कालीकोट टिपर दुर्घटनामा २ जनाको मृत्यु, ३४ जना यात्रु सम्पर्कमा, ३ जना अझै बेपत्ता

सुर्खेत, २८ जेष्ठ ।
कालीकोटमा भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । टिपरमा सवार ३४ जना यात्रु सम्पर्कमा आएका छन् । टिपरमा जम्मा ३९ जना सवार भएको र दुर्घटनाअघि नै केही यात्रु सडकमा हाम्फालेको प्रहरीले बताएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजीवबहादुर बस्नेतका अनुसार दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् ।

उनीहरुको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । ३९ जना सवार रहेको टिपर बुधबार बिहान करिब १०ः४० मा लालीघाटस्थित कर्णाली नदीमा खसेको थियो ।  टिपर चालक २९ वर्षीय रंगनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार धेरै यात्रु चढाएको भनेर चालकसँग यात्रुको भनाभन भएपछि चालक धमला टिपर छोडेर हिँडेका थिए ।

घटनास्थलबाट भागेका उनलाई प्रहरील नियन्त्रणमा लिएको हो । कोरोना प्रकोपको कारण भारतका विभिन्न ठाउँबाट आएका उनीहरुलाई कालीकोटको रास्कोटस्थित क्वारेन्टाइनमा लगिँदै थियो । टिपरको व्यवस्था पनि रास्कोट नगरपालिकाले गरेको एसपी बस्नेतले बताए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुर्घटनामा परेका घाइतेको उद्धार र बेपत्ताको खोजी गरी उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, ३८ जना यात्रु बोकेर रास्कोटतर्फ जाँदै गरेको ट्रिपर दुर्घटना भएको थियो । दुर्घटनामा पछि नदीमा बगेका ३४ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका ३४ जना मध्ये ९ जना घाइते रहेको प्रहरी प्रमुख श्यामबावु वलियाले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा राष्कोट नगरपालीका २ कि २३ वर्षिय शर्मिला सार्की, २१ वर्षिय ठम्मि सार्कि रहेका छन् । दुर्घटनामा घाईते हुनेहरुमा राष्कोट नगरपालिका २ का अनिता सार्की, गोविन्द सार्की, कमला सार्की, निल सार्की, विवेक चौधरी, देवराज सार्की, अनिता सार्की, मिन सार्की र गोपाल सार्की रहेका छन् । सामान्य घाइतेको उपचार जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ, भने गम्भिर घाइते दुई जनालाई हेलिकप्टरमार्फत उद्धार गरि काठमाण्डौ लगिएको छ ।

तपाईको प्रतिक्रिया