कालिकोटमा टिपर कर्णालीमा खस्यो, ३३ बेपत्ता

कालीकोट, २८ जेष्ठ ।
कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको छ । नरहरिनाथ गाउँपालिका–१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो । बुधवार बिहान खसेको टिप्परमा ३९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये ६ जनाको उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिए ।

‘मान्छे बोकेर लिएको टिप्पर दुर्घटना भएको रहेछ, ३९ जना त्यसमा भएको प्रारम्भिक जानकारी आएको छ,’ एसपी बस्नेतले भने, ‘तीमध्ये ६ जनाको उद्धार भएको छ, टिपर नदीमा डुबेको भन्ने खबर आएको छ ।’ एसपी बस्नेतका अनुसार उद्दार गरिएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट लिइएको छ ।

उद्दारका लागि सुरक्षाकर्मीको टोली दुर्घटना स्थलतर्फ गईरहेको उनले जानकारी दिए । रास्कोट नगरपालिकाका मेयर काँशिचन्द्र बरालले भारतबाट आएकालाई क्वारेन्टिनमा ल्याउने क्रममा टिपर खसेको बताए । ‘भारतबाट आएका हाम्रा र अन्य पालिकाका मानिसलाई क्वारेन्टिनमा ल्याउने क्रममा दुर्घटना भएको हो,’ मेयर बरालले भने ।

तपाईको प्रतिक्रिया