भेरी नरसंहारले बगरमा छरेका प्रश्नहरू

दुर्गा कार्की
गत वर्ष चैतमा म रुकुम पुग्दा चौरजहारी उखरमाउलो गर्मीमा निसास्सिइरहेको थियो । जुत्ता गड्ने धुलाम्मे कच्ची बाटोमा साँढेजसरी हुँइकिने अटोरिक्साले मलाई भेरी नदी किनारको थाप्लोमा छोडिदिएको थियो । जाजरकोट जोड्ने साँघुरो झोलुंगे पुलपारिको पक्की रोडबाट ल्याइएका सामानको भारी बोकेर आउने मान्छेलाई बाटो छोडिदिँदै मैले केहीबेर बेपर्वाह बगिरहेको भेरीलाई नियालेकी थिएँ । बाटोछेउ एक भरिया दाइ ढुंगाको पर्खालमा उत्तानो परेर उपरखुट्टी लाएर सुस्ताइरहेका थिए । उनको गोडानेरको रित्तो डोको ग्राहक कुरिरहेको थियो ।
यतिखेर चौरजहारीमा मारिएका भर्खरका ठिटाहरूको फोटोसहित मृत सपनाको नालिबेली पढिरहँदा, भावविह्वल र आक्रोशित स्थानीय दलित समुदायको असहायपन हेरिरहँदा सोचिरहेछु, के भेरीको पानी अझै उस्तै धुन समातेर बग्दै होला ? के अब कसैले ६–६ जना युवकले जीवनरक्षाका लागि मागेको गुहारको प्रतिध्वनिबिना भेरी सुसाएको कहिल्यै सुन्न सक्ला ? के जात–भातवादी समाजले आफ्नो छातीमा लाइदिएको ज्यानमाराको दाग भेरीको पानीले पखालेर कहिल्यै सक्ला ?

केहीअघि मात्र राष्ट्रियताको मुद्दाले जुरुकजुरुक भएको देश यतिखेर रुकुम घटनाले आक्रान्त छ । सामाजिक सञ्जालभरी समवेदना, आक्रोश र वितृष्णा व्याप्त छ । तर जबजब सामाजिक सञ्जालमा, मूलधारका पत्रपत्रिकामा, बलात्कार, एसिड आक्रमण वा दलित हत्या आदिलाई हवाला दिएर महिला हिंसा, जातीय छुवाछुत आदिको विरोध हुन्छ, मभित्रको एउटा मान्छेले यो विरोधकै विरोध गर्छ । लाग्छ, यी विषयले केही दिनका लागि मिडिया र सामाजिक सञ्जाल ‘बूक’ मात्र गरेका हुन् । लाग्छ, मानिसहरू यी भयानक र बीभत्स घटनाको जरो छ र त्यो निकै टाढासम्म, गहिरो फैलिएको छ भन्ने बिर्सेर बोलिरहेका छन् ।

र, कतिपय मानिस बोलिएन भने जातिवादी भइन्छ भन्ने डरैले मात्र बोलिरहेका छन् । तर आफूले बोलिरहेका कुराको बृहत अर्थ के हो र त्यो आफूसँग कसरी जेलिएको छ भन्ने भेउ नपाएरै बोलिरहेका छन् । किनकी, धेरै मानिसले महशुस गर्न आवश्यक ठानिसकेका छैनन्, यो विरोध गहिरिएर हेर्ने हो भने समग्र जातीय विभेदको विरोध होइन । यो हत्याको विरोध हो, सामूहिक नरसंहारको विरोध हो । ज्यान मार्ने अमानवीय अपराधको विरोध हो, र त्यहाँभन्दा माथि केही हो भने जातकै आधारमा दलितको हत्या गरिनुहुन्न भन्नेसम्मको मात्र विरोध हो । यसले सोझै हेर्दा जातका आधारमा मान्छे मार्न पाइँदैन भनेको होला तर यसले मान्छे मार्न मात्र पाइँदैन (तर सामान्य छुवाछुत मान्न त पाइहालिन्छ नि) पनि भनिरहेको हो । यसले मान्छे नै मार्न चाहिँ हुन्न, तर जातीय छुवाछुत आजको भोलि नै त कहाँ हट्छ र पनि भनिरहेको हो ।

