सुर्खेत, ३० जेष्ठ ।
कोरोना संक्रमितलाई भर्ना लिन आनाकानी गरेको रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पताल अन्नतः संक्रतिको उपचार गर्न बाध्य भएको छ । प्रदेश सरकारबाट सहयोग लिएर कोरोना विशेष अस्पताल घोषणा गरिएको चौरजहारीले सुरुमा सल्यानका कोरोना संक्रमित विरामी लिन अस्वीकार गरेको थियो । सल्यान बनगाड कुपिण्डेका विरामी लिन अस्वीकार गरेपछि कोरोना संक्रमितको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत र जिल्ला अस्पताल सल्यान विरामीहरु पुरयाइएको थियो ।
प्रदेश सरकारको अनुदान सहयोग लिएर कोरोना संक्रमित उपचार नगरेको अस्पतालका विषयमा युगआव्हान राष्ट्रिय दैनिक र युगन्यूट डटकमबाट नियमित खबरदारी गरिएको थियो । नियमित खबरदारीपछि अस्पताल आसपासका जिल्लाका कोरोना संक्रमित विरामी लिन बाध्य भएको हो । प्रदेश सरकारबाट डेढ करोड बजेट लिएर पनि संक्रमितको भर्ना नलिएपछि अस्पतालको चौतर्फी विरोध भएपछि बुधबारदेखि संक्रमितलाई उपचार गर्न बाध्य भएको हो । अस्पतालले बुधबार सल्यानका ११ जना कोरोना संक्रमितको उपचार सुरु गरेको अस्पताल प्रशासक डिलबहादुर गिरीले जानकारी दिए ।
प्रदेश सरकारले कोरोना विशेष अस्पतालको रुपमा घोषणा गरेको अस्पतालले रुकुमका जनप्रतिनिधिको दवावमा सल्यानका कोरोना संक्रमतिलाई भर्ना लिन मानेको थिएन । जनप्रतिनिधिहरुले नै अस्पतालमा कोरोना संक्रमितको भर्ना नलिन दवाव दिएपछि युगआव्हानले निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो । अस्पताललाई रुकुमपश्चिम, सल्यान र जाजरकोटका कोरोना संक्रमितको उपचार गर्ने उद्देश्यले प्रदेश सरकारले कोरोना विशेष अस्पतालका रुपमा तोकेको छ ।
हाम्रो खबरदारीका यी समाचार पढ्नुहोस :
युग संवाददाता । । ३० जेष्ठ २०७७, शुक्रबार १०:२२