कालिकोटमा एमसीसीविरुद्ध अनेरास्ववियुले पुत्ला जलायो

तुलराज पाण्डे
कालिकोट, २८ जेष्ठ ।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित गर्न लागेको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट भातृसंगठन अनेरास्ववियू विरोधमा उत्रिदै आएको छ । संगठनले एमसीसी सम्झौता देशका लागि घातक हुने भन्दै निरन्तर गर्दै आएको प्रदर्शनको क्रममा मङगलबार पनि कालिकोटको मान्म प्रतिमाचोकमा प्रदर्शन गरेको छ । बिभिन्न नारा लगाउँदै प्रतिमाचोकमा भेला भएका विद्यार्थीहरुको ठूलो समूहलाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य नेता भिम प्रसाद आचार्यले राष्ट्रियताविरुद्ध रहेको एमसीसी कुनै पनि हालतमा पारित हुन नहुने बताए ।

उहाँले एमसीसी अमेरिकी सैन्य परियोजना इण्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत रहेको उल्लेख गर्दै नेपाललाई जबर्जस्ती असलंग्न परराष्ट्र नीति विपरित उपयोग गर्न खोजिएको आरोप पनि लगाउनु भयो ।  नेता आचार्यले सम्झौता रुपमा ५० करोड डलर देखाउँदै भित्री रणनीतिक रुपले विकासका नाममा अमेरिकी स्वार्थ पूरा गर्ने र नेपाललाई शैन्य क्रिडास्थल बनाउने रहेको दावी पनि गर्नुभयो ।

उहाँले सम्झौता गर्ने समय ३० जुन २०२० सम्म रहेकोले यसलाई अमेरिकी डिजाइनमा परेर केही राजनीतिक स्वार्थीहरुको समूह, कथित योजनाविद, मुलत डलरवादी कमिसनखोरहरुको स्वार्थमा नेपाल सरकार परेर यस्तो राष्ट्रघाति सम्झौता गर्न लागेकोेले यसप्रति सरकार सचेत बन्नु पर्ने बताउनुभयो । सम्झौता अनुरुप पाउने ५० अर्ब भनेको नेपालका लागि कुनै ठूलो रकम नभएको उल्लेख गर्दै नेता आचार्यले नेपालीको आत्मसम्मान र राष्ट्रिय स्वाभिमान ५० र ५५ अर्वमा वन्धक राख्न नसकिने पनि प्रष्ट पार्नुभयो । प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी नेता लक्ष्मण कुमार शाहि (क्षितिज), हिक्मतजंङ्ग मल्ल, तुलराज पाण्डे (परिवर्तन) लगायतले एमसीसीविरुद्ध निरन्तर सडक संघर्ष जारी रहने बताए ।

तपाईको प्रतिक्रिया