सर्सती भन्नुपर्दा रुकुम घटनाको विरोध जातीय विभेदको पनि अतिवादको मात्र विरोध हो । जबजब मान्छे अतिवादको विरोध गर्छ, ऊ बिर्सन्छ, यो अतिवाद केले निर्माण गरिरहेको छ, कसले निर्माण गरिरहेको छ ? किनकी, जुनसुकै कुराको होस्, अतिवादको विरोध गर्न सजिलो छ । पहिलो कारण, हामीमध्ये धेरै अतिवादी होइनौं । हामी जे होइनौं, त्यसको विरोध गर्न हामीलाई सजिलो हुने नै भयो । दोस्रो, अतिवाद अपवाद पनि हो । अपवादका घटना तुलनात्मक रूपमा कमै हुनाले तिनको विरोध गर्न हामीलाई आफ्नो समय र चासो दिन गाह्रो हुँदैन । र तेस्रो, समय धेरै अघि बढिसक्यो भन्ने हाम्रो बुझाइलाई यस्ता घटनाले नमीठोसित ‘ब्रेक’ हान्छन् र हामीलाई धरातलमा फर्काउँछन् । आफ्नो बुझाइ र आफू बाँचिरहेको धरातलबीचको अन्तरले हामीलाई त्रसित बनाउँछ, अत्याउँछ र हामी अरू बेला भन्दा चर्को गरी कराउँछौं । तर किन ‘सामान्य’ छुवाछुतमा हाम्रो आवाज यसैयसै दब्छ ? किन उहिलेदेखि चलिआएको चलन, बाबुआमाको आस्था वा ‘मर्नेबेलाका बूढाबूढीको चित्त दुखाएर के नै क्रान्ति गर्नु छ र’ जस्ता हाम्रा सोचाइ र अभिव्यक्तिले सजिलै सामाजिक वैधताको गेटपास पाउँछन् ?

हावाहुरीबाट बच्न गैरदलितको घरभित्र छिरेकामा जरिवाना गरिएका, क्वारेन्टिनमा राख्ने कुरामै भेदभाव भोगेका समाचार किन हाम्रो आँखा नपर्दै हाम्रा ‘टाइमलाइन’बाट हराउँछन् ? किन यस्ता समाचारलाई ‘ए’ वा ‘ओहो’ वा ‘धत्तेरी’ मात्र भनेर शीर्षकबाहेक नपढी हामी ‘स्क्रोल’ गर्न हत्तारिन्छौं ?  आज पनि कतिपय स्थानीय सरकारमा बैठकपछि एउटै टेबलमा बसेर जनप्रतिनिधि खाजा खाँदैनन् । बाटोमा धूलो सम्याउन पानी छर्कँदा कुटाइ खानेको समाचार हामी खासै गम्भीरतापूर्वक लिन आवश्यक ठान्दैनौं । किन हाम्रा विरोध बीभत्सताको मात्रा बढी भएपछि मात्र चर्कन्छन् ? गहिरिएर सोच्ने हो भने बाटोमा धूलो मार्न पानी छर्केकै कारण कुटाइ खानु र गैरदलितलाई प्रेम गर्दा मारिनु मानवता दृष्टिबाट उही र उस्तै लाग्दैनन् र ? एउटै टेबलमा खाजा नखानु र गैरदलितसित प्रेम गर्दा मारिनुबीचको दूरी कति हो ? यसबीचमा कतिवटा चरण वा खुड्किला पार गरेपछि मानिस त्यो अवस्थामा पुग्छ ? के अतिवादको चरणबद्ध निर्माण हामीले ‘सामान्य’ मानेर तयार गरेका भाष्यहरूले नै गर्ने हैन ?

र यो ‘सामान्य’ छुवाछुत आज पनि धेरै नेपालीको घरमा खुलेआम चल्छ । यी नेपालीको जमातमा हामी पनि छौं, जो आज मनभित्रैदेखि, दुःखी भएर, आक्रोशित भएर दलित हत्याविरुद्ध आवाज उठाइरहेका छौं । तर ‘उस्तैखाले परि स्थिति परेका बखत यस्तैखाले घटना हाम्रा परिवार, इष्टमित्र वा छरछिमेक आदिबाट घट्न सक्ने सम्भावना कत्तिको छ ?’ भनेर सोध्ने हो भने हामीमध्ये धेरैको बोली अड्कन्छ । उस्तै परे आज जुन पक्ष ‘लकडाउनका बेला हुल बाँधेर आएको’ वा ‘नाबालिगलाई अपहरण शैलीमा भगाउन आएको’ जस्ता तर्क गरिरहेका छन्, हाम्रो र तिनको ठाउँ पनि फेरिन सक्छ ।


यदि हामीलाई उनीहरू जातिवादी मात्र हुन् भन्ने लागिरहेको छ भने हामी गलत छौं । तिनीहरूमध्ये केही कट्टर जातिवादी नै हुन् भन्नेमा शंका छैन तर केही रुकुम घटनाका दोषीका आफन्त हुन् । र केही, यस्तै घटना आफ्नो परिवार वा समाजबाट पनि हुन सक्छ वा सक्थ्यो भनेर डराएकाहरू हुन् जो आफूभित्रको डर र आफ्नाप्रतिको विश्वासको अभावमा घटनाविशेषको औचित्य देखाउने सजिलो तरिका खोजिरहेका छन् । हामीले के भन्ठानेका छौं, जनार्दन शर्माले दलित मुक्तिका नारा लगाएनन् होला ? दलितले छोएको खाएनन् होला ? तर कसरी आज उनी एक्कासि ‘सबैको’ बाट गैरदलितको मात्र प्रतिनिधि बन्न पुगे ? यतिखेर हामी जो सामाजिक सञ्जालमा हामीजस्तै अरूलाई जातका आधारमा हत्या बन्द गर भनिरहेका छौं, हामीबाट यो खालको जघन्य अपराध हुन सक्दैन भन्ने हामीलाई थाहा छ । तर जोबाट हुन सक्ने जोखिम छ, तिनीहरूसम्म हामी कसरी पुग्ने, कहिले पुग्ने ? हामीलाई लाग्छ, हाम्रा आफ्नाहरू अरू जे गरे पनि जातकै आधारमा मान्छे मार्ने हदसम्म चाहिँ पुग्दैनन् ।

