कर्णालीमा थप ८३ जनामा कोरोना संक्रमण, ८४६ जना पुगे सक्रमित

सुर्खेत, ३० जेठ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या आठ सय ४६ जना पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ८३ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

सुर्खेतको लेकबेसी नगरपालिकामा मात्रै दुई महिलासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, भेरीगंगा नगरपालिकाका ६ जना पुरुष, चिङ्गाड गाउँपालिकाका ५ जना पुरुष, सिम्ता गाउँपालिकामा २ जना र वीरेन्द्रनगर नगरपालिकाका एक जना पुरुष छन् । दैलेखको दुल्लु नगरपालिकामा ४ महिलासहित २८ जना, भैरवी गाउँपालिकामा एक महिलासहित ७ जना र ठाँटीकाँध गाउँपालिकामा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म प्रदेश भरिका ८२ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य अधिकृत करुणा भट्टराइले जानकारी दिइन् । उनका अनुसार शुक्रवार दैलेखबाट मात्रै २२ जना घर फर्किएका हुन् । जिल्लाको सरस्वती मावि तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत मध्ये शुक्रबार २२ जनाले कोरोना जितेका छन् । शुक्रवार कोरोना जितेकाहरूको दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएपछि शुक्रवार नै डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए ।

कोरोना जित्नेमा जिल्लाको नारायण नगरपालिकाका २० महिने बालक पनि रहेको र कोरोना जितेर फर्किने सबै भारतबाट आएको पन्तले जानकारी दिए । आइसोलेसनमा उपचाररत उनीहरूको पीसीआर रिपोर्ट नेगेटिभ आएको र रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको पन्तले बताए । कर्णालीमा हालसम्म कोरोनाका कारण तीन जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया