संगीत र संघर्ष

गणेश भक्त गौतम
वीरेन्द्रनगर–७, इत्राम, सुर्खेत

पाटन चरने त्यो चौरीगाइले कस्तुरी देखे कि रानीमहलैमा
भाग्य भाग परने बेला दैवले छेके कि रानीमहलैमा
के भाउ छ घरबेटी आमा दाना सुपारीलाइ रानीमहलैमा
कहिल्यै घाम परने छैन कर्म दुखारीलाइ रानी महलैमा

गायक मोहनकुमार गौतम ज्यूको यो गीत चालिसको दशकको अन्त्यतिर रेडियो नेपालबाट घन्कन थालेपछि छोटै समयमा चर्चाको शिखर चुम्यो । गीतमा शब्द संङ्कलन उहाँकी धर्मपत्नी उत्तरादेवी गौतमको रहेको छ । छट्किलो लोकलयमा आधारित यो गीतमा शब्दहरू अत्यन्त मार्मिक रहेका छन् । त्यसमा गायक मोहनकुमार गौतमको श्रुतिमधुर कोकिल कण्ठले गीतलाई अत्यन्त कर्णप्रिय बनाएको छ । हुन त रेडियो नेपालमा रेकर्ड भएको उहाँको यही एउटा गीत मात्रै हो । तर पनि गीतमा भएको शब्द, लय र सुमधुर स्वर संयोजनले गर्दा उहाँलाई सुपरिचित बनाउन पर्याप्त मात्र भएन, कि यस गितले एउटा इतिहास नै कायम गर्न पुग्यो ।

गीतमा उनिएका शव्द र त्यसको भावले गायक मोहनकुमार र गीतका संकलनकर्ता उहाँकी धर्मपत्नीको जीवन संघर्षलाई उजागर गरेको छ । दुबै जनाले शैशवकालमै मातृवात्सल्य गुमाउन पुग्नु वास्तव मै जिवनको एक अन्यन्त दुखद पक्ष थियो । यसले नै उहाँहरूलाई जीवन भन्ने कुरा सुख हैन दुःखको एउटा यात्रा हो भन्ने पाठ सिकाउन पुग्यो र मान्छेले सुख या दुःखमा पनि उसैगरी रमाउन सक्नुपर्छ भन्ने तितो यथार्थलाई आत्मसात गर्न सक्षम बनायो । वास्तबमा उहाँहरूको जीवन यही यथार्थको एउटा ज्वलन्त दस्तावेज हो ।


दैलेखको एउटा सम्पन्न परिवारमा जन्मेका गौतमको बालककाल शिक्षा दिक्षाको अभाव नभए पनि सुखद् भने रहेन । वास्तवमै घामछायाँ जस्तै बन्न पुगेको हो । एक त वालकहरू त्यत्तिकै उदण्ड हुन्छन् त्यसमाथि सानैमा मातृवात्सल्यको अभावको कारण बाल्यकालमा उहाँमा उदण्डता हुने नै भयो । त्यो बाल मनोविज्ञान बुझ्न सक्ने कोही थिएन । बालककाल देखि नै उहाँमा संगितप्रति अगाध रूची रहेको भए पनि बुवाको भने किशोरावस्था देखि नै सरकारी जागिर खानुपर्छ भन्ने दबावकाबीच द्वन्द्वका कारण उहाँ संगितमा केही गर्ने उत्कृट चाहना बोकेर काठमाण्डौतिर हिँडेको बुझिन्छ । काठमाण्डौमा विशेषगरी फत्यमान लगायतका तत्कालिक चर्चित संगित साधकहरूसँग पनि उहाँको प्रचुर संगत भएको थियो ।