अहिले यो घटनाका विरोधमा बोलिरहेका हामी धेरैको बोल्ने आधार पनि यही नै छ । तर एकपटक सोचौं त, माओवादी ‘जनयुद्ध’को गढकी ती प्रेमिकालाई पनि लागेको थियो होला र ? ती गाउँलेलाई लागेको थियो होला र ? ती व्यक्तिहरू जो हत्यामा संलग्न छन्, सहरमा बसेर पढिरहेका वा जागिर खाइरहेका हामीजस्तै तिनका छोराछोरीलाई पनि लागेको थियो होला र ? वास्तवमा भन्ने हो भने हामीमध्ये लगभग सबैजसो नै अप्रत्यक्ष वा सुषुप्त जातीय पूर्वाग्रहबाट ग्रसित छौं । हाम्रा परिवार र इष्टमित्रकहाँ अझै पनि खुलेआम छुवाछुत मानिन्छ र हामीलाई यो राम्ररी थाहा छ । मेरो आफ्नै गाउँमा राम्रैसित देखिने गरी छुवाछुत चल्छ । गाउँका क्षेत्रीबाहुन बेसी झर्न थालेपछि अलि माथिका दलितहरू एक–दुईजना गर्दै हाम्रो गाउँमा बसाइँ सर्न थालेका छन् । बेसी नझरेका क्षेत्रीबाहुन अहिले पनि ‘बेसी झर्नेले दलितलाई घरमा राखेर भसक्कै पारे’ भनेर बेला–बेला ‘अमिलो’ पोख्छन् ।

जातको कुरा आउँदा हामी अधिकांशले भनेको सुन्छौं, पढेलेखेका मान्छेले पनि जातभात भन्ने ? तर के हामीले कहिल्यै सोचेका छौं, हाम्रो पढाइले हामीलाई कहिल्यै जातभात भनेको साँच्चै के हो भनेर सिकायो ? नेपाल छुवाछुतमुक्त राज्य हो वा जातीय भेदभाव दण्डनीय छ भनेर पढाउँदै गर्दा थर बदलेर बेन्चमा सँगै बसेको रामबाबु परियारलाई किन थर बदल्नु प¥यो रामबाबु भनेर सोध्न भ्यायो ? जातकै आधारमा दिनहुँजसो कुटिनु, अपमानित हुनु, दलितका रूपमा जन्म दिएकोमा आफ्नै सन्तानद्वारा घृणा गरिनु, साथीभाइसित नचिनाइनुको पीडा कस्तो हुन्छ भनेर सुन्न लगायो ? हाम्रो शिक्षा प्रणालीले हामीलाई किन समानुभूति सिकाउन सकेको छैन ? किन केही पलका लागि आफूलाई दोस्रो पक्षको जुत्तामा उभ्याएर हेर्ने वातावरण तयार गर्न सकेको छैन ? फगत बीजगणित र अमिबा घोकेर बीजगणित र अमिबा नै घोकाउन लागिपरेको हाम्रो शैक्षिक प्रणालीबाट हामी कसरी ‘पढेलेखेका’ बन्न सक्छौं ? अनि यस्तो पढलेखका आधारमा हामी कसरी ‘पढेलेखेका मान्छेले पनि…?’ भनेर निराश वा अचम्मित बन्न पाउँछौं ?

राज्यलाई लाग्दो रहेछ, संविधान वा कानुनमा घोषणा गरिदिएपछि हुन्छ । सायद हामीलाई पनि त्यस्तै लाग्दो रहेछ क्यार, जातीय विभेदका बारे बोल्नुपरे संविधान र कानुन सापट लिएर आफ्ना तर्क बलिया बनाउँछौं । तर के साँच्चै कानुनले बर्जित गर्दैमा छुवाछत निर्मूल हुन्छ ? हुने रहेछ र ? कुनै पनि परिवर्तनको सुरूआत आफैंबाट हुन्छ भन्ने उक्तिलाई धेरै आत्मसात् गरेर हामी आफू त धेरथोर परिवर्तन भएछौं । तर परिवार र समाजलाई भने पछाडि नै छोडिदिएछौं । मेरो गाउँमा मेरी शिक्षक आमाकी स्कुल आउजाउ गर्ने ‘साथे’ एक अनाथ दलित नानी थिई । भर्खर चिनजान हुँदाताक आमा अक्सर फोनमा उसको कुरा गरिरहनु हुन्थ्यो । (सेताेपाटीबाट साभार)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार