प्रदेश लोकसेवा ऐनको पहिलो संशोधन पारित

सुर्खेत, ३० जेठ ।
कर्णाली प्रदेश सभाबाट ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७५’ लाई पहिलो संशोधनगर्न बनेको विधेयक सर्वसम्मतले पारित गरिएको छ । प्रदेश सभाको छैटौं अधिवेशनको शुक्रबार बसेको ११ औं बैठकले प्रदेश लोकसेवा ऐन सर्वसम्मतले पारित गरेको हो । बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा प्रतिवेदनसहित विधेयकमाथि छलफल गर्न सभा समक्ष प्रस्ताव गर्न समय दिएका थिए । मन्त्री भण्डारीले बैठकमा विधेयकमाथि छलफल गरियोस् भनि सभामा प्रस्ताव गरेका थिए ।

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य हिमबहादुर शाहीले प्रदेश लोक सेवा आयोगको विधेयक पहिलो संशोधन गर्नु प्रदेश सरकारको भूल भएको टिप्पणी गरे । उनले कुनै चरणनै पार नगरी पहिलो संशोधन विधेयक ल्याउनु सरकारको अपरिपक्वता र उन्माद भएको आरोप लगाए । छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य धर्मराज रेग्मीले प्रदेश लोक सेवा आयोगको पहिलो संशोधन विधेयक सान्दर्भिक रहेको बताए । ‘प्राविधिक त्रुटि हटाउन पनि विधेयकमा संशोधन आउन जरुरी थियो । विशेषगरी विधेयकको दफा ३ मा बढी छलफल भएको छ । जसले विधेयकलाई परिपक्व बनाएको छ’ रेग्मीले भने, ‘कानूनी र प्राविधिक कुरामा मिलाएर विधेयक ल्याईनु राम्रो पक्ष हो ।’

सभामुख शाहीले प्रदेश सभा सदस्यहरुले उठाएका कुराको जवाफसहित विधेयक पारितकालागि सभामा प्रस्ताव गर्न मन्त्री भण्डारीलाई समय दिएका थिए । उनले मुख्यमन्त्री शाहीको तर्फबाट सभामा उठेका जवाफ दिएर विधेयक पारितका लागि प्रस्ताव गरेसँगै उक्त विधेयक सभाबाट सर्वसहमतिले पारित भएको हो । बैठकमा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ‘प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ र ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ प्रदेश सभामा टेबुल गरेका छन् ।

तपाईको प्रतिक्रिया