सम्पादकीय : लकडाउन कसका लागि ?

कोरोना भाइसरको संक्रमण रोकथामका लागि भन्दै गरिएको लकडाउन आज ८० औं दिन पुग्दैछ । आजका दिनसम्म आइपुग्दा देशभर कोरोना संक्रमण फैलिएको छ । कर्णाली प्रदेशमा मात्रै झण्डै सातसय बढीमा कोरोना संक्रमण भइसकेको छ । कोरोना भाइरसकै कारण कर्णालीमा तीन जनाको मृत्यु भइसेकेको छ । नागरिकहरु भारतबाट गाउँ फर्किएसँगै कर्णालीमा पनि कोरोना संक्रमित तीव्र गतिमा फैलिएको छ । आजका मितिसम्म झण्डै ३० हजार नागरिक क्वारेन्टाइनहरुमा छन् । भारतबाट नागरिकहरु फर्किनेक्रम अझै रोकिएको छैन । जसले गर्दा भारतबाट आएका सबै नागरिकको कोरोना परीक्षण सम्भव असम्भव छ । दैनिक एक हजारबढी नागरिक भारतबाट गाउँ फर्किदा प्रदेशमा भने दैनिक पाँच सयको हाराहारीमा मात्रै कोरोना परीक्षण हुँदै आएको छ । यसर्थ सबैको कोरोना परीक्षण गर्न झण्डै तीन महिना लाग्ने देखिन्छ । यसरी हेर्दा कर्णालीमा कोरोना भूसको आगो झै फैलिने डर छ । उता कर्णालीका अधिकांश क्वारेन्टाइन अवस्था दयनीय छ । एउटै कोठामा सयौंलाई राखिएको छ । समयमै क्वारेन्टाइन व्यवस्थापन हुन नसक्दा वडाध्यक्षले छात्तिको भरमा क्वारेन्टाइन धानेका छन् । क्वारेन्टाइनमा रहेका सबैलाई प्रयोग गर्ने धारा र शौचालय एउटै छ । जसले गर्दा क्वारेन्टाइनबाटै संक्रमण फैलिन डर पनि उत्तिकै छ ।

क्वारेन्टाइनको व्यवस्थापनमा सुधार र परीक्षणको दायरा नबढ्दासम्म कोरोना संक्रमण रोक्ने उत्तम उपाय लकडाउन हो । यसर्थ संक्रमित थपिदै जाँदा लकडाउन थप प्रभावकारी हुन आवश्यक छ । यसलाई उचित व्यवस्थापन गरिनुपर्दछ । तर डरलाग्दो गतिमा संक्रमित थपिँदै जाँदा लकडाउन भने खुकुलो बन्दै गएको छ । लकडाउनलाई व्यवस्थित गराउनुपर्ने समयमा पहँुचवालाहरु कुनै न कुनै बहानामा सडकमा उत्रिन थालेका छन् । केही दिनयता सडकमा नाराजुलुस, मौन प्रदर्शन र भीडभाड जम्मा गर्ने जस्ता गतिविधिहरु बढ्दै गएका छन् । जोखिम बढ्दै गएका बेला सुर्खेतका व्यापारीहरुले पनि बैंकको ब्याज मिनाहा र घरभाडा छुट पाउनुपर्ने भन्दै आन्दोलन थालेका छन् । आन्दोलनरत पक्षका मागहरु सही भए पनि यो शक्ति प्रदर्शनको बेला होइन । कानूनतः जोखिम बढाउने गरी गरिएका कुनै पनि गतिविधि सामाजिक अपराधभित्र हुन् । यसले संक्रमणको जोखिम बढाउने काम गरेको छ ।

बरु भूषको आगो जस्तै गरी फैलिएको कोरोना संक्रमण रोक्थाममा हातमालो गर । तर बलिरहेको आगोमा घ्यूउ थप्ने काम बन्द गर । शक्तिवालाले सडकमा तान्डव नदेखाऊ । प्रशासनिक निकाय पनि मजदुर र विपन्न नागरिकहरुलाई थुन्ने तर पहुँचवालाको सडकमा नाङ्गो नृत्य हेरेर बसेको देखिन्छ । आखिर यो लकडाउन कसका लागि हो ? गरिबहरु लकडाउनका कारण घरमै थुनिएका छन् । उनीहरु भोकै छन् । तर यो महामारीको समयमा पनि सानालाई ऐन र ठूलालाई चैन जस्तै देखिएको छ । समग्रमा सबैले लकडाउनको पालना गरौँ । बरु यसलाई आवश्यकता अनुसार व्यवस्थित गरौं । यसले मात्र संक्रमणलाई नियन्त्रण गर्न सहज हुनेछ । (२०७७ जेष्ठ २९ गते विहिबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया