क्वारेन्टाइनमा भुतले तर्साएको भन्दै धामी खोज्दै हैरान

रामचन्द्र न्यौपाने
डोल्पा, २७ जेष्ठ ।
डोल्पाको एक क्वारेन्टाइनमा बस्नेहरु रातिको समयमा भुतले तर्साउने गरेको त्रसित भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा पर्ने त्रिपुरा माध्यामिक बिद्यालय काटिँयाचौरमा बनाइएको क्वारेन्टाइनमा बस्नेहरुले रातभरी अदृश्य आत्मले डराउन दिने गरेको बताए ।

कोरोना भाइरसको त्रासले केही दिन अघिमात्रै काठमाण्डौबाट घर पुगेर क्वारेन्टाइनमा बस्नुभएकी माया उपाध्यायले मंगलबार दिनभर रोइ कराई गरी अजिव व्यवहार देखाएको सँगै बसेका देबीसर बुढाले बताए । म तड्पियएको आत्म हुँ भन्दै कालो मान्छे अयो, सबैलाई सँगै लिन्छु, तिमिहरु कोही पनि यहाँ बस्न पाउँदैन जस्ता शव्दहरु बोल्दै काप्ने गरेको बुढाले बताए ।

उपाध्याय लगातार रोइकराइ मात्र गर्न थालेपनि बस्नेहरु सबै आत्तिएका थिए, भुत लागेको भन्दै स्थानीय झारफुक गर्ने ब्रामणलाई बोलाइएको थियो । झारफुकबाट पनि ठिक नभएपछि छिमेकी गाउँ रल्लीका एक धामीलाई बोलाएर ठिक पार्दिन अनुरोध गरियो । धामीले करिब आधाघण्टा झारफुक गरेपछि ठिक भएको उपाध्यायका बुवा रमानन्द उपाध्यायले जानकारी दिए । छोरीलाई अरुकुनै रोग नभएर भुत लागेकाले धामिको शक्तिले ठिक भएको र अहिले अवस्था सामान्य भएको उनले बताए । उनी यस बिद्यालयका प्रधानाध्यापक समेत हुन् ।

बिद्यालयमा अध्ययन गर्ने छात्रहरुलाई पटक–पटक यस्तै हुने हुनुका साथै बेहोस हुने गरेको उनले बताए । यस अघि पनि दर्जनौ छात्र यसै गरि बिरामि पर्ने र झारफुकबाट सञ्चो हुने गरेको उनको भनाई छ । बिद्यालय आसपासमा तड्पिएका आत्महरु धेरै भएकाले उक्त आत्माहरु पवित्र आत्म खोजेर शरीरमा प्रवेश गर्ने र यस्तो ब्यवहार देखाउने धामीले बताए ।

यता स्वाब संकलनका लागि बिद्यालय पुगेकी जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर मेलिना हमालले यो एक किसिमको रोग भएकाले औषधी खाएपछि ठिक हुने बताइन् । कारेन्टाइनमै बस्दै आएकी अर्की चाँदनी उपाध्यायले पनि रातभर यसरी नै रोइ कराइ गरेको र दिउँसो ठिक भएको थियो ।

एकपछि गर्दै अर्को महिला रोइकराइ सँगै काप्न थालेपछि डराएर क्वारेन्टाइनमा बसेका पाँचै जना केटीहरुले अर्को ठाउँमा राख्न नगरपालिकालाई अनुरोध गरेका थिए । त्यसपछि केटाहरुलाई मात्रै राखेर केटीहरु सबैलाई बगर बजारमा रहेको मध्येवर्ती क्षेत्र ब्यवस्थापन समितिको भवनमा राखिएको नगर प्रमुख ओमबहादुर बुढाले बताए । उक्त क्वारेन्टाइनमा बसेका केटाहरु पनि रातभर अदृष्य शक्तिले डराउन दिने गरेको बताउँछन् ।

तपाईको प्रतिक्रिया