शास्त्रिय संगितमा उच्चस्तरको प्राज्ञिक दक्षता हाँसिल गर्ने इच्छाशक्तिका साथ त्यतैबाट बनारस पुग्नु र लामो समयसम्म बनारस बसी बडो संघर्षपूर्ण अध्ययन साधनागरी काशी हिन्दु विश्वविद्यालयबाट संगित विद्यामा स्नातक गरी नेपाल फर्कनु वास्तवमा हामी सबैको गर्वको विषय थियो । तर त्यसपछि उहाँले त्यही सीप र दक्षतालाई प्रयोग गर्नुको साटो मार्ग परिवर्तन गरी राजनीतिमा होमिनु दुर्भाग्यपूर्ण मान्नु पर्नेहुन्छ । उहाँ स्थानीय सरस्वती गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित हुन पुग्नुभयो । उहाँले प्रधानको पदमा रही जनताको मन जित्ने खालका प्रसस्त जनहितकारी काम गर्नु भयो र उहाँको सांगितिक छवी धुमिल हँुदै गयो । मान्छेले उहाँलाई राजनेताका रूपमा चिन्न थाले । फलस्वरूप उहाँको परिचय नै गायक मोहन हैन कि प्रधानको नामबाट हुन थाल्यो अधिकांश मान्छेले अझै पनि उहाँलाई प्रधानको नामबाटै चिन्छन् । काशी जानु कुतिको बाटो भने झैँ उहाँले कहिले कृषि कहिले व्यापार त कहिले ठेक्कापट्टा अनि कहिले समाजसेवा त कहिले राजनीतिमा बरालिएर समय बर्वाद गर्नु र यी कुनै पेशाबाट पनि अपेक्षित सफलता प्राप्त गर्न नसक्नु नै अवसादपूर्ण हो । समय पर्खेर बस्दैन बालुवालाई मुठीमा कसेर राख्छु झैँ हो, आफै चिप्लेर गइरहन्छ । उहाँबाट नेपाली गीत संगितले अपार सिर्जनाहरू पाउनुपर्ने थियो । त्यो पेटारो खुल्नै सकेन ।

उहाँले आफूले आफूलाई नचिनेको हो वा समाजले उहाँलाई चिन्न नसकेको हो । त्यसको जवाफ उहाँसँगै होला नहोला । यसबीचमा पनि उहाँले आफ्नो सांगितिक प्यास मेटाउन छिटफुट साङ्गितिक गतिविधि नगरेको हैन । यात्रा साङ्गितिक नामक एल्वम निकालिएको छ । अन्य फूटकर कार्यक्रमहरू भएका छन् । उहाँको जीवन समस्या, असफलता, संघर्ष र साधनाको एक अनौठो पुस्तक हो । यसलाई पढेर हामीले जीवन संघर्षका अनेकौ शुत्रहरू सिक्न सकिन्छ । जस्तोसुकै समस्या र असफलतामा पनि निराश र हतोत्साहित नभइ हाँसेरै जीउन सक्नुपर्छ भन्ने जीवनदर्शन उहाँको जीवनीबाट पाउन सकिन्छ । निकट भविष्यमा प्रकाशित हुने कर्णाली प्रदेशका अन्य कलाकार साहित्यकारको जीवनीसँगै उहाँको जीवनी पनि विस्तृतरूपमा आउने नै छ । हाल शास्त्रिय संगित समाज नेपालले उहाँलाई कर्णाली प्रदेश संयोजकको रूपमा मनोनित गरेको छ । हुन त यो आफैमा त्यस्तो ठूलो कुरो केही हैन । तर पनि काठमाण्डौले धेरै लामो समय पछि उहाँलाई सम्झेको छ । यो कार्यकाल कसरी हुन्छ उपलव्धिमूलक बनाउनु छ । उहाँका शुभचिन्तक सबैले साथ र सहयोग दिन जरूरी छ । मूख्य कुरा उहाँको स्वास्थ्य हो । उहाँ स्वयम् , परिवार तथा आफन्त शुभचिन्तक सबैले यस कुरामा विशेष चासो राख्न जरूरी छ । सुस्वास्थ्य र दीर्घायुको कामना ।
फूलिरहे हजारी फूल लगाइ दिँउला माथ रानीमहलैमा
कर्म दुःखी यो मन वैरागी कोइनाइ मेरा साथ रानीमहलैमा
उनी र कस्मेरा कोट धोवीले धोला कि रानीमहलैमा
मेरो जस्तो यो मन बैरागी अरू कोही होला कि रानीमहलैमा…..
के भाउ छ ….।
(२०७७ जेष्ठ २७ गते मंगलबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार