । स्वकीय सचिव रोकायाले श्रीमती आइती रोकायालाई बाख्रापालनका लागि दुई लाख ५० हजार अनुदान दिलाउन लागेका हुन् ।
वीरेन्द्रनगर–१२ को ठेगानामा फर्म रहेको देखाउँदै सो अनुदान दिलाउने तयारी गरिएको बुझिएको छ । त्यस्तै मन्त्रीका सवारी चालक सन्तोष रावलले दुई लाख तीस हजार दिने तयारी गरिएको छ । उन्नत पशुपालन गरी आर्थिक उपार्जनका लागि घाँस तथा दानाको व्यवस्था गर्न अनुदान दिन थालिएको हो । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सल्यानको कुमाख गाउँपालिका वडा नं. ६ की रुमा शर्मालाई साढेचार लाख रुपैयाँ अनुदान दिलाउन थालेकी छिन । उनलाई महिला भएको र जेटिए अध्ययन गरेको भन्दै मन्त्रालयले बाख्रापालनका लागि भनेर उक्त रकम दिने तयारी गरेको हो ।
रुमाका श्रीमान् मुकुन्द शर्मा कृषि कार्यालय सुर्खेतमा कार्यरत छन् । शर्माकी आमा मन्त्री केसीको आफन्त हुन् । सोही आधारमा उनलाई सबैभन्दा धेरै अनुदान रकम दिलाउन थालिएको छ । त्यस्तै दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ४ की सीताकुमारी शाही कर्णाली योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीकी दिदी हुन् । उनले दर्ता गरेको सिंह पहुपालन तथा कृषि व्यवसाय नामक फर्मलाई दुईलाख पचास हजार रुपैयाँ दिन थालिएको छ । त्यस्तै हुम्लामा संघीय सांसद छक्कबहादुर लामाका पीए नेत्र महत्तरालाई साढेदुई लाख बजेट दिलाउने तयारी भइरहेको छ ।
सर्केगार्ड गाउँपालिका–२ मा रहेको शिक्षा तथा पशुपालन फर्मबाट गोठ मर्मत तथा गाई खरिदका लागि भन्दै दुई लाख ५० हजार रुपैयाँ अनुदान दिलाउने तयारी भइरहेको छ । हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले भाउजु मञ्जु रावललाई दुईलाख अनुदान दिलाउन लागि परेका छन् । अनुदान दिलाउँदा मञ्जु रावललाई द्वन्दपीडित उल्लेख गरिएको छ । उनी पनि किडार्क नेपालमा जागिर गर्छिन् । मन्त्रालयले मञ्जुश्री कृषि तथा पशुपालन फर्मबाट स्याउ खेति तथा घेरबार गर्न दुई लाख रकम दिलाउन थालेको जनाएको छ ।
हुम्लाकै चंखेली गाउँपालिका–३ कि नेतृ लक्ष्मी बुढा (उन्नती) ले पनि द्वन्दपीडितको नामका बाँझो जग्गा सदुपयोगका लागि भन्दै दुईखाल ३० हजार रुपैयाँ अनुदान लिने तयारी गरेकी छिन् । जिल्ला कमिटी सदस्यसमेत रहेकी उनले उन्नती कृषि तथा नर्सरी फर्मका नाममा स्याउ अखर खेतिका लागि अनुदान बुझ्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
जनप्रतिनिधिलाई पनि अनुदान
जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि सरकारी अनुदान लिने तयारी गरेको खुलेको छ । मन्त्रालयबाट शिवालय गाउँपालिका जाजरकोटका वडा सदस्य गोपालबहादुर घर्तीले दुईलाख रुपैयाँ अनुदान लिन थालेका छन् । उपार्जन जडिबुटी उत्पादन सहकारी संस्था लिमिटेडको नामबाट तरकारी उत्पादन तथा सिंचाइ गर्न भन्दै दुईलाख रुपैयाँ दिने अन्तिम तयारी गरेको मन्त्रालयले जनाएको छ ।
यद्यपी उनको सहकारी संस्थामा भने निस्कृय छ । त्यस्तै जुम्लाका नेकपा प्रदेश सदस्य पूर्णप्रसाद धितालले श्रीमती मनकोइला धितालका नाममा साढे दुइलाख रुपैयाँ अनुदान लिन थालेका छन् । चन्दननाथ नगरपालिका ४ मा रहेको हिमाल डेरी उद्योगको फर्मबाट आवश्यक मेसिन खरिदका लागि भन्दै अनुदान दिने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
श्रीमतीको नाममा अनुदान
जुम्लाका पूर्णप्रसाद धिताल नेकपा प्रदेश कमिटी सदस्य हुन् । हुम्लाका नन्द रोकाया सामाजिक विकास मन्त्री दल रावलका स्वकीय सचिव हुन् । तर दुबै जनाले श्रीमतीको नाममा अनुदान लिने तयारी गरेका छन् । हुम्ला स्थायी घर भएका रावलले श्रीमतीको ठेगाना सुर्खेत कायम गरेका छन् । यसरी श्रीमतीको नाम र गलत ठेगाना राखेर अनुदान लिनेहरुको सुची निकै लामो छ ।
अनुदान लिनेहरुको लिस्टमा ८० प्रतिशत नेता कार्यकर्ताले श्रीमतीको नाम र गलत ठेगाना राखेका छन् । नेता र कार्यकर्ताले सरकारी अनुदान लिएको लुकाउन यसपटक नयाँ जुक्ती अपनाएको पाइएको हो । सरकारी बजेट लिएको भन्दै मन्त्री, सांसद र नेता कार्यकर्ताको सार्वजनिक आलोचना हुन थालेपछि यसपाली अधिकांशले ठेगाना परिवर्तन र श्रीमतीको नाममा अनुदान लिने तयारी गरेका छन् । उसो त मन्त्रालयले नै कार्यकर्तालाई अनुदान बाँढ्न गोप्य रुपमा सूचना टाँस गरेर दरखास्त आव्हान गरेको भेटिएको छ । मंसिर १९ गते सूचना प्रकाशित गरेर चैत १० गते अनुदान पाउनेहरुने व्यक्तिहरु टुङ्गो लगाएको छ । (२०७७ जेष्ठ ३१ गते शनिबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)
